काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सन नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता अवितरित हकप्रद शेयरमा बोलपत्र पेस गर्ने आज साउन ३० गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री राखिएको थियो। यसमा आज बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।
यो शेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ।
शेयर खरिदका लागि लगानीकर्ताले काठमाडौं ठमेलस्थित धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयका साथै सन नेपाल लाइफका काठमाडौंको पुतलीसडक, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।
कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको थियो।

















