काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा सेलिब्रेटी सीईओको छवि बनाएका सुमन शर्माले प्रभु बैंकको कमान सम्हाल्दा लगानीकर्ताले ठानेका थिए– अब बैंकको दिन फिर्नेछन्। निवर्तमान सीईओ अशोक शेरचन बैंकिङ कसुरको विवादमा तानिएपछि र बैंकको छवि धुमिल भइरहेका बेला माछापुच्छ्रे र सनराइजजस्ता बैंक चलाइसकेका शर्मालाई ‘संकटमोचकका रुपमा भित्र्याइएको थियो। तर, उनले नेतृत्व सम्हालेको ६ महिना पुग्दा नतिजा उल्टो आएको छ।
शर्माको आगमनपछि बैंकले सुधारको बाटो समात्नुको साटो झन् डरलाग्दो वित्तीय खाडल खनेको छ। जसले प्रभु बैंकलाई इतिहासकै कमजोर मोडमा पुर्याएको छ।
गत शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरणले प्रभु बैंकको कुरुप चित्र प्रस्तुत गरेको छ। अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक अहिले २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा डुबेको छ।
कुनै बेला आक्रामक व्यवसाय गर्ने बैंक अहिले नाफाबाट सिधै घाटाको सुरुङमा पस्नुले नयाँ नेतृत्वको भिजन र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। अनुभवी सीईओको नेतृत्वमा बैंकले प्रगति गर्लाभन्दा उल्टै सञ्चित नोक्सानी ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुग्नु बैंकिङ क्षेत्रकै लागि एउटा दुखद् आश्चर्य बनेको छ।
सबैभन्दा भयावह दृश्य बैंकको निष्क्रिय कर्जा (एनपीएल) मा देखिएको छ। अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले दोब्बरभन्दा बढीले बढेर १५.५५ प्रतिशत पुग्नु व्यवस्थापकीय लाचारीको पराकाष्ठा हो। वाणिज्य बैंकहरुको इतिहासमा १५ प्रतिशत माथिको निष्क्रिय कर्जा हुनु भनेको बैंक भ्यान्टिलेटरमा पुग्नुसरह हो।
निष्क्रिय कर्जाको यो पहाडले बैंकलाई झन्डै ५ अर्ब रुपैयाँ प्रोभिजनिङ (नोक्सानी व्यवस्था) गर्न बाध्य पारेको छ। जसले बैंकको नाफालाई मात्र खाएको छैन, लगानीकर्ताको प्रतिसेयर आम्दानी (ईपीएस)लाई पनि १.०२ रुपैयाँ ऋणात्मक बनाइदिएको छ।
अहिले प्रश्न उठेको छ– अनुभवी भनिएका सीईओ शर्मा आखिर कता अल्मलिएका छन् ? बैंक स्रोतका अनुसार शर्मा अहिले बैंकको व्यवसाय विस्तार र निष्क्रिय कर्जा असुली (रिकभरी) मा लाग्नुको साटो पुरानो फाइल पल्टाउन र पुलिसिङ गर्नमै बढी रुमल्लिएका छन्। निवर्तमान सीईओमाथिको सीआईबी अनुसन्धानबाट त्रसित बनेका शर्माले जोखिम मोल्नुको साटो प्रशासनिक प्रक्रिया र आन्तरिक कलह मिलाउनमै समय खेर फालिरहेका छन्। उनी म्यानेजरभन्दा बढी अडिटरको भूमिकामा प्रस्तुत हुँदा बैंकको कर्मचारी संयन्त्रको मनोबल गिरेको छ भने बजारमा बैंकको साख ओरालो लागेको छ। कर्जा लगानी ठप्प हुनु र सीडी रेसियो ६७ प्रतिशतमा खुम्चिनुले बैंकले नयाँ व्यवसाय गर्नै नसकेको र सीईओ केवल ‘पर्ख र हेर’को रक्षात्मक अवस्थामा रहेको पुष्टि हुन्छ।
बैंकको पुँजी कोष अनुपात ११.८३ प्रतिशत र प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशतमा झर्नुले बैंक थप जोखिमपूर्ण अवस्थामा पुगेको छ। लगानीकर्ताले पाउने लाभांश त परको कुरा, बैंकको प्रतिसेयर नेटवर्थसमेत खस्किँदो छ। ६ महिनाको समय कुनै पनि सक्षम नेतृत्वका लागि सुधारको संकेत देखाउन पर्याप्त हुन्छ। तर, शर्माको कार्यकालमा बैंकको स्वास्थ्य झन् झन् बिग्रिँदै जानुले उनको बैंकिङ जादु प्रभु बैंकमा पूर्णतः असफल भएको प्रमाणित हुन्छ। यदि यही गतिमा निष्क्रिय कर्जा बढ्ने र नेतृत्व मूकदर्शक भइरहने हो भने प्रभु बैंकको भविष्य थप संकटग्रस्त हुने निश्चित छ।
बैंकको वित्तीय अवस्थामा सुधार नआउनुको मुख्य जड पुरानो व्यवस्थापनले विरासतमा छोडेको खराब कर्जाको थुप्रो र वर्तमान नेतृत्वको अत्यधिक रक्षात्मक कार्यशैली नै हो। निवर्तमान नेतृत्वमाथि परेको कानुनी संकट र सीआईबीको सक्रियतापछि बैंकभित्र सिर्जना भएको मनोवैज्ञानिक त्रासले कर्मचारी संयन्त्रको मनोबल गिराएको छ। जसका कारण कर्जा असुली (रिकभरी) मा हुनुपर्ने आक्रामक प्रयास शून्यप्रायः छ।
नयाँ सीईओ शर्माले बैंकको कमान सम्हालेपछि बजारमा निस्किएर व्यवसाय विस्तार र निष्क्रिय कर्जा व्यवस्थापनमा ब्रेक थ्रु गर्नुको साटो केवल आन्तरिक क्लिनिङ र प्राविधिक प्रोभिजनिङको चक्रव्युहमा मात्र आफूलाई सीमित राखे। नेतृत्वले जोखिम मोल्न नसक्दा र पुराना गल्तीहरुको भारी बोकेर केवल पर्ख र हेरको रणनीति अपनाउँदा निष्क्रिय कर्जाले १५ प्रतिशतको सीमा नाघेर बैंकलाई इतिहासकै कमजोर र चुनौतीपूर्ण मोडमा पुर्याएको हो।












