काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा असार २३ गते आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार साउन २२ गतेसम्म ११ वटा निर्जीवन बीमकबाट प्राप्त विवरणअनुसार कुल ७८ वटा बीमा दाबीमा ९८ करोड ५९ लाख रुपैयाँ क्षतिपूर्ति माग भएको छ।
तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।
यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख रुपैयाँबराबर क्षतिपूर्ति माग भएको छ। नेपाल इन्स्योरेन्सले ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले २ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ९१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ।
त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म सर्वाधिक दाबी सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ६१ करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।
यसैगरी सामुद्रिक बीमातर्फ २२ करोड ४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (निजी)तर्फ ५ करोड ५८ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ ३ करोड ५५ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।


















