काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख समर्पणबापत साढे २ अर्ब रुपैयाँ बढी बीमितलाई भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमकहरुले भदौसम्म बीमालेख समर्पणबापत बीमितलाई २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्। यो रकम १४ हजार ९९६ वटा बीमालेख समर्पणबापत भुक्तानी दिइएको हो।
अघिल्लो आर्थिक वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले १५ हजार ८९८ वटा बीमालेख समर्पण हुँदा बीमितलाई २ अर्ब ५० करोड ७ लाख रुपैयाँ भुक्तानी दिएका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौसम्म बीमालेख समर्पण संख्या ५.६७ प्रतिशत घटेको छ भने समर्पणबापत बाहिरिएको रकम २.९४ प्रतिशतले बढेको छ।
यसैगरी अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन कम्पनीहरुमा व्यतित बीमालेखको संख्या र व्यतितबापतको रकम दुवै घटेको छ। चालु वर्षको भदौसम्म जीवन बीमा कम्पनीहरुले १० लाख १० हजार ९९६ वटा व्यतित बीमालेखको ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ।
अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले १२ लाख १३ हजार ५६२ वटा व्यतित बीमालेखको ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या १६.६९ प्रतिशत र व्यतित बीमालेखको रकम २.३० प्रतिशतले घटेको छ।












