काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरुको सार्वजनिक निष्कासन आज साउन २९ गतेबाट गरिने भएको छ।
योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एसिया बैंक रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।
यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ। यो खुलामुखी योजना हो।

















