काठमाडौं । विश्वभरका बीमा कम्पनीहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ब्लकचेन प्रविधिहरुलाई तीव्र रुपमा अपनाउन थालेपछि विश्वव्यापी बीमा उद्योगमा डिजिटल रुपान्तरणको लहर आएको छ।
यो परिवर्तनले जोखिम मूल्यांकन, दाबी भुक्तानी प्रक्रिया र ग्राहक सेवाको स्वरुप नै बदलिदिएको छ। जसले गर्दा पुराना चुनौतीहरु हट्नुका साथै नयाँ अवसरहरु पनि सिर्जना भएका छन्।
जोखिमको उन्नत आँकलन
एआईमा आधारित मोडेलहरुले विगतका दाबीहरु, मौसमको प्रवृत्ति र ग्राहकको व्यवहारजस्ता विशाल डाटासेटको विश्लेषण गर्छन्। यी प्रविधिहरुको प्रयोगले बीमा कम्पनीहरुलाई जोखिमको भविष्यवाणी अझ सटिकताका साथ गर्न मद्दत पुगेको छ। जसबाट ग्राहकलाई बढी व्यक्तिगत र प्रतिस्पर्धी मूल्यका बीमा पोलिसीहरु उपलब्ध गराउन सकिन्छ।
बीमा कम्पनीहरुले अहिले इन्टरनेट अफ थिंग्स (आईओटी) उपकरणहरु (जस्तैः स्मार्ट कार र वेयरेबल डिभाइसहरु) बाट प्राप्त तत्काल जानकारीलाई पनि जोखिम आँकलनमा समावेश गर्छन्। यसले कभरेजलाई ग्राहकको आवश्यकताअनुसार मिलाउन र बीमा जारी गर्ने निर्णयलाई छिटो बनाउन सघाएको छ।
छरितो र ठगीरहित दाबी भुक्तानी
मेसिन लर्निङ एल्गोरिदमहरुले दाबी स्वीकृतिको प्रक्रियालाई सरल बनाएर समयको बचत गरेका छन्। यसले कागजातहरुको समीक्षालाई स्वचालित गर्नुका साथै ठगीको संकेत दिन सक्ने शंकास्पद ढाँचाहरुलाई तत्काल पहिचान गरी रोक्छ।
ब्लकचेनको सुरक्षित र विकेन्द्रीकृत प्रणालीले सबै लेनदेन रेकर्डहरुलाई पारदर्शी र अपरिवर्तनीय बनाउने हुँदा त्रुटिहरु र जालसाजीका घटनाहरुलाई उल्लेख्य रुपमा कम गरेको छ।
स्मार्ट करारहरुमार्फत प्रमाणीकरण हुनासाथ दाबी भुक्तानी स्वचालित रुपमा कार्यान्वयन हुन्छ। यसले दाबी सल्टाउन लाग्ने समयलाई हप्ताबाट मिनेटमा झारेको छ।
ग्राहक सेवाको आधुनिक रुप
मा कम्पनीहरुले ग्राहकहरुलाई तत्काल र चौबीसै घन्टा सहयोग प्रदान गर्न च्याटबट र डिजिटल सहायकहरु प्रयोगमा ल्याएका छन्। सामान्य जिज्ञासाहरुको समाधानदेखि पोलिसी सिफारिस गर्नेसम्मका काममा एआईले ग्राहकको सन्तुष्टि बढाएको छ।
ब्लकचेनले ग्राहकको जानकारी सुरक्षित रुपमा व्यवस्थापन भएको र आधिकारिक पक्षहरुलाई तत्काल उपलब्ध हुने कुरा सुनिश्चित गर्छ। जसले कागजी प्रक्रियाको झन्झट हटाएको छ।
बीमा उद्योगमा यसको प्रभाव
म्याकिन्से एन्ड कम्पनीको सन् २०२५ को एक रिपोर्टअनुसार यी प्रविधिहरुलाई छिट्टै अँगाल्ने बीमा कम्पनीहरुले दाबी प्रक्रियामा लाग्ने समयलाई ४० प्रतिशतसम्म कम गर्न सफल भएका छन्। यसरी भएको ठूलो लागत बचतलाई नवाचार र ग्राहकलाई थप सुविधा प्रदान गर्नमा लगानी गरिएको छ।
वर्ल्ड इकोनोमिक फोरमका अध्ययनहरुले मापनयोग्य र पारदर्शी डिजिटल समाधानहरुमा केन्द्रित नयाँ इन्सुरटेक साझेदारीहरुमा वृद्धि भएको देखाउँछन्। एलिजा, एएक्सए र पिङ यन विश्वका प्रमुख बीमा कम्पनीहरुले एआई र ब्लकचेनको प्रयोगसम्बन्धी पाइलट परियोजनाहरुको नेतृत्व गरिरहेका छन्।
बाँकी चुनौती र नेपाली दृष्टिकोण
यति धेरै प्रगति भए पनि पुरानो प्रणालीसँगको एकीकरण र डाटा गोपनीयता अझै पनि मुख्य चुनौती बनेका छन्। ग्राहकको हितको रक्षा गर्न र सुरक्षित नवाचारलाई गति दिनका लागि उद्योगका विशेषज्ञहरुले बलियो साइबर सुरक्षा र सीमापार नियमनकारी रुपखेखामा सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।
एआई र ब्लकचेनको यो तालमेलले बीमा क्षेत्रलाई केवल सुधारमात्र गरिरहेको मात्र नभएर यसलाई भविष्यको लागि तयार गर्दैछ। जहाँ प्रभावकारिता, विश्वास र ग्राहक–केन्द्रित सेवा सर्वोपरि हुनेछन्।
नेपालजस्तो विकासशील देशको बीमा बजारमा साना दाबीहरुको द्रुत भुक्तानी र ग्रामीण क्षेत्रको पहुँच बढाउन एआई र ब्लकचेनको भूमिका अत्यन्त महत्वपूर्ण हुन सक्छ। ठगी नियन्त्रण र प्रक्रियाको सरलताले यहाँको बीमामा विश्वास बढाउन सहयोग गर्नेछ। तर, यसलाई सफल बनाउनुअघि लगानी, डिजिटल साक्षरता र उपयुक्त नियामकीय मापदण्ड तयार गर्नुपर्ने चुनौती भने अझै देखिएको छ।

















