काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर १६ अर्ब ३८ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले समीक्षा अवधिमा १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को साउनमा बीमा कम्पनीहरुले १५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुले संकलन गरेको नवीकरण बीमाशुल्क ४.१० प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको साउनमा १२ वटा कम्पनीको नवीकरण बीमाशुल्क बढेको छ भने २ वटाको घटेको छ। नेपाल लाइफले सर्वाधिक नवीकरण बीमाशुल्क संकलन गर्दा वृद्धिदरमा आइएमई लाइफ अगाडि रहेको छ।
चालु वर्षको साउनमा नेपाल लाइफले ५ अर्ब १५ करोड ३४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ५ अर्ब ५ करोड ६ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीमा बीमाशुल्क संकलन २.०४ प्रतिशतले बढेको छ।
दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले १ अर्ब ८३ करोड २४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्षमा ८.६४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७ लाख रुपैयाँ संकलन गरेको थियो।
समीक्षा अवधिमा तेस्रोमा लाइफ इन्स्योरेन्सन कर्पोरेसन नेपालले १ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क २.७४ प्रतिशतले घटेको छ।
चालु वर्षको साउनमा हिमालयन लाइफले १ अर्ब ७९ करोड १ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफले १ अर्ब १ करोड ७३ लाख रुपैयाँ, एसियन लाइफले ७९ करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ६१ करोड २९ लाख रुपैयाँ र सिटिजन्स लाइफले ६० करोड ६३ लाख रुपैयाँ संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको ७.९३ प्रतिशत, सूर्यज्योति लाइफको १०.८३ प्रतिशत, एसियन लाइफको ३.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ५.१९ प्रतिशत र सिटिजन लाइफको ८.०५ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा अवधिमा आइएमई लाइफले ५१ करोड ७७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५१ करोड २९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४३ करोड ७० लाख रुपैयाँ र मेटलाइफले ४१ करोड ६० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आइएमई लाइफको १२.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.९५ प्रतिशत र मेटलाइफको ४.३९ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको साउनमा राष्ट्रिय जीवन बीमा कम्पनीले ३९ करोड २३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३१ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ९.२९ प्रतिशतले घट्दा सन नेपाल लाइफको ८.४२ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ।


















