काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यतित बीमालेखको उठ्न बाँकी रकम चुलिएको छ। बीमालेख समर्पण (सरेन्डर)बाट कम्पनीहरुबाट बाहिरिने रकमभन्दा व्यतित बीमालेखको उठ्न बाँकी रकम झन्डै तेब्बर रहेको देखिएको छ।
बढ्दो वित्तीय आवश्यकता, वित्तीय दबाब, बीमाको ज्ञानमा कमीलगायत विभिन्न कारणले बीमालेख समर्पण रकम र व्यतित बीमालेखको उठ्न बाँकी रकम बढ्दै गएको हो।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म जीवन बीमा कम्पनीहरुबाट बीमालेख समर्पणबाट १३ अर्ब ५४ करोड रुपैयाँ बाहिरिँदा व्यतित बीमालेखको ३६ अर्ब ५१ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ। यो व्यतित बीमालेखको रकम समर्पणबाट बाहिरिने रकमभन्दा झन्डै तेब्बर हो।
चालु आर्थिक वर्षको जेठसम्म कम्पनीहरुमा ९८ हजार ४१५ वटा बीमालेख समर्पण गरिएका छन्। यी बीमालेख समर्पणबाट कम्पनीहरुबाट १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बाहिरिएको छ।
अघिल्लो आर्थिक वर्षको जेठसम्म १ लाख १२ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा समर्पण रकम १०.९७ प्रतिशतले बढेको छ।
यसैगरी व्यतित बीमालेखको संख्या र रकम दुवै बढेको छ। प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म १२ लाख ४३ हजार ७६९ वटा बीमालेख व्यतित भएका छन्। ती व्यतित बीमालेखबापत कम्पनीहरुले ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी छ।
अघिल्लो वर्ष जेठसम्म कम्पनीले ११ लाख ४३ हजार ४७८ वटा व्यतित बीमालेखको ३३ अर्ब ३ करोड २० लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा व्यतित बीमालेख संख्या र रकम क्रमशः ८.७७ प्रतिशत र १०.५४ प्रतिशतले बढेको छ।

















