IME Life New
GBIME

पोलिसी बेच्ने क्रममा अभिकर्ताले राम्रोसँग नबुझाउँदा सरेन्डर बढ्योः दिनेश अमात्य

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्, दिनेश अमात्य। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नो करिअर सुरुआत गरेका अमात्य बीमा क्षेत्रमै ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहेका छन्। नेसनल लाइफबाट उनी साबिक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरे। सूर्य लाइफको स्थापनाकालदेखि नै उनी त्यहाँ कार्यरत थिए। त्यसपछि उनी आइएमई लाइफमा आएका हुन्। आइएमई लाइफको पनि स्थापनाकालदेखि नै अमात्य कार्यरत छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। हाल आइएमई लाइफको उच्च व्यवस्थापकीय भूमिकामा रहेका अमात्यसँगै इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

बीमा क्षेत्रमा सरेन्डरको बाढी आएको छ। यससँगै व्यापार वृद्धि र दाबी भुक्तानीको हिसाबले कुन अवस्थामा रहेको छ ?

Crest

बीमा क्षेत्रमा हेर्दा सरेन्डरको जोखिम केही बढेको देखिन्छ। नयाँ कम्पनीको परिवेश हेर्दा हाम्रो कम्पनीमा सरेन्डरको त्यस्तो धेरै अप्ठ्यारो अवस्था आएको छैन।

सरेन्डरमा नागरिकको तिर्न सक्ने क्षमता, एकपटक प्रिमियम तिर्ने अर्को वर्ष तिर्न पैसा भएन भन्ने लजिकले काम गरेको हो कि अन्य चिज पनि केही छन् ?

सरेन्डरका लागि निवेदन आउँछ, यो–यो कारणले गर्दा भनेर भन्नुभएको हुन्छ। त्यो विश्लेषण गर्दा अलिकति तिर्न सक्ने क्षमता कमजोर भएको बुझिन्छ। जुन बीमालेख बेच्दाका क्रममा नै उनीहरुको आयस्रोत, आम्दानीको अवस्था, ओभर इन्स्योरेन्सको शंकालगायतका कुरा आउँछन्। यसबाहेक उनीहरुको आवश्यकता, चाहना एकातिर छ, अर्कोतिरको बीमा गराउँदा पनि त्यस्तो भएको देख्न सकिन्छ। त्यस्तो अवस्थाका कारण पनि सरेन्डर हुने गरेको पाइन्छ।

बीमितका तर्फबाट हेर्दा सरेन्डर गर्दा घाटा लाग्छ। तर, पनि बीमित सरेन्डर गर्न दौडिरहेका छन्। यसमा अभिकर्ताले तीन चार वर्षसम्म अलि बढी कमिसन आउँथ्यो, पछि विस्तारै घट्दै गयो। बरु अन्य कम्पनीतिर पो बीमा गराउँछु भन्ने हिसाबले प्रेरित पो गरेकी ?

लुकेको कारण त त्यो पनि होला। तर, मूल कारण चाहिँ पोलिसी बेच्दा राम्रोसँग नबुझाइँदा नै सरेन्डरको समस्या आउने हो। अलिकति सुधारात्मक रुपमा लाने हो भने कम्पनीहरुले अभिकर्तालाई त्यही किसिमका सीप तथा तालिम दिएर, राम्रोसँग बुझाएर मात्रै फिल्डमा उतार्नुपर्छ। अभिकर्ता कम्पनीका प्रतिनिधि हुन्। यसलाई सोहीअनुसार अगाडि बढाउनुपर्छ।

बेचिसकेको पोलिसी जोगाउन त यति गाह्रो छ। नयाँ पोलिसी बेच्न त कति गाह्रो होला ?

बेचिसकेको पोलिसीलाई निरन्तरता दिनका लागि त बुझाउन नसक्नु नै मुख्य कारण हो। बाँकी चाहिँ नयाँ पोलिसी बेच्नका लागिभन्दा पनि बजार कसरी विस्तार गर्ने भन्ने कुरा गाह्रो छ। नयाँ पोलिसी पुरानै ग्राहकलाई बेच्ने कि नयाँ ग्राहक खोज्ने भन्ने विषय पनि अभिकर्ताले ध्यान दिनुपर्ने अवस्था छ।

बीमा क्षेत्र र यसको पोलिसी उच्च प्राविधिक विषय हो। तपाइँहरु अभिकर्तालाई त्यो किसिमले तालिम नै दिनुहुँदैन भन्ने पनि छ नि ?

विगतको समयमा यस्तो अभ्यास थियो। त्यसमा सुधार हुँदै गएको छ। विगत केही समयदेखि अझ बीमा ऐन आएपछि अभिकर्ताको तालिम र अनलाइनमा आफैँ बसेर परीक्षा दिनुपर्ने पोलिसी आएपछि त्यस्तो घटना घटेका छन्। अबका दिनमा त्यस्तो समस्या आउँदैन।

तपाइँहरुले अभिकर्तालाई धेरै प्रडक्टबारे जानकारी चाहिँ दिनुहुन्न। मोटिभेटर ल्याएर जिन्दगी कसरी जिउने भन्नेतिर बढी तालिम हुन्छन् ?

हाम्रो आइएमई लाइफमा चाहिँ त्यस्तो समस्या छैन। हामीले नियमसंगत तरिकाले तालिमहरु दिँदै आएका छौँ। हामीले नयाँ प्रविधिसँग अभ्यस्त समेत गराएर अभिकर्ता उताछौँ।

कति छन् तपाइँहरुका अभिकर्ता ?

सुरुदेखिकै अभिकर्ता हिसाब गर्ने हो भने ४० हजार नाघिसकेका छन्। तर, सक्रिय अभिकर्ता १२ हजार हाराहारी छन्।

एउटा नागरिकले अलि–अलि पढे–लेखेको पनि छु। मसँग बिक्री अनुभव पनि छ। म बीमाबारे बुझ्छु पनि। अभिकर्ता बनेर जीवन ठीकठाक चलाउँछु भन्यो भने सकिन्छ ?

अभिकर्ताको पेसा प्रोफेसनल बन्दा संसारको सबैभन्दा बढी आय हुने पेसामै यो पर्छ। राज्यले नै अभिकर्तालाई दसौँ वर्षसम्म आयको स्रोत खुलाइदिएको छ। यस पेसामा राम्रो आम्दानी पनि हुन्छ। अभिकर्ताले आफूलाई अब्बल र प्रोफेसनल्ली बनाउँदै लैजानुपर्छ। दिइएको मौकालाई सदुपयोग गर्न सकेमा उनीहरुको जीवन राम्रोसँग चल्छ।

१४ वटा जीवन बीमा कम्पनीले अहिले काम गरिरहेका छन्। यसमध्ये एउटा छान्ने भन्ने आधार अभिकर्ता वा बीमितका लागि हुन्छन् ?

१४ वटा कम्पनीका हजारौँ अभिकर्ता हुनुहुन्छ। यस्तो अवस्थामा एकजना बीमितले आफूलाई सुहाउँदो बीमालेख कुन हुन सक्छ भन्ने जानकारी राख्न सबैको वेबसाइटबाट लिन पाइन्छ। यस्तै बीमा भनेको काउन्सिल गरेरमात्रै हुने बढी छन्। त्यसकारण नजिकका अभिकर्ता बीमितसँग भेट्नुहुन्छ। त्यसपछि अभिकर्तासँगको छलफलमा बीमितले कम्पनी छान्न सक्छन्।

मानिसले बीमा पोलिसी खरिद गर्न त्यति भित्र गएर हेर्न भ्याउलान् र ?

हरेक कम्पनीको आ–आफ्नो परिचय वा छवि हुन्छ। कम्पनीले बेच्ने प्रडक्टहरु तुलना गर्न सकिन्छ। आइएमई लाइफका पनि आफ्नो अलग्गै किसिमको प्रडक्ट छन्। त्यसलाई हेरेर पनि आवश्यकताका आधारमा बीमा पोलिसी खरिद गर्न सकिन्छ।

आइएमई लाइफमा नै बीमितले पोलिसी किन्नुपर्ने आधार के–के छन् ?

बीमितले आफ्नो आवश्यकता के–के हो भन्ने हेर्नुपर्छ। हरेक कम्पनीका आ–आफ्ना बलियो पक्षहरु छन्। आइएमई लाइफका केही त्यस्ता प्रडक्ट छन्, जसले गर्दा बीमित आकर्षित हुन सक्छन्। कस्तो खालको स्वभाव छ, भविष्यको योजना के हो ? बीमा कुन उद्देश्यले गर्न खोज्दै हुनुहुन्छ, जस्तै बचतका लागि र सुरक्षाका लागि वा अन्य केही। जोखिम हस्तान्तरण, दीर्घरोगसम्बन्धीका पोलिसीहरु लिन सकिन्छ। कतिपयले अवकाशपछि पाउने लाभलाई हेर्न सक्नुहुन्छ। यस्ता विभिन्न कुराहरु हेरेर बीमितले पोलिसी किन्न सक्नुहुन्छ।

झट्ट बाहिरबाट हेर्दा सबै बीमा कम्पनीका पोलिसी उस्तै–उस्तै देखिन्छ नि ?

तर, फरक हुन्छ। कम्पनीले पनि यस्तो फरक हो भनेर बजारमा प्रस्तुत गर्छ।

तपाइँहरुको युनिक प्रडक्ट के हो ?

क्रिटिकल इलनेसमा हामीले २१ वटा रोगलाई कभरेज हुने गरी प्रडक्ट ल्याएका छौँ। सर्भाइभल बेनिफिटलाई पनि हामीले विशेष ध्यान दिएका छौँ। आफू जीवत हुँदै, आफ्नै जीवनकालमा राम्रो रकम आउने, हरेक महिना आम्दानी भइरहनेलगायतका योजना पनि छ। यसबाहेक व्यवसायीका लागि पनि मनिब्याक योजनाहरु छन्। आवश्यकताका आधारमा सिंगल प्रिमियम योजना पनि छ। जग्गा बेचेर आएको एकमुष्ठ रकमलाई तत्कालै बीमा गराउन पनि सकिन्छ। बालबालिकाका लागि पनि आकर्षक योजना छ। बालकिरण, बालउमंग प्रडक्ट निकै आकर्षक छन्। बच्चाको शिक्षालाई प्राथमिकतामा राख्न सहजीकरण गर्छ यसले।

मुलुकमा १६–१७ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनि छन्। जसलाई बिहान बेलुका छाक टार्न पनि धौधौ छ। झन्डै १२–१५ प्रतिशत व्यापक धनसम्पत्ति बोकेर बसेका छन्। यसभन्दा बीचका वर्गका मानिस पछि छन्। यसमध्ये बीमाको आवश्यकता कसलाई हो ?

उच्च आर्थिक अवस्था भएका व्यक्ति र कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको आवश्यकता फरक–फरक हुन्छ। धनीहरुलाई कस्तो खाले प्रडक्ट चाहिन्छ र मध्यम वर्गलाई कस्तो खाले चाहिन्छ भन्ने कुरा फरक–फरक हुन्छ। गरिबीको रेखामुनिका नागरिकलाई पनि जीविकोपार्जनका लागि सहयोग हुने खालका प्रडक्ट छन्। आइएमई लाइफमा पनि त्यस्ता योजना छन्। जस्तो लघुबीमा योजना ल्याइएको छ। गरिबीको रेखामुनि नै छन् र केही काम गर्दै अगाडि बढ्नुहुन्छ भने त्यसका लागि पनि बीमा गर्न सकिन्छ। त्यसकारण तीनै तहका ग्राहकको आवश्यकतालाई हामीले सम्बोधन गर्न सक्छौँ। सोहीअनुसारका बीमा पोलिसी बिक्री गर्न सक्छौँ।

तपाइँहरुले एकदमै धेरै बेचिरहेको, अभिकर्ता र बीमितले पनि रुचाइरहेको कुन योजना छन् ?

फरक–फरक छन्। बालबच्चाको सेग्मेन्टमा हेर्ने हो भने बाल उमंग, बाल किरण योजना छ। अभिकर्ताले यसलाई बिक्री गरिरहनुभएको छ। सर्भाइभल बेनिफिटका प्याकेजहरु पनि योजना बनाएर हामीले बेचिरहेका छौँ।

बीमा कम्पनीहरुले बोनस भनेर घोषणा गर्दैगर्दा त्यसमा बीमितलाई चिटिङ गर्छन् भन्ने छ। तपाइँहरुकोमा लो रेन्ज र हाई रेन्जबीचमा ग्याप कस्तो छ ?

सबैभन्दा पहिले बोनस कसरी आउँछ भन्ने हामीले पत्ता लगाउनुपर्ने हुन्छ। जुन बोनस पोलिसी होल्डरलाई दिइने प्रतिफल हो। व्यवसायको आकार, प्रकृति, अवस्थाका आधारमा यो आउने हुन्छ। बोनसका लागि बीमा प्राधिकरणले तोकिदिएको मापदण्डमा बसेर बीमांकीय लेखाजोखा गरेर यसको निर्धारण गरिन्छ। कति वर्षका लागि कति प्रतिफल दिने भन्ने वैज्ञानिक तरिकाले यसको गणना गरिन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS