काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा रुपन्देहीको बुटवल–११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न भएको हो ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले आइपीओ जारी गर्नका लागि नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभाले प्रबन्धपत्रमा संशोधन, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च र सञ्चालकहरुको सेवा–सुविधासम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सोही सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

















