काठमाडौं । नेपाल भारत बंगलादेश त्रिपक्षीय विद्युत व्यापार सम्झाैता अन्तर्गत शनिबार रातिदेखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात शुरू भएको छ ।
शनिबार मध्यरातपछि ४०० केभी अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरबाट विद्युत निर्यात शुरू भएको हो । जफ्फरपुरदेखि भारतीय प्रसारण लाइनमार्फत भारत र बंगलादेशबीच रहेको ४०० केभीको प्रसारण लाइनबाट बंगलादेशको प्रणालीमा नेपालको विद्युत पुग्नेछ ।
विद्युत प्राधिकरणका अनुसार, त्रिपक्षीय सम्झाैतामा असार १ देखि ५ महिना भारत हुँदै बंगलादेश विद्युत निर्यात हुनेछ। गत वर्षको तुलनामा यस वर्ष नेपालले बंगलादेशलाइ अधिक विद्युत निर्यात गर्दैछ।
यसअघि १७ असोज २०८१ मा भएको त्रिपक्षीय सम्झौताअनुसार, अंग्रेजी महिना १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बिक्रीको सहमति छ ।
चरम आर्थिक संकटबाट गुज्रि रहेको दक्षिण एशियाली छिमेकी मुलुक बंगलादेशमा उधारोमा विद्युत निर्यात गर्दा प्राधिकरणले महशुलवापतको रकम भुक्तानी प्राप्त गर्न आशंका व्यक्त गरिएको थियो।
बंगलादेशले प्रतितपत्र नखोलेकाले कारण निर्यात हुनेमा आशंका गरिएकोमा यस पटक त्यस्तो समस्या नरहेको प्राधिकरणको भनाइ छ।
भारतीय व्यापारी गाैतम अदानीको अडानी पावरले थर्मल पावर स्टेशनमार्फत बंगलादेशमा गरेको बिजुली निर्यातवापतको रकम भुक्तानी नपाएपछि अडानी समूहले अन्तरिम सरकारका प्रमुख सल्लाहकार महम्म युनुसलाइ पत्राचार गर्नुपरेको थियो।
अडानी पावरले बंगलादेशमा १६०० मेगावाट विद्युत निर्यात गर्ने सम्झाैता छ। झारखण्ड राज्यको गोड्डामा अवस्थित कोइलामा आधारित उर्जा परियोजनाबाट बंगलादेशतर्फ बिजुली निर्यात गर्दै आएको छ। बिबिसी डट कमका अनुसार, बक्याैतावापतको रकम ८५ करोड डलर बंगलादेशबाट भुक्तानी नपाएपछि २०२४ अक्टोबरदेखि २०२५ मार्चसम्म अडानी पावरले विद्युत आपूर्तीमा उल्लेख्य कटाैती गरिदिएको थियो। बक्याैतावापतको रकम भुक्तानी गर्ने प्रतिबद्धता पछि गत २७ मार्च देखि पुनः विद्युत आपूर्ती सुचारू गरेको हो।
यसअघि पहिलोपटक नेपालले बंगलादेशलाई ३० कात्तिक २०८१ मा ४० मेगावाट बिजुली निर्यात गरेको थियो । नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा निर्यात गरेको बिजुलीको अझैसम्म पनि बंगलादेशले भुक्तानी दिएको छैन । प्राधिकरणले दिएको जानकारी अनुसार, बंगलादेशसँग पोहोरको ३० हजार ८० डलर रकम प्राप्त गर्न बाँकी रहेको छ ।
यो वर्ष पनि भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामार्फत उत्पादित विद्युत बंगलादेश निर्यात गरिनेछ ।

















