काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै डब्बल ए माइनस इस्युअर रेटिङ प्राप्त गर्ने दोस्रो बीमकको सूचीमा दरिन सफल भएको छ।
डब्बल ए प्लस रेटिङ प्राप्त गर्ने यो जीवन र निर्जीवन बीमकमध्ये पहिलो र पुनर्बीमकसहितको स्वदेशी बीमकहरुमध्ये दोस्रो बीमक हो। यसअघि सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनीले मात्र यस्तो रेटिङ प्राप्त गरेको थियो।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार इन्स्योरेन्सको वित्तीय सबलता पुनःमूल्यांकनपछि इस्युअर रेटिङ ए प्लसबाट डब्बल ए माइनसमा स्तरोन्नति गरिएको हो । यस्तो रेटिङ प्राप्त गर्ने कम्पनीले पूर्वनिर्धारित समय सीमाभित्रै सम्पूर्ण वित्तीय दायित्व पूरा गर्न सक्ने उच्च सुनिश्चितता हुन्छ। कम्पनीले लिएको ऋण वा दायित्व चुक्ता नगर्ने सम्भावना न्यून हुन्छ।
इन्स्योरेन्सको बढ्दो व्यापारको आकार, दाबी अनुपातमा सुधार, जोखिमां)कन बचत र समग्र नाफा दरमा सुधारले कम्पनीको रेटिङ सुधार भएको इक्रा नेपालले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
निर्जीवन बीमकबीच मर्जरका कारण बजार प्रतिस्पर्धामा दबाबका बाबजुद निरन्तर अग्रता र कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक (१२ देखि १३ प्रतिशत) हिस्साले पनि कम्पनीलाई सहज अवस्थामा राखेको छ।
दुई दशकभन्दा लामो समयदेखि कम्पनीलाई निरन्तर नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र अनुभवले खारिएका सहयोगीहरु, फराकिलो शाखा सञ्जाल, बलियो जोखिम व्यवस्थापन नीति, बलियो पुनर्बीमा र महाविपत्ति व्यवस्थाले पनि कम्पनीलाई भावी प्रगति र सोल्भेन्सी अनुपात सुधार्न सघाउनेछ।
जोखिम पन्छाउनका लागि सीमित खुद धारण गर्ने नीति कारण यसले अन्य प्रतिस्पर्धीको तुलनामा अधिक नाफा कमाएको छ। यसको सबल पक्षका रुपमा इक्रा नेपालले दाबी फर्छ्यौटको अवधि बजार औसतभन्दा राम्रो रहेको उल्लेख गरेको छ।
कम्पनीको चुनौती
मर्जरका कारण पुँजी र शाखा सञ्जालका हिसाबले ठूलो प्रतिस्पर्धीका रुपमा देखा परेका अन्य बीमकसँग प्रतिस्पर्धा गर्दै बजार हिस्सा बढाउन चुनौती हुने देखिएको छ। अर्थतन्त्रमा आएको सुस्तताका कारण निर्जीवन बीमा व्यवसाय पनि प्रभावित बनेको छ।
अस्थिर ब्याजदरका कारण यसको ब्याज आम्दानी पनि प्रभावित हुने जोखिम छ। यसले अधिकांश रकम वाणिज्य बैंकहरुमा अल्पकालीन मुद्दति निक्षेपका रुपमा राखेको छ। अल्पकालीन अवधिका लागि निक्षेप जम्मा गरेकाले पछिल्लो दुई वर्षयता यसको लगानीबापतको प्रतिफल खुम्चिएको छ। मोटर बीमाको सम्बन्धमा नियामकीय प्रावधानमा हुने कुनै पनि परिवर्तनले यसको समग्र व्यापारमै नकारात्मक प्रभाव पार्ने जोखिमसमेत इक्रा नेपालले औँल्याएको छ। शिखर इन्स्योरेन्सको कुल बीमाशुल्कको ठूलो हिस्सा मोटर बीमाबापतको बीमाशुल्कले ओटगेको छ।
क्रमिक रुपमा कम्पनीले आफ्नो अग्रणी स्थिति जारी राख्ने, दाबी अनुपात र सोल्भेन्सी अनुपातमा सुधार बनाई राख्नुका साथै पर्याप्त लाभप्रदता सुनिश्चित गर्न सक्ने क्षमता प्रमुख रेटिङ संवेदनशीलताका रुपमा रहने टिप्पणी इक्रा नेपालले गरेको छ।

















