काठमाडौं । नेपालको बीमा क्षेत्र पछिल्लो समय एक उदयीमान विशाल उद्योगका रूपमा देखिएको छ। क्षेत्रीय रूपमा बंगलादेश जस्ता मुलुकको तुलनामा नेपालको बीमा पहुँच र योगदान सन्तोषजनक देखिए तापनि यसको भित्री संरचना भने अझै मजबुत हुन सकेको छैन।
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०८१।८२ अनुसार नेपालमा बीमाको पहुँच ४८.३३ प्रतिशत पुगेको देखिएको छ। झट्ट हेर्दा यो निक्कै राम्रो तर, यसमा वैदेशिक रोजगार बीमा र म्यादी जीवन बीमाको ठूलो हिस्सा छ।
अनिवार्य गरिएका बीमालाई हटाउने हो भने स्वेच्छिक जीवन बीमाको दायरा मात्र १७.७० प्रतिशतको हाराहारीमा खुम्चिन्छ। यसभित्र पनि अझै ऋण कर्जा सुरक्षित गर्न लघुवित्तले अनिवार्य गरिदिएको म्यादि जीवन बीमाको संख्या पनि हटाउने हो भने वास्तविक हिस्सा ७ प्रतिशत हाराहारीमा सीमित हुन पुग्छ।
हाल नेपालको बीमा प्रवेश दर कुल गार्हस्थ्य उत्पादन(जीडीपी) को करिब ३.७२ प्रतिशत पुगेको छ। यो अंक दक्षिण एशियाका कतिपय छिमेकीहरूको तुलनामा उच्च हो। कुल बीमा शुल्क संकलन रु. २ खर्ब २७ अर्ब १८ करोड रूपैयाँ पुग्नुले बजारको अाकार कत्रो छ, झल्काउँछ।
यति हुँदा हुँदै पनि नेपालको जनसंख्याको ठूलो हिस्सा अझै पनि वास्तविक र दिगो बीमा सुरक्षाभन्दा बाहिरै छ। यसका लागि संरचनागत र नीतिगत सुधारको खाँचो छ।
लघु बीमाको प्रसारको एक मात्र उद्देश्य पुरा गर्न इजाजत पत्र वितरण गरिएका लघु बीमा कम्पनीहरू ठूला बीमा कम्पनीसँग वैदेशिक रोजगारी म्यादी, कर्जा सुरक्षण म्यादी र मोटर बीमामा हिस्सेदारी खोज्नमै अल्झिएका छन् । नेपालको माटो सुहाउँदो र बीमितको क्रयशक्तिसँग मिल्दो बीमा योजनाका लागि अनुसन्धान, विकास र प्रचलनमा ल्याउने काम हुन सकेको छैन।
नेपाल बीमा प्राधिकरणले अहिले जोखिममा आधारित सुपरीवेक्षण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको वित्तीय प्रतिवेदन प्रणाली लागू गर्न जोड दिइरहेको छ। यस्ता नियामकीय सुधारका पहलहरू भइरहेपनि नियामकसामु अझै केही गम्भीर चुनौतीहरू छन् ।
अझै पनि बीमितहरूले समयमै दाबी भुक्तानी नपाउने गुनासो व्यापक छ। ठूला शहर केन्द्रित व्यापारलाई ग्रामीण तहसम्म लैजान नियामकले ठोस प्रोत्साहन दिन सकेको छैन। न्यून आय भएका वर्गका लागि खोलिएका लघुबीमा कम्पनीहरूलाई स्थापित गराउनु प्राधिकरणको मुख्य चुनौती बनेको छ।
नेपालको बीमा बजारको सबैभन्दा कमजोर पक्ष यसको बिक्री गर्ने शैली र अभ्यासमा देखिएको छ। नेपालमा बीमाको हकमा भनाई नै छ कि ‘बीमा किनिदैन, बरु बेचिने’ गरिन्छ। करिब ४ लाख भन्दा बढी सक्रिय अभिकर्ताहरू रहेको यो बजारमा अभिकर्ताहरूले बीमाको सुरक्षा पक्षभन्दा पनि बचत र प्रतिफललाई बढी प्राथमिकता दिएर बीमालेख बिक्री गर्ने प्रवृत्ती निरन्तर छ।












