काठमाडौं । महालेखापरीक्षकको कार्यालयले नेपाल वायुसेवा निगमको कोषमा अनावश्यक भार पार्ने गरी चिनियाँ विमान भित्र्याउने काममा संलग्न पदाधिकारीविरुद्ध छानबिन र कारबाही गर्न सरकारलाई सुझाव दिएको छ।
६२ औँ वार्षिक प्रतिवेदनमार्फत महालेखापरीक्षकको कार्यालयले सम्भाव्यता अध्ययनदेखि विमान खरिद र सञ्चालनको निर्णय गर्ने पदाधिकारीलाई नोक्सानीप्रति जबाफदेही बनाउनुपर्ने सुझाव दिएको छ।
वायुसेवा निगमका लागि चिनियाँ विमान खरिद र अनुदानमा लिइएको विमानका कारण निगमको गत आव २०८०।८१ सम्म कुल २० करोड ४४ लाख रुपैयाँ खर्च भएको छ। यो वर्ष (आर्थिक वर्ष २०८०।८१) बीमा, पार्किङ, इन्धन, म्यानुअल रिभिजनसमेत एमए–६० जहाजका लागि ११ करोड ८६ लाख रुपैयाँ र वाई–१२ ई जहाजका लागि ८ करोड ५८ लाख रुपैयाँसमेत जम्मा २० करोड ४४ लाख रुपैयाँ खर्च भएको हो।
निगमले चिनियाँ विमान निर्माताबाट ३ वटा जहाज खरिद गरेको थियो । चीन सरकारले २ वटा विमान अनुदानस्वरुप प्रदान गरेको थियो।
निगमले २६ जनवरी २०१७ मा एक थान एमए ६०, १ फेब्रुअरी २०१७ मा वाई–१२ ई १ थान तथा १३ फेब्रुअरी २०१८ मा २ थान विमान खरिद गरेको थियो। चीन सरकारले २७ अप्रिल २०१४ मा १ थान एमए ६०, नोभेम्बर १४ २०१४ मा १ थान वाई–१२ ई जहाज अनुदानस्वरुप प्रदान गरेको थियो।
निगमले विमान सञ्चालन गर्न प्रशिक्षक पाइलट समयमा नपाएको, तत्काल स्पेयर पार्टस उपलब्ध नभएको, स्पेयर पार्टस महँगो भएको, मापदण्डबमोजिम विमान नरहेको, पाइलट तथा इन्जिनियरको तालिम तथा खर्च अत्याधिक बीमाशुल्कजस्ता कारण देखाई सञ्चालक समितिको २०७७ असार १६ गतेको निर्णयअनुसार सोही समयदेखि यी तीनवटै बीमाको उडान बन्द गरेको थियो।
जहाज खरिद गर्ने, सञ्चालन गर्ने र जहाज सञ्चालन गर्ने र जहाज सञ्चालन नगर्ने निर्णय गर्दा आर्थिक एवं साखमा पर्ने असरको अध्ययन गरेको देखिएन । जहाजबाट कुनै आम्दानी नभएको अवस्थामा समेत निगमले निरन्तर खर्च गर्नुपरेकोले थप व्ययभार परेको छ।
प्रयोजनविहीन अवस्थामा रहेको विमान बिक्रीका लागि निगमले पटक–पटक बोलपत्र आह्वान गरे पनि उपयुक्त प्रस्ताव प्राप्त नभएका कारण जनाउँदै बोलपत्र रद्द गर्दै आएको छ।
बोइङ विमान पनि वर्षाैदेखि थन्कियो
महालेखाका अनुसार निगमले सन् १९८८ मा खरिद गरेको बोइङ ७५७।९ एनएबीसी जहाजको इन्जिनको म्याद ३० वर्षको रहेकोले २०१९ सम्म बिक्री गरिसक्नुपर्ने गरी निगमबाट प्रक्रिया बढाउन निर्देशन दिए पनि व्यवस्थापनबाट लिलामी प्रक्रिया टुंगो लगाइएन। सञ्चालनमा नरहेको यो जहाजको मर्मत खर्च, इन्धन, बीमा, ल्यान्डिङ र पार्किङ तथा अन्य शुल्कबापत गत आव २०८०।८१ मा २ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ।
यो विमानको २ हजार देखि २ हजार २०० साइकल घन्टा उडेको एउटा इन्जिन सन् २०१७ देखि मर्मतका लागि स्पेनस्थित आइबेरियाको वर्कसपमा रहेकोमा इन्जिन भण्डारण र भन्सार शुल्कबापत वर्कसपले २९ अक्टोबर २०२२ मा अमेररकी डलर ०.२५ मिलियन भुक्तानीसमेत माग गरेको छ।

















