काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशीले नेपालीहरूको महान् चाड विजया दशमी, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सदस्यहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
२०८३ साल असोज २८ गते बुधबार विराटनगरस्थित होटल रुबिज इन, मुनालपथमा आयोजित कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष प्रदीप बाबु तिवारीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राई प्रमुख अतिथि तथा नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन, कोशी प्रदेशका अध्यक्ष ललित कायस्थ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको संयोजन प्रकाश चन्द्र निरौलाले गरेका थिए भने संस्थाका सचिव प्रकाश पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा सहभागी सदस्यहरूले एकअर्कामा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र संस्थागत एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
शुभकामना आदानप्रदानसँगै कार्यक्रममा निर्जीवन बीमा क्षेत्रका समसामयिक विषयमा समेत छलफल गरिएको थियो। छलफलका क्रममा बीमा क्षेत्रका वर्तमान अवस्था, चुनौती तथा सम्भावित सुधारका विषयमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमले बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा निर्जीवन बीमा क्षेत्रका समसामयिक विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निप्स कोशीले यस्ता कार्यक्रममार्फत बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूबीच सहकार्य, सद्भाव र व्यावसायिक सम्बन्धलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।












