काठमाडौं । देशैभर सडक विस्तार तथा राजमार्गको पुरानो सीमांकन कार्यान्वयन गर्ने अभियान तीव्र बन्दै जाँदा काठमाडौंदेखि तराई मधेसका प्रमुख व्यापारिक सहरसम्म हजारौँ घरधनी प्रत्यक्ष प्रभावित भएका छन्।
सडक विभागले पञ्चायतकालीन मापदण्डअनुसार सडकको दायाँबायाँको सीमा खाली गराउने कार्य अघि बढाएसँगै काठमाडौं, हेटौँडा, वीरगन्ज, बुटवल, भैरहवा, बर्दिबास, राजविराज, मिर्चैयालगायतका सहरमा घर, पसल र गोदामहरु भत्काउने क्रम तीव्र भएको छ। मुख्य सडकछेउका बजार क्षेत्र अहिले भग्नावशेषमा परिणत भएका छन्। काठमाडौंबाट बागमती नदीकिनारका सुकुमबासी बस्तीहरु हटाइँदा कच्ची–पक्की घरहरु एकैछिनमा जमिनमा मिलाइएका दृश्यले मानवीय पीडालाई उजागर गरेको छ।
वीरगन्जमा मात्रै ‘सात सयभन्दा बढी’ संरचना हटाइएको स्थानीय दाबी छ। पुराना बजारका पसलहरु भत्किएपछि व्यापारीहरु झिँगटी गुन्टा समेट्दै सडकछेउमै अस्थायी व्यापार गर्न बाध्य देखिन्छन्।
हेटौँडा र बुटवलमा पनि डोजरको आवाजसँगै दशकौँ पुराना घरहरु ढलिरहेका छन्। कतिपय स्थानमा परिवारहरु खुला आकाशमुनि बस्न बाध्य, पसलधनीहरुको आम्दानी शून्यमा झरेको र बजार क्षेत्र सुनसान बनेको छ।
सडक सीमा विस्तारका लागि भइरहेको अतिक्रमणविरुद्धको अभियानका क्रममा हुने नोक्सानीबापतको रकमको यकिन तथ्यांक अझै संकलनकै क्रममा भए पनि प्रारम्भिक अनुमानअनुसार साना पसल र घर भत्काइँदा प्रतिसंरचना १० देखि ३० लाख रुपैयाँ, व्यावसायिक पक्की भवन भत्काइँदा ५० लाखदेखि २ करोड रुपैयाँबराबरको नोक्सानी हुने अनुमान छ। देशभर हजारभन्दा बढी संरचना प्रभावित भएको मान्ने हो भने कुल नोक्सानी अर्ब रुपैयाँभन्दा बढी नाघ्ने सम्भावना छ।
काठमाडौं, वीरगन्ज, बर्दिबास, बुटवलजस्ता व्यापारिक केन्द्रमा मात्रै नोक्सानीको आकार निकै ठूलो देखिन्छ।
बीमाबाट क्षतिपूर्ति पाइन्छ कि पाइँदैन ?
नेपालमा सम्पत्ति बीमा नेपाल बीमा प्राधिकरणद्वारा नियमन गरिन्छ। तर, यसको कभरेज स्पष्ट रुपमा सीमित छ। सरकारी निर्णयअनुसार गरिएको ध्वस्तीकरण र अतिक्रमण हटाउने अभियानअन्तर्गतको भवन संरचना क्षति भएको अवस्थामा घरधनी वा व्यवसायीले क्षतिपूर्ति प्राप्त गर्न सक्दैनन्।
सम्पत्ति बीमाले आगलागी, भूकम्प, बाढी, पहिरो र अन्य आकस्मिक विपद् मात्र समेट्छ।
बीमा प्राधिकरणको सम्पत्ति बीमासम्बन्धी प्रावधानअनुसार बीमाले ‘आकस्मिक र अप्रत्याशित जोखिम’ मात्र बहन गर्छ। सरकारी आदेश वा कानुनी कारबाहीबाट भएको क्षति’ सामान्यतया बहिष्कृत हुन्छ । बीमा दाबी गर्नका लागि वैध स्वामित्व, वैध संरचना र बीमा गरिएको जोखिमभित्रको घटना हुनुपर्छ।
घरधनीले के सिक्नुपर्ने ?
यो घटनाले केही कडा तर आवश्यक पाठ दिएको छ। सडक सीमा बुझेरमात्र भौतिक संरचना निर्माण गर्नु, लालपुर्जा र नक्सा पास अनिवार्य रुपमा जाँच्नु, ‘सबैजनाले बनाएकै छन्, मैले बनाउँदा के नै हुन्छ’ भनेर जोखिम नमोल्नु नै बुद्धिमानी हुनेछ।












