- टेकराज आचार्य
बीमा विकल्प होइन, निर्विकल्प आवश्यकता हो। आजको युगमा मानिस सुरक्षा चाहन्छ। सुरक्षाभित्र बसेर मानिसले आफ्नो जीवन सञ्चालन गर्न चाहन्छ। आफन्तहरुलाई सुरक्षित बनाउन चाहन्छ। भविष्यलाई सुरक्षित बनाउन चाहन्छ। आउने रिटायर्डमेन्टलाई सुरक्षित बनाउन चाहन्छ।
सुन्दर भविष्यका लागि व्यक्तिले समाजमा आफूलाई सेकुर महसुस गराउनका लागि बीमा अनिवार्य निर्विकल्प माध्यम हो भन्ने कुरा महसुस गर्नुपर्छ। बीमाको प्रभावकारिताका बारेमा यसको समाजमा एकरुपताको बुझाइको सन्दर्भमा भएका मिस इन्टरप्रिटेसन अब व्याख्यालाई चिर्नका लागि गाउँ, बस्ती, स्थानीय तह, वडाहुँदै राज्यका विभिन्न निकाय बीमक संस्थालाई नियमन गर्ने बीमा प्राधिकरणले जागरण अभियान सञ्चालन गरिनुपर्छ।
हाम्रोजस्तो विकासोन्मुख देशमा बीमाको झन् महत्व छ। आज प्रत्येक व्यक्तिलाई जीवन बीमाको सुरक्षाभित्र जोड्नु र समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय पुँजीमा रुपान्तरण गर्नु, त्यो राष्ट्रिय पुँजीलाई विभिन्न उद्योग कलकारखानालगायत तोकिएको क्षेत्रमा लगानी गर्नु र लगानीबाट प्राप्त मुनाफाबाट आमनागरिकको जीवन सुधारका लागि प्रयोगमा ल्याउनु सुरक्षा दिनु, यी विविध कार्य बीमा क्षेत्रभित्र पर्दछन्। बीमा सरकारी संयन्त्रबाट अनिवार्यता बनाइनुपर्नेमा आज त्यसको व्यापकताका बारेमा राज्यका नीतिगत रुपमा नेतृत्व गर्ने माननीयहरुबाट राष्ट्रसेवक कर्मचारीबाट बीमाका बारेमा कहीँकतै बहस छलफल र यसको व्यापकताका बारेमा जनजीवनमा छुने गरी डिबेट गरेको पाइँदैन। व्यक्तिको भावनासँग जोड्ने आर्थिक समृद्धिसँग जोडिने भविष्य र जोखिमसँग जोड्ने महत्वपूर्ण कडीका रुपमा रहेको यस बीमा क्षेत्रलाई हामी सबैले प्रवर्द्धन गर्न जरुरी छ।
जी क्षेत्रबाट मात्रै नभई राज्यका सम्पूर्ण संयन्त्रहरुबाट समेत बीमाको महत्व औचित्य प्रभावकारिता आवश्यकता र पहुँचका सन्दर्भमा खुला बहस गर्नु आजको आवश्यकता हो। बीमाको असीम महत्व र आवश्यकता र औचित्य हुँदाहुँदै पनि बीमासँग जोडिएर काम गर्ने कर्मचारी र अभिकर्ता साथीलाई समाजले हेर्ने दृष्टिकोण फरक खालको छ।
यो पर्सेप्सन चेन्ज गर्न जरुरी छ। अभिकर्ता तपाइँ हाम्रो मध्यस्थकर्ताका रुपमा बीमाको जानकारी गराउन र तपाइँहरुलाई आवश्यकतानुसारको बीमा खरिद गर्नका लागि बीमक र बीमितबीच पुलको काम गर्नुहुन्छ। यो पवित्र पेसामा लागेका अभिकर्ता र कर्मचारी साथीहरुलाई हामीले होचाउने दृष्टिकोणले होइन, उहाँहरुको मनोबल बढाउने दृष्टिकोणले व्यवहार गर्न जरुरी छ।
यो पेसालाई हामी सबैले सम्मान गर्नु जरुरी छ। आज यो पेसामा नेपाली तमाम नागरिक जोडिनुभएको छ। प्रत्यक्ष रुपमा १२ हजार अप्रत्यक्ष रुपमा र २ लाख ७५ हजारभन्दा बढी व्यक्तिले रोजगार प्राप्त गरेका छन्। साथै, राष्ट्रको अर्थतन्त्र विकास गर्नमा बीमा क्षेत्रले ठूलो सहयोग गरेको छ। बजारलाई चलायमान बनाउनका लागि सहयोग गरेको छ। दुःख र अप्ठ्यारोमा परेका गाउँबस्तीका नागरिकलाई आर्थिक क्षतिको सुरक्षाबाट परिवार विक्षिप्त हुनबाट बिचल्ली हुनबाट जोगाएको छ।
यस्तो सेवामूलक संस्थालाई हामीले जोगाएर भविष्यमा अझ बलियो मजबुत र स्पष्ट दृष्टिकोणसहित बीमा क्षेत्रमा देखिएका कमजोरीलाई समेत औँलाउँदै यसको प्रभावकारी कार्यान्वयन सर्भिस क्षेत्रमा भएका ढिलाइलाई सुधार गर्दै दाबी भुक्तानीमा सहजीकरण गर्दै आमनागरिकको विश्वासिलो भरपर्दो निर्विकल्प माध्यम बनाउन जरुरी छ। यो आजको आवश्यकता हो। हामी सबैको जिम्मेवारी पनि।
कुनै एउटा बीमकबाट भएका छुटफुट घटनालाई लिएर समग्र बीमा क्षेत्रप्रति नै लक्षित गरी समाजलाई नकारात्मक सन्देश दिने गरी भ्रामक तथ्यहीन समाचारहरु हामीले प्रसय दिनुहुँदैन। यसले बीमा क्षेत्रलाई मात्रै नभई समग्र राष्ट्रलाई नै नोक्सान पुर्याइरहेको हुन्छ। हो, बीमा क्षेत्रमा धेरै कुराहरु सुधार गर्न जरुरी छ। राज्यका नीतिअनुसार समसामयिक परिवेश सुहाउँदो बीमा पोलिसी जारी गर्न संस्थाको कर्तव्य पनि हो। योजनालाई अझ परिष्कृत गर्दै धेरै कुराहरु सुधार गर्न जरुरी छ। बजारको माग, ग्राहकको चाहना र युवाको रुचिअनुसारको धेरै लामो समयसम्म आफ्नै लगानी फिर्ता लिनुपर्ने नीतिगत व्यवस्थालाई परिवर्तन गर्दै लगानी निश्चित समयमै फिर्ता गर्न सक्ने गरी स्वास्थ्यका विभिन्न पाटोहरुलाई समेट्न सक्ने गरी एकीकृत बीमा प्याकेज ल्याउन जरुरी छ।
बीमा गरिसकेका ग्राहकले लामो समयसम्म आफूले व्यतीत भएको अथवा निष्क्रिय भएको बीमालाई पुनः सक्रिय गराउनका लागि एकैपटक सम्पूर्ण वर्षको रकम जम्मा गर्नुपर्ने नीतिलाई परिवर्तन गरी उनीहरुको आवश्यकताअनुसार किस्ताबन्दीमा पनि बीमा पोलिसी नवीकरण गर्न सकिने व्यवस्था गर्न जरुरी छ।
बीमा प्राधिकरणबाट पनि नेपालमा भएका सबै बीमकको अनुगमन सूक्ष्म रुपमा गर्दै सबै संस्था एउटै खालको नीतिअनुरुप अगाडि बढ्नुपर्ने व्यवस्था र निर्देशन गर्न जरुरी छ। बीमा योजनाहरु फरक–फरक हुन सक्छन् तर आधारभूत नीति फरक हुनु हुँदैन।
अन्तमा सामाजिक न्यायको सिद्धान्तमा विज्ञता र प्रवृत्तिलाई प्रयोग गर्दै अगाडि बढेको यो समाजमा आफ्नो परिवारको सुरक्षित भविष्य आर्थिक क्षतिको जोखिम बुढेसकालको सहारा र सामाजिक उत्तरदायित्व का रुपमा सचेत नागरिकका रुपमा जीवन बीमा गरौँ र आफू सुरक्षित रहौँ। परिवारलाई सुरक्षित पारौँ। राष्ट्रिय योगदानमा एउटा इँट्टा थप्ने काम गरौँ। बचत अभियानमा गाउँ समाज सहर र राष्ट्रलाई जोडौँ तथा सुखी नेपाली समृद्ध नेपाल निर्माण गरौँ।
(लेखक आचार्य हिमालयन लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश उपप्रमुख हुन्।)

















