काठमाडौं । मेटलाइफ फाउण्डेशनले रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूको राहत तथा पुनस्र्थापना प्रयासलाई सहयोग गर्न केयर नेपाललाई १ लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ ।
विनाशकारी बाढीले पुर्याएको क्षतिलाई राहत प्रदान गर्न उक्त सहयोग गरिएको हो । प्रभावित परिवारहरूसम्म तत्काल राहत पुर्याउन केयर नेपाल तथा यसका साझेदार संस्थाहरूले स्थलमै खटिएर तयारी खाद्य सामग्री, कम्बल, अस्थायी आवास सामग्री तथा सरसफाइ किटलगायत अत्यावश्यक सहायता वितरण गरिरहेका छन् । सडक सञ्जालमा पुगेको क्षति र दुर्गम क्षेत्रसम्म पहुँचको कठिनाइका बाबजुद पनि राहत टोलीहरूले आवश्यक सहयोग आवश्यकतामा रहेका समुदायसम्म पुर्याउन निरन्तर प्रयास जारी राखेका छन् ।
केयर नेपालको राहत प्रयास विशेष गरी बाढीका कारण आफ्नो घर, सम्पत्ति तथा जीविकोपार्जनका स्रोत गुमाएका परिवारहरूमा केन्द्रित रहेको छ । मेटलाइफ फाउण्डेशनबाट प्राप्त सहयोगले यी निरन्तर राहत तथा पुनस्र्थापना प्रयासहरूलाई थप सुदृढ बनाउनेछ र पुनःस्थापनाको यात्रामा रहेका जोखिममा परेका परिवारहरूलाई आवश्यक सहायता तथा सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्नेछ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, मेटलाइफ फाउण्डेशनको सहयोगमार्फत प्रभावित परिवारहरूको तत्काल आवश्यकताहरू सम्बोधन गर्न अर्थपूर्ण सहायता प्रदान भइरहेको छ । साथै, उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने क्रममा स्थायित्व, सुरक्षा र आत्मविश्वास पुनःप्राप्त गर्न पनि यसले सहयोग पुर्याइरहेको छ ।”
“भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीजस्ता विपद्ले समुदायहरूलाई प्रभावित गर्दा केयर नेपाल उनीहरूको साथमा उभिन्छ, ताकि धेरै कुरा गुमाएपछि पनि उनीहरूले आफूलाई सुरक्षित, सम्मानित र आशावादी महसुस गर्न सकून्,” केयर नेपालका कन्ट्री डाइरेक्टर मोना शेर्पाले भनिन, “मेटलाइफ फाउण्डेशनजस्ता सहयोगीहरूको विश्वास र साथले हामीलाई स्थानीय सरकार तथा साझेदार संस्थाहरूसँग समन्वय गर्दै प्रभावकारी र समयमै सहायता पुर्याउन सक्षम बनाएको छ ।
मेटलाइफ फाउण्डेशनको सहयोगका अतिरिक्त, मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३ लाख (लगभग २० हजार अमेरिकी डलर) योगदान गरेको छ । यस सहयोगले विपद्बाट प्रभावित समुदायहरूसँग ऐक्यबद्धता जनाउने तथा राष्ट्रियस्तरमा सञ्चालन भइरहेका राहत र पुनस्र्थापना प्रयासहरूलाई सहयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।












