काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर साढे ९९ अर्ब रुपैयाँ बढी उठाएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चैतसम्म ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको नवीकरण बीमाशुल्क १२.३३ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १४ वटै जीवन बीमकको नवीकरण बीमाशुल्क बढेको छ। सबैभन्दा धेरै नवीकरण बीमाशुल्क उठाउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।
चालु आर्थिक वर्षको चैतसम्म नेपाल लाइफले २६ अर्ब ७६ करोड १८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ८.६१ प्रतिशतले बढेको छ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। चालु वर्षको चैतसम्म एलआईसी नेपालले १२ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ अर्ब ३२ करोड २३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नवीकरण बीमाशुल्क ७.२६ प्रतिशतले बढेको छ।
तेस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष चैतसम्म कम्पनीले ९ अर्ब ६६ करोड ९४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म २२.०५ प्रतिशतले बढेर ११ अर्ब ८० करोड १४ लाख रुपैयाँ संकलन भएको छ।
यसैगरी चालु वर्षको चैतसम्म हिमालयन लाइफले १० अर्ब ७२ करोड २४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६४ करोड ५२ लाख रुपैयाँ र एसियन लाइफले ५ अर्ब ५ करोड ३७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ०.३४ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ४२.५० प्रतिशत, सूर्यज्योति लाइफको १३.६४ प्रतिशत र एसियन लाइफको १०.३६ प्रतिशतले बढेको छ।
त्यस्तै चैतसम्म सिटिजन लाइफले ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ४७ करोड ९० लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ५० करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नवीकरण बीमाशुल्क सिटिजन लाइफको २०.९९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १२.७८ प्रतिशत, मेटलाइफको ८.२९ प्रतिशत, आइएमई लाइफको १५.९५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ६.८३ प्रतिशत, रिलायबल नेपाल लाइफको २४.८३ प्रतिशत र सन नेपाल लाइफको १२.३९ प्रतिशतले बढेको छ।


















