काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८०।८१का लागि वितरण गर्ने भनेर प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल ७.८९४७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ नगद लाभांश छन्।
बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । छैटौँ वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत कायम गरी जारी गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभाले कम्पनीको खर्च अनुमोदन गर्नुका साथै सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको भत्ता संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव प्राप्त भएमा वा फेरबदल भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।