IME Life New

लयमा फर्किंदै जीवन बीमा, तर आव ७७।७८ को चैतसम्मको भन्दा अझै पनि थोरै व्यापार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायवापतको बीमाशुल्क आम्दानी वृद्धिदरमा सुधार देखिए पनि रकमको हिसाबले अझै पनि पाँच वर्षअघिको व्यापारको अंक हासिल गर्न सकेको छैन।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार जीवन बीमा व्यापार चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्ममा २८ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा जीवन बीमकले नयाँ व्यवसायबाट कुल २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा यो २८ प्रतिशतको उल्लेख्य वृद्धि हो। इजाजत प्राप्त जीवन बीमकले सोही अवधिमा गत आर्थिक वर्षमा कुल २१ अर्ब ५४ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेका थिए।

Crest

गत आर्थिक वर्षमा जीवन बीमकको प्रथम बीमाशुल्क आम्दानी वृद्धिदर जम्मा ३ प्रतिशत थियो। तीन प्रतिशतको वृद्धिदरको पृष्ठभूमिमा २८ प्रतिशतको वृद्धिदर हासिल हुनुले जीवन बीमक हौसिएका छन् । उनीहरुले राष्ट्रिय अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेकाले यसको सकारात्मक प्रभाव जीवन बीमा व्यवसायमा पनि पर्न थालेको प्रतिकृया दिएका छन्।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नयाँ बीमा व्यवसायबापतको बीमाशुल्क आम्दानी अघिल्लो आव २०७९।८० को तुलनामा ३ प्रतिशतको झिनो अन्तरले मात्र वृद्धि भएको थियो। अघिल्लो आर्थिक वर्षमा चैत मसान्तसम्म बीमालेख जारी गरेर जीवन बीमकले कुल २१ अर्ब ५० लाख रुपैयाँ बीमाशुल्क कमाएका थिए।

आर्थिक सूचकमा सकारात्मक परिवर्तनसँगै आर्थिक गतिविधिमा केही सुधार देखिएकाले जीवन बीमा व्यवसायमा पनि यसको सकारात्मक प्रभाव परेको हो।

पछिल्लो ५ वर्षको तुलनामा आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमकको नयाँ बीमालेख बिक्रीबापतको बीमाशुल्क आम्दानी सर्वाधिक ३२ अर्ब १५ करोड ३६ लाख रुपैयाँ रहेको थियो। त्यसयता आर्थिक वर्ष २०७८।७९ र २०७९।८० मा निरन्तर ओरालो लागेको नयाँ बीमालेख बिक्रीबापतको आम्दानीमा आव २०८०।८१ देखि मात्र सुधार देखिन थालेको हो।

जीवन बीमकको प्रथम बीमाशुल्क आय आर्थिक वर्ष २०७८।७९ मा २८ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ थियो। आर्थिक वर्ष २०७८।७९ बाट आर्थिक वर्ष २०७९।८० मा आइपुग्दा कोरोना महामारीको चपेटाबाट बाहिरिन नपाउँदै रुस र युक्रेनको युद्धको छायामा परेको विश्व अर्थतन्त्रको मन्दीले नेपालको जीवन बीमा व्यवसायमा पनि संकुचन देखियो। आर्थिक वर्ष २०७९।८० मा नयाँ बीमालेख बिक्रीबापतको आम्दानी २७.३१ प्रतिशतले खुम्चिन पुगेको थियो।

Financial YearNew business(FPI) till Chaitra end (Rs. in Lakh)Difference in FPI(Rs. in Lakh)Growth %
2081-82274,737.2859,321.0628%
2080-81215,416.225,365.243%
2079-80210,050.98(78,942.02)-27%
2078-79288,993.00(32,543.12)-10%
2077-78321,536.12

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमक (लघु बीमकसमेत)ले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको अन्त्यसम्ममा १ खर्ब २७ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिकको चैत मसान्तसम्मको तुलनामा यो रकम १५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा जीवन बीमकले १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क (नवीकरणसमेत) संकलन गरेका थिए।

यस्तो छ चालु आर्थिक वर्षको अर्थतन्त्रको सूचकांक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१।८२ को ९ महिना (चैत)सम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा कर्जा प्रवाह सोही अवधिको तुलनामा ७.१ प्रतिशतले बढेको छ। रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको छ । शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

आयातमा वृद्धि हुनुका साथै मुद्रास्फिति दर पोहोरको भन्दा नियन्त्रित अवस्थामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

एसियाली विकास बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर यस वर्ष र आगामी वर्षमा क्रमशः ४.४ प्रतिशत र ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। जसलाई आर्थिक पुनरुत्थानको संकेत मान्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS