काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्ययन प्रतिवेदनअनुसार नेपालमा लघु जीवन बीमाको सुरक्षा कवचमा समेटिएकाहरुमा पुरुषको तुलनामा महिलाको संख्या अधिक छ।
पितृ सतात्मक सामाजिक संरचनाबाट प्रभावित नेपालको कुल जनसंख्यामा महिलाको संख्या पुरुषको भन्दा अधिक (महिला पुरुष अनुपात ५१.९ः४८.१) छ। जीवन बीमामा पहुँचको तुलना गर्दा महिलाको पहुँच अधिक छ। यसरी सामान्य तथ्यांक हेर्दा अधिक जनसंख्या हुने महिलाको सहभागिता जीवन बीमामा अधिक हुनु स्वाभाविक नै मानिएला। तर, जोखिममा कुन लिंगको जनसंख्या बढी छ।
प्राधिकरणले बीमालेख संख्याका आधारमा ४८ प्रतिशत जनसंख्या बीमा सुरक्षा कवचमा समेटिएको दाबी गर्दै आएको छ। यो पहुँचमा वैदेशिक रोजगारी म्यादी बीमाको बाध्यकारी प्रावधानका कारण पुरुष श्रमिकहरुको संख्या अधिक छ। पुरुषको क्रयशक्ति र पारिवारिक निर्णयमा वर्चश्वका कारण बचत प्रकृतिको सावधिक जीवन बीमामा पुरुषको पहुँच महिलाको तुलनामा अधिक छ। समग्रमा संख्यात्मक हिसाबले बीमा सुरक्षा कवचभित्र समेटिनेमा पुरुषको तुलनामा महिलाको संख्या अधिक छ।
यति हुँदाहुँदै पनि समग्रमा बीमा सुरक्षा कवचभित्र समेटिएकाहरुमा संख्यात्मक हिसाबले महिलाको संख्या अधिक हुनु प्राधिकरणका लागि गर्वको विषय हो वा चिन्ताको ?
प्राधिकरणले हालै प्रकाशन गरेको नेपालमा लघु बीमा व्यवसायसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९।८० मा लघु जीवन बीमामा पुरुष बीमितको वर्चश्व रहेकोमा पछिल्ला वर्षहरुमा महिलाको सहभागितामा आमूल र सकारात्मक परिवर्तन देखिएको छ। आर्थिक वर्ष २०७९।८० मा कुल २१९ लघु बीमालेख जारी हुँदा पुरुष बीमित ६५.७५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०।८१ देखि महिला बीमितको संख्यामा उल्लेखनीय रुपमा वृद्धि ६९.४९ प्रतिशत पुगेको देखिन्छ। यसपछिका वर्षहरु आर्थिक वर्ष २०८१।८२ मा ६१.४१ प्रतिशत र आ आर्थिक वर्ष २०८२।८३ को फागुन मसान्तसम्म आइपुग्दा ६१.४३ प्रतिशत महिला सहभागिता रहेको देखिन्छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसमेत सम्मिलित अध्ययन समितिको निष्कर्ष छ, ‘यो तथ्यांकले कुल बीमालेखमा लैंगिक समावेशिताको बलियो जग स्थापित भएको छ।’ यहाँ प्राधिकरणले गर्व गरेको स्पष्ट हुन्छ। तर, स्वदेशभित्रै श्रमशक्ति र जोखिमपूर्ण काममा महिला सहभागिता पुरुषको अनुपातमा न्यून छ।
श्रमशक्ति सर्वेक्षणले के भन्छ ?
राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४।७५ मा स्पष्ट रुपमा लेखिएको छ ‘कृषि, माछापालन र जडीबुटी खेतीबाहेकका पेसामा महिलाको तुलनामा पुरुष श्रमशक्तिको बाहुल्यता छ।’ अझै सबैभन्दा जोखिमपूर्ण मानिने फलामसँग सम्बन्धित काममा सहभागि जनशक्तिमध्ये ७८.४ प्रतिशत पुरुष छन्। औद्योगिक जनशक्तिमध्ये पुरुष कामदारको सहभागिता ९४.७ प्रतिशत छ। अति उच्च जोखिम क्षेत्रमा महिला श्रमशक्तिको सहभागिता पुरुषको तुलनामा निक्कै थोरै भए पनि जीवन बीमा कवच महिलाले अधिक पाएका छन्।

जोखिममा रहेका पुरुषलाई बीमा कवचमा समेट्ने दायित्व कस्को ?
पुरुषको तुलनामा अधिक संख्यामा महिला जनसंख्या बीमाको सुरक्षा कवचमा समेटिनु चिन्ताको विषय होइन। चिन्ताको विषय के हो भने विशुद्ध जोखिममा रहेका पुरुष किन जीवन बीमाको सुरक्षा कवचमा समेटिएनन् ? क्रय क्षमता र क्रय निर्णय दुवैमा पुरुषको वर्चश्व रहेको हाम्रो समाजमा महिलालाई जीवन बीमाको सुरक्षाको कवचभित्र समेट्नुको पछाडिको सामाजिक, पारिवारिक वा आर्थिक नियत के छ ? जोखिममा पुरुष हुने तर जोखिम सुरक्षा कवचभित्र महिला समेटिने विरोधाभाषपूर्ण अवस्थाबारे प्राधिकरणले विस्तृत अध्ययन गर्नुपर्छ।
प्राधिकरणले नीतिगत र बाध्यकारी रुपमा जोखिमयुक्त पेसामा सहभागि पुरुषलाई जीवन बीमाको सुरक्षा कवचमा समेट्ने पहल गर्नुपर्छ।












