IME Life New
GBIME

राष्ट्र बैंकले भन्यो, बीमा गर्दा आफ्नो हैसियत हेर्नु, घरपरिवारलाई जानकारी गराउनु

SPIL
Global College
Nepal Life

काठमाडौं । विश्वभर वित्तीय साक्षरता सप्ताहका रूपमा मनाइने ग्लोबल मनी विकको अवसर पारेर नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता आधारभूत अवधारणा नामक ५८ पृष्ठको पुस्तिका सार्वजनिक गरेको छ। पुस्तिकामा वित्तीय कारोबारका विभिन्न विषय वस्तुसँगै बीमाको विषय पनि समावेश गरिएको छ। राष्ट्र बैंकले पुस्तिकामाफत बीमाको परिचयसँगै बीमा गर्दा ग्राहकले ध्यान दिनुपर्ने पक्षबारे पनि उल्लेख गरेको छ।

बीमाको परिचयः

बीमा जोखिम व्यवस्थापनको औजार हो जसको माध्यमबाट कुनै व्यक्ति वा संस्थाको जोखिम अर्को संस्थामा हस्तान्तरण गर्ने गरिन्छ । बीमा गर्ने मानिस वा संस्थालाई बीमित र जोखिम बहन गर्ने संस्थालाई बीमक (बीमा कम्पनी) भनिन्छ । बीमितले बिमाशुल्कको रुपमा निश्चित रकम बीमा कम्पनीलाई भुक्तानी गरेबापत बीमा कम्पनीले बीमितको जीवन वा अन्य विविध सम्पत्तिमा हुने जोखिमबाट हुने वित्तीय नोक्सानीको क्षतिपूर्ति प्रदान गर्दछ ।

Crest

बीमा योजनाका प्रकारः

१) जीवन बीमाः
जीवन बीमा व्यक्तिका जीवनसँग सम्बन्धित बीमा हो। यस प्रकारका बीमा व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । परिवारका सदस्यको दुर्घटना हुँदा यसले वित्तीय सुरक्षा अर्थात आर्थिक राहत प्रदान गर्द छ । बीमा अवधिसम्म बिमित जीवित रहेमा रकम प्राप्त हुन्छ र मृत्यु भएमा हकवालाले रकम प्राप्त गर्दछ ।

२) निर्जीवन बीमाः
निर्जीवन बीमा सम्पत्तिको बीमा हो । यसले आगलागी, चोरी जस्ता घटनाबाट सम्पत्तिको हानी नोक्सानी हुँदा क्षतिपूर्ती प्रदान गर्दछ । जस्तै घर, सवारीसाधन, पशुधन, बालीनालीका साथै अन्य सम्पत्तिहरूको हानी नोक्सानी भएमा नोक्सानी बराबरको क्षतिपूर्ती प्रदान गर्दछ ।

३) स्वास्थ बीमाः स्वास्थ बीमाले स्वास्थ उपचार र अस्पताल बस्नुपर्ने अवस्थाको खर्च समेट्छ ।

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरुः

बीमा गर्दा सबै शर्तहरुका बारेमा बुझेर मात्र आफूलाई मिल्ने खालको बीमा गर्नुपर्छ । बीमा गर्नुअघि बीमितले बिमालेखको प्रकार, अवधि, जोखिम बहन गर्ने विषय, बीमाशुल्क आदिका बारेमा जानकारी लिनु पर्दछ । सामान्यतः बीमा गर्नुपूर्व बीमितले निम्न कुरामा ध्यान दिनुपर्दछ ।

१) बीमा शुल्क र बचत गर्ने क्षमताः
सर्वप्रथम बीमा गर्दा आगामी वर्षहरुमा बीमा शुल्क तिर्न सकिन्छ वा सकिँदैन भन्ने बारेमा ध्यान पुर्‍याउनु पर्दछ ।

२) आधिकारिक अभिकर्ताः
बीमा अभिकर्ता बिमा समितिबाट आधिकारिक रुपमा इजाजतप्राप्त हो, होइन बुझेर मात्र निजलाई विश्वास गर्नुपर्दछ ।

३) जोखिम व्यवस्थापनः
जुन जोखिम व्यवस्थापनका लागि बीमा गराउँदै हुनुहुन्छ वा जुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमापश्चात् सो जोखिम न्यूनीकरण हुन्छ वा हुँदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।

४) बीमाको जानकारीः
बीमा गरिसकेपश्चात् परिवारका सदस्यलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले इच्छाइएको व्यक्तिलाई सोको जानकारी दिनुपर्दछ।

५) बीमाका शर्तहरुः
बीमा गरिसकेपछि बिमालेखमा उल्लिखित सम्पूर्ण विवरण शर्त, सुविधा र अन्य प्रावधान होशियारपूर्वक पढ्नुपर्दछ ।

६) कागजातहरु सुरक्षित राख्नेः
बीमा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ । साथै, बीमा शुल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाईरसिद सुरक्षित राख्नुपर्दछ ।

७) सत्य तथ्य विवरणः
बीमा गर्दा आफ्नो स्वास्थ्यसँग सम्बन्धित जानकारी नलुकाई बीमाको विषयवस्तुसँग आवश्यक हुने तथ्यहरु स्पष्ट रुपमा खुलाउनुपर्दछ । बीमाको नीति नियमहरु परिवर्तन हुनसक्छ त्यसैले त्यसका बारेमा जानकारी लिइराख्नुपर्दछ ।

पुस्तिकामा समेटिएका अन्य विषयवस्तुहरूः

राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धि पुस्तिकामा आवश्यकता र चाहनाको परिचय र भिन्नता देखि लिएर वित्तीय ग्राहकका गुनासो व्यवस्थापनसम्मका विषय समावेश गरेको छ । पुस्तिकामा मितव्ययीरूपमा खर्च गर्ने र पारिवारिक बजेट तयार पारेर खर्च गर्ने बानीले परिवारमा खुशियाली रहने सुझाइएको छ। यसबाहेक बचत गर्ने बानी सानै उमेरदेखि बालबालिकालाइ सिकाउनु उचित हुने बताइएको छ। बचतसँगै लगानीलाई पनि प्राथमिकता दिनुपर्ने र भविष्यमा आइपर्न सक्ने ठूलो खर्च छोराछोरीको उच्च शिक्षा, उपचार खर्च, घरघडेरी, विद्युतीय उपकरण, सवारी साधन खरिदका लागि वित्तीय लक्ष्य निर्धारण गर्ने तरिका पनि सिकाइएको छ।

पुस्तकमा प्रत्येक खण्डमा एआई (कृत्रिम बुद्धिमता) को सहायतामा तयार पारिएको विषयवस्तुसँग सम्बन्धित तस्वीरहरूले पुस्तिका पढ्नेलाई विषयवस्तु बुझ्न सहज बनाउँछ।

कर्जा सुविधाको उपभोगको तरिका र साधारण तथा चक्रवृद्धि बैंक ब्याजदरको भिन्नताबारे पनि गणितीय शुत्र सहित जानकारी उल्लेख गरिएको छ। मानिसको जीवनमा वित्तीय अनुशासनको आवश्यकता र अनुशासन कायम राख्न अपनाउनुपर्ने उपायबारे पनि सरल शब्दमा व्याख्या गरिएको छ। नेपाल राष्ट्र बैंक र राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय सेवा प्रदायकको परिचय र पूँजी बजारबारे पनि सामान्य परिचय समावेश गरिएको छ।

पछिल्लो समयमा लाखाैं सर्वसाधारणलाई बिल्लीबाँठ पारिदिएको सहकारी संस्थाको विषय पनि यो पुस्तिकामा समावेश छ। सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक एवम् सांस्कृतिक आवश्यकतालाई उन्नयन गर्न स्थापित समुदायमा आधारित स्वशासित संस्था नै सहकारी हो भन्ने परिभाषित गरिएको छ। यो परिभाषाको माध्यमबाट राष्ट्र बैंकले सहकारीको नियमन र अनुशासन समुदायबाट नै कायम गरिनुपर्ने आशय व्यक्त गरेको छ।

पुस्तिकाको खण्ड १४ मा कर्जा सूचना केन्द्रको परिचय, यसले प्रदान गर्ने सेवा, वित्तीय आचरण र कालो सूचीको प्रावधानबारे उल्लेख छ। पुस्तिकाको विप्रेषण खण्डमा औपचारिक माध्यमबाट विप्रेषण(रेमिट्यान्स) पठाउन र प्राप्त गर्न अनुरोध गरिएको छ। नेपालको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको २५ प्रतिशतभन्दा बढी हिस्सा विप्रेषण आप्रवाहबाट प्राप्त हुने विदेशी मुद्राले धानेको छ।

खण्ड १६ र १७ मा विद्युतीय वित्तीय सेवाको परिचयसँगै विद्युतीय कारोबारमा हुने ठगीको सम्बन्धमा पनि पुस्तकमा सामान्य विषयवस्तु समेटिएका छन्। अन्तिम खण्डमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै सेवाको सम्बन्धमा राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइ, गुनासो दर्ता र सुनुवाइको प्रकृयाबारे जानकारी समेटिएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS