काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियामकीय प्रावधान मिचेको खण्डमा कारबाही गर्दै आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म पनि केन्द्रीय बैंकले नियमविपरीत बैंकिङ गतिविधि गर्ने थुप्रै बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।
हाल २० वटा वाणिज्य बैंक छन्। तीमध्ये २ सरकारी बैंकलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ।
पहिलो त्रैमास
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
यो बैंकले बैंक खाता खोल्दा–सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार राष्ट्र बैंकले सचेत गराएको थियो।
प्रभु बैंक
लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको थियो।
दोस्रो त्रैमास
एनआईसी एसिया बैंक
१. एनआईसी एसिया बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवं सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजहरुका, बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दति निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराईएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको छ।
२. राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकको स्थलगत निरीक्षणका क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना गरेको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ग) अनुरुप बैंकलाई देहायबमोजिमको लिखित आदेश जारी गरिएको छ।
- बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न गराउन एवं सुधारको कार्ययोजना बनाई लागू गर्न।
- ब्याजदरसम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागू गर्न।
- कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था राष्ट्र बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न गराउन तथा सुधारको कार्ययोजना बनाई लागू गर्न।
प्रभु बैंक
१. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरुको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ख) को व्यवस्थाबमोजिम वार्षिक साधारण सभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने भए पनि बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारणसभाबाट अनुमोदनमात्र गराई नियुक्तिलाई निरन्तरता दिएको ।
- बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको। साथै, निजलाई सञ्चालक पदबाट हटाउन उक्त बैंकको सञ्चालक समितिलाई निर्देशन दिइएको छ ।
- स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरुको पालनामा कमजोरीहरु देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरु समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको ।
२. राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं.२÷०८० को बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एडिक्विसी फ्रेमवर्क, २०१५ को व्यवस्थाअनुरुप प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जाहरुमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।
हिमालयन बैंक
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बँुदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराइएको छ।
तेस्रो त्रैमास
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। यो बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना गरिएको छ।
नेपाल बैंक
नेपाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्न÷गराउन नसकेको देखिएकोले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ।
यसैगरी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६/०८० को बुँदा नं.१ को उपबुँदा नं. ५ मा उल्लेखित व्यवस्था “सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन ।” भन्ने व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को (ग) बमोजिम नगद रु. ५ लाख जरिवाना गर्ने राष्ट्र बैंकले निर्णय गरेको छ।
लक्ष्मी सनराइज बैंक
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ।
क) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाबमोजिम बैंकको सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको सम्बन्धमा ।
(ख) लक्ष्मी सनराइज बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बलुलिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको, नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात ब्रिज ग्याप कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर रहेको नपाइएको सम्बन्धमा ।
(ग) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (३) तथा राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. २।०८० को बुँदा नं. १८ को उपबुँदा (ग) र (घ) व्यवस्थाबमोजिम लक्ष्मी सनराइज बैंकले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर धितो राखी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको सम्बन्धमा ।
कुमारी बैंक
राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं.२।०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९(३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

















