काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिनाको वित्तीय विवरण प्रकाशन गर्दै विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.९०० अर्ब ५८ करोड पुगेको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,७४,६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,९०,८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,४५,४३२ र १,५७,०४५ रहेको थियो ।

















