IME Life New
GBIME

आइएमई लाइफलाई बीमितको पहिलो रोजाइको कम्पनीका रुपमा स्थापित गराउँदैछौँः पवन खड्का

SPIL
Global College
Nepal Life

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, पवनकुमार खड्का। आइएमई लाइफपूर्व उनीसँग नेपाल लाइफ, तत्कालीन सूर्या लाइफ, सूर्या र ज्योति लाइफको मर्जरपश्चात सूर्याज्योति लाइफ इन्स्योरेन्समा उच्च व्यवस्थापकीय पदसहित प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसमेतको कार्यानुभव रहेको छ। खड्कासँग बीमा, जलविद्युत तथा सिमेन्ट क्षेत्रमा काम गरेको अनुभव पनि रहेको छ। बेलायतबाट एसीसीए गरेका खड्काले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नात्तकोत्तर उपाधि हासिल गरेका छन्। उनै सीईओ खड्कासँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

बीमा क्षेत्रको व्यवसाय वृद्धि चाहिँ अपेक्षाकृत रुपमा वा सन्तोषजनक रुपमा बढ्न सकेको छैन जस्तो देखिएको छ। प्रिमियम पनि त्यति धेरै आइरहेको छैन भन्ने छ। सरेन्डर पनि बढेको बढै छ । किन यस्तो भएको हो ?

Crest

प्रिमियमको वृद्धि गत वर्षभन्दा अहिले दोस्रो त्रैमासम्म आइपुग्दा केही बढेको पाइन्छ । गत वर्षको तुलनामा औसतमा बीमा क्षेत्रको व्यवसाय वृद्धि १३ प्रतिशत हाराहारीमा रहेको देखिएको छ। मैले आइएमई लाइफमा सुरु गरिसकेपछि विगतको २ महिना बढी अवधिमा नकारात्मक वृद्धिको अवस्थाबाट एकैचोटि १८–१९ प्रतिशत हाराहारीको अवस्थासम्म पुगेको छ। त्यसकारण अहिले प्रिमियम बढ्दै नबढेको वा आउँदै नआएको भन्ने पनि होइन ।

तर, सरेन्डर पनि बढिरहेको छ नि ! जानेहरुको संख्या पनि बढिरहेको छ नि ?

सरेन्डर पहिला मापन नै हुँदैन थियो। विगत ४ वर्षमा धेरै कुरा विकास भएका छन्। बीमा क्षेत्रमा धेरै नै सुधार भएका छन्। अहिले धेरै कुराको मापन हुन थाल्यो। जसअन्तर्गत सरेन्डर पनि पर्दछ। मापन हुन थालेपछि नम्बर देखिन थाल्यो। नम्बर देखिन थालेपछि यो बढी हो कि भन्ने लाग्नु स्वभाविक हो। पछिल्लो समय अर्थतन्त्रको सुस्त अवस्था रहिआएको छ। जसकारण धेरै क्षेत्र समस्यामा छन्। यस्तो अवस्थामा ठूलो मात्रामा पैसा चाहिन्छ। ठूलो रकमको बीमा गरिरहँदाखेरि तिर्न नै धौधौ हुने अवस्था आउनु स्वभाविक छ। अहिले त सस्टेन गर्न नै समस्या भएको अवस्था हो। बीमितका लागि पनि। त्यसकारण म सरेन्डर बढेको चाहिँ भन्दिनँ तर बीमाको एउटा प्रक्रिया नै करेक्सन वा सुधार भन्न पनि सकिने अवस्था हो। अथवा बाहिरिनु भनेको कसैको अधिकारको पनि कुरा हो। मैले सरेन्डर गर्न चाहन्छु भने मलाई के कुरा चित्त बुझेन भन्ने वा मसँग अरु राम्रो विकल्प छ भन्ने पनि बुझ्न सकिन्छ। तर, बीमा क्षेत्रका कम्पनीलाई हेर्दा एक–दुईवटा कम्पनीको प्रिमियमभन्दा बढी सरेन्डर भइरहेको अवस्था पनि देखिन्छ। तर, यो सबैमा लागू हुँदैन। जस्तै म आबद्ध आइएमई लाइफकै कुरा गर्दाखेरि पनि सरेन्डर एकदमै थोरै प्रतिशत छ। अझ हामीले ब्रोडर पिक्चरमा हेर्ने हो भने जुन पुराना कम्पनी छन्, २००८ भन्दा अगाडि स्थापना भएका, उनीहरुको परिपक्क हुने समय पनि कतिपयको सुरु भइसकेको छ। पोलिसी इस्यु पनि धेरै नै भइसकेको छ। त्यसकारणले सरेन्डरको नम्बर बढी हुनु स्वभाविक हो।

त्यतिबेला त म्याचुरिटी वा परिपक्क हुने पो धेरै हुनुपर्ने त ?

पोलिसीको संख्या धेरै हुँदै गर्दा एउटा कुनै वर्षसँग तुलना गर्दा सरेन्डरको अब अवस्था धेरै भएको देख्न सकिन्छ। तर, हामीले अलि लामो समयको हेर्ने हो भने के–के कारणले सरेन्डर भइरहेको छ त भनेर हेर्दा मैले केही कम्पनीहरुको एनालाइसिस गरेर हेरिएको समेत छु।त्यसबाट के देखिन्छ भने हामी ऋण दिन्छौँ । बीमामा पोलिसीहोल्डरले ऋण लिन पाउँछ । हाम्रोमा ब्याजदर ब्याज संकलन गर्ने र ऋण संकलन गर्ने अभ्यास त्यति बढी भएको छैन। कर्जा विस्तारै तिर्न सकिन्छ । त्यही भएर सरेन्डरभन्दा कर्जा उचित विकल्प हो भन्नेतर्फ हामीले अलि बढी सचेतना फैलाउनुपर्ने जस्तो देखिन्छ । त्यो प्रतिशत जम्माजम्मी २० प्रतिशत जतिमात्रै हो।

बीमा प्राधिकरणले बीमाको पहुँच ४० देखि ५० प्रतिशतको बीचमा छ भन्दै आएको छ। ६० प्रतिशतभन्दा बढी चाहिँ बीमा बजार माथि जाँदैन भन्ने धारणासमेत रहेछ । किनभने केही मान्छेहरु एकदमै धनाढ्य छन् । उनीहरुले जीवन बीमातर्फ लगानी गर्दैनन् । अर्को केही वर्ग छ, जसले बीमाको प्रिमियम तिर्नै सक्दैन । भनेपछि हाम्रो जस्तो देशमा ६०–६५ प्रतिशतको भन्दा माथि बजार जाँदैन भन्ने जस्तो छ। अहिले हामी कुन अवस्थामा छौ अहिलेको परिस्थिति के हो ?

यसलाई कसरी हेर्ने भन्ने पनि हुन्छ । बचतको उद्देश्यले बीमा गर्ने हो कि जोखिम व्यवस्थापनका तर्फबाट पनि हेर्ने भन्ने हुन्छ। अहिले ४३–४४ प्रतिशतको दाबी गरिरहेका छौँ । जसमा वैदेशिक रोजगारको भूमिका उल्लेख्य छ । कुल जनसंख्याको करिब १ करोड १० लाख हाराहारी यो दायरामा समेटिएका छन् भन्ने हो। यसबीचमा २३ लाख हाराहारी नागरिक वैदेशिक रोजगारीको बीमा छ । त्यो भनेको करिब ७–८ प्रतिशत वैदेशिक रोजगारीले ओगटेको छ। त्यसबाहेक अर्को २०–२१ प्रतिशत माइक्रोको र १८–१९ प्रतिशत कन्भेन्सनल पोलिसीको छ। नेपालको जनसंख्या झन्डै ३ करोड छ । त्यसमध्ये जेन्जी ५२ प्रतिशत भन्छौँ। यो भनेको सन् १९९७ देखि २०१२ सम्म जन्मिएका नागरिक। १८ वर्षभन्दा कम उमेरको नागरिकको बीमा त्यति धेरै भइरहेको हुँदैन । बाल बीमा भन्ने त हुन्छ तर परिवार वा अभिभावककै तर्फबाट गरिन्छ। अब यसरी हेरिरहँदा बीमा योग्य जनसंख्या कति हो भनेर पनि छुट्याउनुपर्ने हुन्छ। अब यसमा २०–२५ प्रतिशत पनि बीमायोग्य जनसंख्या छैन भने ६० देखि ७० प्रतिशत हाराहारीमा त बीमा पहुँच रहेछ भन्ने बुझ्नुपर्यो।

अझ हेर्ने हो भने एउटा फ्यामिलीमा चारजना परिवार हुन्छौँ। २ करोड ९० लाख जनसंख्यालाई ४ ले भाग गर्ने हो भने बीमाको दायरा अझ बढी भएको जस्तो देखिन्छ। हुन त हामीले र बीमाको पहुँच अहिले ४२–४३ प्रतिशत भनिरहेका छौँ। त्यहाँ एउटै मानिसको दुई–तीनवटा बीमा पनि रहेको हुन सक्छ। त्यसलाई छोट्याएर हेर्ने हो भने जीवन बीमाको संख्या कति हो त भन्ने मुख्य हो। त्यसपछि मात्र वास्तविक चित्र देखिन्छ।

पुँजी यति ठूलो मात्रामा बढाइसकिएको छ। अब पोलिसी कहाँ बेच्ने त उसो भए ?

आफ्नै कुरा गर्दा ५–६ वटा पोलिसी त मेरो नै छ। एउटा मात्रै पोलिसीले मलाई पुग्छ भन्ने होइन। किनभने बीमा पोलिसी भनेको जोखिम कभर हुन्छ भनेर हेर्नुपर्छ एउटा भने अर्कोतर्फ परिवारलाई सुरक्षित गर्ने भविष्यलाई सहज बनाउँदै लैजाने आर्थिक व्यवस्थापन सहज बनाउँदै जाने सामाजिक पाटो पनि राम्रो बनाउने स्वास्थ्य पनि राम्रो बनाउँदै जानेलगायतका दृष्टिकोणबाट अगाडि बढ्ने हो। यस्तै बचतको उद्देश्यले पनि बीमा गरिन्छ। भविष्यमा उसले विवाह गर्नुपर्ला, घर बनाउनुपर्लालगायतका कुराहरु भए बालबच्चा जन्मिने उनीहरुको स्वास्थ्य शिक्षाको विषय लगायतका कुराहरु आउँछ । त्यसैगरी मैले मेरो करिअर सुरु गर्दाखेरि केही बचत गर्न खोज्छु, त्यो मेरो खर्च कटाएर एकदमै थोरै रहन्छ, त्यसका लागि सानो बीमा हुन्छ। पछि म काममा परिपक्क हुँदै जान्छु। स्यालरी बढ्दै जान्छ। चिनिँदै जान्छु। त्यसपछि मेरो आवश्यकताहरु पनि बढ्दै जान्छ र थप बीमा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।

एउटा परिवार, जसले १ वर्षमा ६०–६५ हजार प्रिमियम तिर्ने हैसियत राख्छ। त्यहाँ श्रीमान–श्रीमती छन् र उनीहरुका दुईजना १२–१५ वर्षका सन्तान छन् । यस्तो अवस्थामा बीमा कसले गर्ने ?

अघिकै कुरालाई जोडिहाले पहिले परिवार सुरक्षित हुनुपर्यो । त्यसका लागि परिवारमा जसले कमाउँछ, त्यसको बीमा गर्नुपर्छ। त्यसपछिको पाटोमा हामीले बच्चाहरुको बीमा गर्ने भनिरहँदा पनि त्यो कसले कभर गर्छ त भन्ने मुख्य हुन्छ । जो कमाउने मुख्य मान्छे हो ऊ भएन भने बच्चाको शिक्षादीक्षा कसले हेर्छ भन्ने प्रश्न हुन्छ। सन्तानलाई लाभ हुने किसिमले हामीले यस्ता पोलिसीहरु ल्याएका हौँ। बालबालिकालाई लक्षित गरी ल्याइएका पोलिसीहरु शिक्षाका लागि स्वास्थ्यका लागि भविष्यका लागि वा उनीहरुको आवश्यकताअनुसारको हुन्छन् । त्यस्ता पोलिसीहरु किनिसकेपछि बचतको उद्देश्यले हेर्दाखेरि पनि सुरक्षित बचत हो ।

पछिल्लो समय बचतका लागि एसआईपी, शेयर बजार, सामाजिक सुरक्षा कोषलगायतका विभिन्न विकल्प देखिन्छन्। यस्तो अवस्थामा बीमा तपाइँहरुले सिर्जना गर्नुभएका वा बेच्नुभएका पोलिसी चाहिँ किन किन्ने ?

सबैलाई सबै कुराको जानकारी हुन्छ वा ज्ञान हुन्छ भन्ने हुँदैन। शेयर बजारमा पनि तपाइँसँग जानकारी र समय दुवै उत्तिकै आवश्यक हुन्छ। एसआईपीको कुरा गर्दा यसमा पनि जोखिम त रहन्छ, तपाइँले जोखिम बहन गर्ने कि कम्पनीले भन्ने अवस्थामा यसमा पनि जोखिम देखिन्छ । यति भनिरहँदा बीमा क्षेत्रमा भने सकेसम्म जोखिमरहित क्षेत्रमा लगानी गर्ने गरिन्छ । बीमा प्राधिकरणले प्रत्यक्ष हेरिरहेको हुन्छ। यसरी सबैलाई हेर्दा अन्य सेक्टरको तुलनामा कम जोखिम रहेको क्षेत्र बीमा हो। थोरै–थोरै पैसा लामो समयसम्म बचाएर राख्छु र त्यसपछि एकमुष्ट लिएर काम गर्छु भनेर सोच्नेहरुका लागि बीमा उत्तम विकल्प हो।

सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतले गरिरहेका केही काम हेर्दा तपाइँहरुको व्यावसायिक अलिअलि खोसेको जस्तो देखिन्छ है ?

व्यवसाय खोसेको जस्तो त होइन । किनभने उनीहरु निश्चित उद्देश्यले स्थापना भएका संस्था हुन्। जसमा नियमित आम्दानी गर्ने कर्मचारीहरुलाई लक्षित गरिएको हुन्छ। उहाँहरुलाई रिटायरमेन्टपछि केही बचत रहोस् भनेर पनि सहजता सिर्जना गर्न यिनीहरुले काम गर्छन्। अब जोखिम व्यवस्थापनका लागि उहाँहरु पनि प्रत्यक्ष अप्रत्यक्ष बीमामै आउनुपर्छ। उहाँहरुलाई बीमा नै चलाउनका लागि अधिकार दिइएको छैन। प्रतिफल लिने हिसाबले हेर्नुहुन्छ भने पनि तपाइँले त्यहाँ बचत गरिरहँदा लिने ऋणको प्रकृति अलि–अलि त मिल्छ, नमिल्ने होइन तर सुरक्षाकोष र लगानी कोष वा सञ्चय कोषको पहुँच पनि छैन। पहुँच भए पनि सहरी एरियामा बढी हो। अहिले हामी बीमा कम्पनीहरु प्रत्यक्ष रुपमा १२ हजारभन्दा बढी कर्मचारी छौँ। आईएमईकै केही कुरा गर्दा ७०–७२ वटा जिल्लामा शाखा सञ्जाल रहेका छन्। अब सुरक्षाको सञ्चय कोषलगायत संस्थाको यति ठूलो सञ्जाल नभएका कारणले पनि फरक छ। त्यसकारण पनि उनीहरुले हाम्रो बजार खोसेको जस्तो म देख्दिन। अर्को भनेको हाम्रो व्यवसाय नै फरक हो।

करिब ३०–३५ हजार रुपैयाँ मासिक रुपमा तलब लिने एउटा नागरिकले बीमा कसरी गर्ने ?

सामाजिक सुरक्षा कोषहरुमा त थोर–थोरै पैसा जम्मा गर्दा पनि बीमाका धेरै कुरा समेटिन्छ भनिन्छ। यसका लागि झन् सजिलो माध्यम छ, बीमा। तपाइँले ३–४ हजार मासिक रुपमा बीमामा लगानी गर्दा पनि वार्षिक ६०–७० हजारको बीमा गर्न सक्नुहुन्छ। साथै, तपाइँले जति धेरै समयका लागि बीमा गर्नुहुन्छ, त्यति धेरै सजिलो सस्तो पर्न जान्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS