काठमाडौं । हिमालयन ट्राभल मार्टको पाँचाैँ संस्करण शुरू हुन अब तीन दिन मात्र बाँकी छ। पर्यटन प्रवर्द्धनसँग सम्बन्धित यो मेला मंगलबारदेखि ताहाचलस्थित होटल सोल्टीमा हुनेछ ।
दक्षिण एशियाली मुलुकसँगै तिब्बतको पर्यटन र पर्यटन व्यवसायसँग सम्बन्धित सेवा तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले यो मेला आयोजना हुँदै आएको छ। यसअघि सन् २०२३ मा होटल अन्नपूर्ण र याक एण्ड यतीमा संयुक्त रूपमा मेलाको चाैथो संस्करण आयोजना गरिएको थियो।
मेलामा हिमाली मुलुकहरू नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायतका देशहरुको सहभागिता रहनेछ । विभिन्न ३० देशबाट १०० देशका प्रतिनिधिमूलक अतिथि बोलाइएको आयोजक संस्था प्यासिफिक एशिया ट्राभल एशोसिएशन(पाटा) नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश बुडालले बताए।
मेला जेठ २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । यो पर्यटन मेला, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने अवसरकारूपमा विकास हुँदै गएको छ ।
मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संघसंस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध व्यवसायी तथा व्यक्तित्वहरुबीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ।
विदेशी आगन्तुकहरूलाई मेला शुरूहुन पूर्व चितवन साैराहा, पोखरा, वागलुङको जंगल, हिमाल र साहसिक पर्यटनको अनुभव गराइदैंछ। यसैगरी मेला समापन पछि काठमाडाैं उपत्यका र धुलिखेलको पर्यटकीय स्थलहरूको शयर गराइने कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

















