काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१।८२ को स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा जीवन बीमकको सोल्भेन्सी अनुपातको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले बीमा प्रतिविम्ब नामक मासिक विशेषांकमार्फत जीवन बीमकहरुको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकनका आधारमा निर्धारित सोल्भेन्सी अनुपातको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमांकी मूल्यांकन स्वीकृत गरिएका राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक बाँकी बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ। यो सूचीमा १३ जीवन बीमक र ३ लघु जीवन बीमकसहित कुल १६ जीवन बीमकमा नाम समावेश छ।
प्राधिकरणको तथ्यांकअनुसार १३ जीवन बीमकको औसत सोल्भेन्सी रेसियो २.१७ प्रतिशत रहेको छ। जीवन बीमकमध्ये रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक ३.६१ छ। प्राधिकरणले जीवन बीमकका लागि १.३ सोल्भेन्सी अनुपात कायम गरेकोमा यो दोब्बर भन्दा पनि बढी हो।
सोल्भेन्सी अनुपात सिटीजन लाइफको ३.४१ र मेटलाइफको २.७० रहेको छ।
यसैगरी नेसनल लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३४ छ। यो भनेको प्राधिकरणले तोकेको न्यूनतम सीमाको नजिक हो। पछिल्लो समयमा नेसनल लाइफले कार्यालय भवन र व्यावसायिक प्रयोजनका लागिसमेत ठूला भवन पूर्वाधारमा लगानी बढाएकाले पनि यसको वित्तीय तरलतामा संकुचन देखिएको हो।
लघु जीवन बीमकको लागि १.५ अनुपात तोकिएकोमा तीनवटै लघु जीवन बीमकको अनुपात तोकिएको भन्दा माथि नै रहेको छ। लिबर्टी माइक्रो लाइफको २.०, गार्डियन र क्रेस्ट माइक्रो लाइफको १.९७ अनुपात छ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षसम्मको बीमांकी मूल्यांकनका आधारमा सबै जीवन बीमक (लघुसमेत) सम्भावित वित्तीय दायित्व पूरा गर्न सक्षम देखिएका छन्।
प्राधिकरणले सोल्भेन्सी अनुपात १.३ तोक्नुको अर्थ १ रुपैयाँ दायित्व चुक्ता गर्नका लागि बीमकसँग कम्तीमा १ रुपैयाँ ३० पैसाबराबरको वित्तीय सम्पत्ति उपलब्ध छ।
जीवन बीमकका लागि सोल्भेन्सीले यसको दीर्घकालीन दायित्वहरु, विशेषतः बीमितहरुमाथिको दायित्व, आफ्नै सम्पत्तिबाट चुक्ता गर्न सक्ने क्षमतालाई दर्शाउँछ। यो कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य र यसको वासलातको सबलताको मूल्यांकन गर्न प्रयोग गरिने एउटा महत्वपूर्ण वित्तीय मापक हो। उच्च अनुपातले बलियो वित्तीय स्थिति र अप्रत्याशित नोक्सानी व्यहोर्न र भविष्यका दायित्वहरु पूरा गर्ने बलियो क्षमतालाई संकेत गर्छ।

















