काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक (डीजीएम) हुन्, दिपककुमार धूत। सन् १९९५ एनएलजी इन्स्योरेन्समा प्रवेश गरी उनले बीमा क्षेत्रमा आफ्नो करिअरको सुरुआत गरेका थिए। त्यहाँ उनले ११ वर्ष काम गरे। त्यसपछि उनी साबिक सन् २००६ मा साविक सिद्धार्थ इन्स्योरेन्समा आएका थिए। मर्जरपछि बनेको सिद्धार्थ प्रिमियरमा पनि उनी निरन्तरता सेवारत छन्। करिब २९ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा सक्रिय रहेका दूतले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापनमा एमबीए गरेका छन्। उनी इन्स्योरेन्स इन्स्टिच्युट आफ इन्डियाका फेलो र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका भिजिटिङ फ्याकल्टिज पनि हुन्। उनै डीजीएम धूतसँगै इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी देखिन्छ। व्यापार–व्यवसायको रफ्तार कस्तो छ ?
बीमाको प्रिमियममा त्यस्तो वृद्धि भएको देखिँदैन। बजार करिब ७ प्रतिशतको आसपासमा मात्रै बढेको छ। त्यसकारण खास त्यस्तो राम्रो उपलब्धि देखिएको छैन।
सिद्धार्थ प्रिमियर त मर्जरबाट गुज्रिएको कम्पनी पनि हो। ठूलो लक्ष्य पनि थियो। मर्जरपछि त्यो बाटोमा अगाडि बढ्न कत्तिको सहज भइरहेको छ ?
कुनै पनि दुई वा दुईभन्दा बढी कम्पनी आपसमा मर्ज हुनु भनेको चुनौती नै हो। हामीले मर्ज भएको नै २ वर्ष बितिसकेको छ। अलि–अलि चुनौती सुरु–सुरुमा आए। तर, अहिले त्यस्तो केही छैन।
तपाइँ सिद्धार्थको प्रतिनिधि कि प्रिमियरको ?
म सिद्धार्थकै कर्मचारी थिएँ।
अरु कुनै कम्पनीबाट सिद्धार्थमा जोडिनुभएको हो ?
सुरुमा सन् १९९५ मा एनएलजी इन्स्योरेन्समा प्रवेश गरेको थिएँ। ११ वर्ष त्यहाँ काम गरेपछि २००६ देखि म लगातार सिद्धार्थमै रहेँ। मर्जरपछि पनि सिद्धार्थ प्रिमियरमै छु।
एक, दुई, तीन नम्बरमा जाने भन्ने दौड होला नी पुँजी ठूलो भएपछि ?
हामीलाई चुनौती पनि छ। हामीलाई बोर्डले पनि यसबारे अपेक्षाहरु आइरहेकै हुन्छ। हामी एक नम्बर कहिले पुग्ने भन्ने प्रश्न आउँछ नै। हामीले राम्रो काम गरिरहेका छौँ। सूचकहरुमा राम्रो नै छ अवस्था।
राम्रो भनेको एक नम्बर भनेर दाबी गर्ने ठाउँमा हो कि ?
एक नम्बर भनेर दाबी त गर्ने नै हो, केही समयमा। तर, त्यसका लागि समय लाग्छ। तर, समग्र आर्थिक अवस्था र पोर्टफोलियो हेर्ने हो भने हामी सन्तुष्ट छौँ।
कम्पनी र प्राधिकरणले पनि पोस्ट मर्जर इफेक्ट राम्रोसँग ध्यान दिएका छैनन् भन्ने गाइँगुइँ आउँछ। तपाइँहरु आफूले चाहिँ ध्यान दिनुभएको छ ? यहाँ–यहाँ समस्या आएको छ, यसरी मिलाउनुपर्छ भनेर ?
समय–समयमा ससाना समस्या त आइरहन्छ। तर, त्यसलाई मिलाउँदै जाने हो। त्यसका लागि हामीले एक–आपसमा बसेर समस्या समाधान गर्न नै पर्छ। अहिले हाम्रोमा त्यस्तो केही समस्या छैन।
विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय खासै विकास हुँदैन भनेर भएको व्यवसाय यताउता तानतुन पार्छन् है ?
सही हो। केकको साइज त्यही हो। यो वर्ष तपाइँसँग, अर्को वर्ष मसँग र अर्को वर्ष अर्कोसँग भन्ने चलिरहेको छ। बजार सानो छ। त्यसकारण पनि नयाँ व्यवसाय ल्याउन गाह्रो छ। यस्तो अवस्थामा खोसाखोस भइहाल्छ।
बजार खोसाखोसमा अस्वस्थ प्रतिस्पर्धाको अभ्यास एकदमै उच्च छ भनिन्छ ?
यस्तो किन हुन्छ भने आजको अवस्थामा ‘भर्जिन मार्केट’ खोज्न एकदमै गाह्रो छ। व्यवसाय बढाउनका लागि ठूलो प्रिमियम आवश्यक हुन्छ। त्यसका लागि कर्पोरेट हाउसहरुमा हामीले प्रस्ताव गर्नुपर्छ। माइक्रो, कृषि वा अन्य कुनै बीमामा जाँदा त्यसमा प्रिमियमको आधार धेरै हुँदैन। त्यसकारण हामी मोटर बीमा र सम्पत्ति बीमामा जानुपर्छ। त्यहाँ सम्भावना धेरै छन्। त्यसका लागि हामी नयाँ–नयाँ ठाउँमा खोजिरहेका पनि छौँ। अभिकर्ताले पनि दौडधुप गरेर व्यवसाय ल्याइरहेका छन्। हामीले पनि प्रयास गरेर कर्पोरेट हाउसबाट व्यवसाय ल्याइरहेका छौँ।
नेपालमा चाहिँ निर्जीवन बीमा कम्पनीको व्यापार कहाँ छ भनेर हेर्दा सम्पत्ति बीमा र स्वास्थ्य बीमामा राम्रो छ भनियो। तर, कम्पनीहरु त्यतातिर धेरै गएनन् ?
सम्पत्ति बीमा र मोटर बीमा त राम्रो छ। कुनै एउटा समयमा मोटर बीमाको हिस्सा ४५–५० प्रतिशत हाराहारी थियो। सम्पत्ति बीमाको हिस्सा २५ प्रतिशत छ। हाम्रो कम्पनीको कुरा गर्ने हो भने ३५ प्रतिशत मोटर र अर्को ३५ प्रतिशत सम्पत्ति बीमातर्फ छ। जुन सन्तुलनमा छ। नेपालमा स्वास्थ्य बीमा सुरु भएको १७ वर्ष भइसक्यो। तर, अलिकति अगाडि बढेको विगत ५–६ वर्षदेखि मात्रै हो। भारतमा स्वास्थ्य बीमाको अवस्था एकदमै राम्रो छ। तर, यहाँ निकै फरक अवस्था छ।
अहिले नेपालमा स्वास्थ्य बीमाको अवस्था कस्तो छ ?
ल प्रिमियमको ४–५ प्रतिशत स्वास्थ्य बीमा छ।
यो त एकदमै कम हो नि ? नेपालमा नागरिकले सबैभन्दा बढी शिक्षा र स्वास्थ्यमा खर्च गर्छन् भनिन्छ। तर, स्वास्थ्य बीमामा चाहिँ धेरै हिस्सा रहेनछ। ध्यान नदिएको हो कि बजार नभएको ?
ध्यान नदिएको होइन। बजारको सोच अर्को छ। संसारमा जहाँ पनि हेर्दा स्वास्थ्य बीमा भनेको भविष्यमा कुनै ठूलो दुर्घटना घट्यो भने अस्पतालमा भर्ना हुनुपर्दा एक लाख, दुई लाख वा पाँच लाख रुपैयाँ चाहिन्छ। तर, नेपालमा सोच अर्कै छ। यहाँ मानिसलाई अस्पतालमा भर्नामा भन्दा पनि ओपीडीमा बढी चासो र चिन्ता छ। बीमा गरियो भने ओपीडीमा कति दिने भन्नेबाट सुरु हुन्छ। ओपीडी दिनु भनेको पोर्टफोलियो ध्वस्त हुनु नै हो। यसमा दाबी त आउँछ नै। यसको प्रिमियमको एक प्रतिशत वा दुई प्रतिशत होला बढीमा। अहिले पनि हेर्ने हो भने दाबी सतप्रतिशत नै आउँछ।
भनेको यो घाटा खुवाउने प्रडक्ट हो ?
हो। यो घाटा खुवाउने प्रडक्ट हो। यो सीएसआरजस्तै हो।
यो किन यस्तो भयो ?
यसमा मिस गाइड पनि भइएको छ। साथै, मानिसको सोच बीमा गर्नु भनेको पैसा खेर फाल्नुमात्रै हो भन्ने छ। मानिसको मानसिकता नै यस्तो भएको छ। लगानीको सोच नै उसको छैन।
अहिले त बीमामा पनि तपाइँहरुले नगद दिनुहुन्न है। बिल पेस गरेमात्रै पाइन्छ ?
मेडिकलमा केही घटना घटेपछि रकम पाउने अवस्था छ। यसबाहेक क्यासलेस पनि दिइरहेका छौँ। नेपालमा हामी नै पहिलो होला बीमामा क्यासलेस सुविधाका लागि। नेपाल र भारतमा गरेर २० हजारभन्दा बढी ठाउँबाट क्यासलेस सुविधा दिइरहेका छौँ।
कसैले उपचार गरेर बिल पेस गराउँछ। त्यस्तो बिल फर्जी हो कि होइन भन्ने कसरी हेर्नुहुन्छ ?
हामीले समय–समयमा यसलाई अनुगमन गरेर हेर्छौं। कुनै शंका लागेमा अनुसन्धान नै गरेर पत्ता लगाउँछौँ। यसका लागि हाम्रो टिम नै हुन्छ, आन्तरिक टिम। जसले यसबारे हेर्नुहुन्छ।
नेपालमा त टीपीए पनि छैन, अब ल्याउनुपर्ला ?
भएको भए राम्रो हुन्थ्यो। अब छिट्टै ल्याउनुपर्छ भन्ने सुनिएको छ।