काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर ५ निवासी एक गृहणी महिलाको २०७८ साल कात्तिक ८ गते एक करोड रूपैयाँ बीमाङ्क निर्धारण गरेर जीवन बीमालेख जारी गरियो।
दश वर्षे अवधिका लागि बीमालेख खरिद गर्दा उनको परिवारका सदस्यले झण्डै १० लाख रूपैयाँ पहिलो वार्षिक किस्तावापतको रकम बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्समा भुक्तानी गरे।
ठूलो बीमाङ्क भएकाले कम्पनीले विश्वासिलो चिकित्सकले गरेको स्वास्थ्य परिक्षणका आधारमा दिएको रायलाई आधार मानेर नेपाल लाईफले बीमालेखको प्रस्ताव स्वीकार्यो र बीमालेख पनि जारी गरिदियो। यति सम्म सबै ठीकठाक नै देखिएको थियो। ठिकठाक नै चलि रहेको थियो।
तर बीमा गरेको बीमा गरिएको २ महिना ४ दिन नबित्दै पाैष १२ गते घरमै बीमित महिला हिरा देवी साहको निधन भएको जानकारी नेपाल लाईफले पायो। यति ठूलो बीमाङ्क रकमको बीमालेख जारी गर्दा कहाँ त्रुटी भयो भन्नेमा एक पटक बीमा प्रस्ताव मूल्याङ्कन र जोखिमाङ्कन(अण्डरराइटिङ) गर्ने सबैको मथिङ्गल घुम्यो। बीमालेख प्रस्तावसँग संलग्न सम्पूर्ण कागजपत्रहरू बीमालेख प्रस्ताव, बीमितको आयश्रोत पुष्टी गर्ने कागजपत्र, अभिकर्ताको प्रतिवेदन, चिकित्सकको राय, प्रयोगशालाको प्रतिवेदन, शाखा प्रबन्धकको सिफारिश र नैतिक जोखिम प्रतिवेदन समेत अध्ययन गर्ने काम भयो। यी सबै दस्तावेज केलाउँदा नेपाल लाईफका जिम्मेवार अधिकारीहरू बीमालेख जारी गर्दा कुनै गडबडी नभएको निष्कर्षमा पुगे।
केही समयपछि बीमितको इच्छ्याइएको व्यक्तिले बीमा दाबीका लागि निवेदन दिए। ठूलो बीमाङ्कको बीमा गरिएको र छोटो समयमै निधन भएकाले नेपाल लाईफले यसलाई शंकास्पद दाबीको सूचीमा राख्यो। र, अनुसन्धानका क्रममा बीमा गर्नु अघि नै ती महिला गम्भीर रोगबाट ग्रसित भएर उपचार गराइ रहेको फेला परेपछि दाबी भुक्तानी गर्न अस्वीकृत गरिदियो।
विराट मेडिकल कलेजको मिति २०७९ बैशाख २६ गतेको पत्रको आधारमा बीमित मस्तिष्क सम्बन्धि रोग मोटर न्युरोन डिजिज (Motor Neuron Diseases) बाट बीमा गर्नु अघि देखि बिरामी भएको कारण देखाउँदै नेपाल लाईफले बीमा दाबी इन्कार गरेको थियो।
जीवन बीमाका लागि बीमित वा प्रस्तावले प्रस्ताव गर्ने समयमा नै बीमा दाबीका सम्बन्धमा अनुसन्धानका क्रममा बीमा कम्पनीले बीमितको उपचार सम्बन्धि कागजातहरू प्राप्त गर्न, अध्ययन अनुसन्धान गर्न पूर्व सहमति दिएका हुन्छन्। यही पूर्व सहमतिकै आधारमा बीमा कम्पनीले दाबीको अनुसन्धानका क्रममा बीमितको उपचार सम्बन्धित व्यक्तिगत, गोप्य र संवेदनशील जानकारीमा समेत सहज पहुँच स्थापित गर्ने अधिकरा प्राप्त गरेको हुन्छ।
बीमा दाबीवापतको रकम नपाएपछि बीमितको हकवाला रोहित कुमार साहले बीमा दाबी नपाएको भन्दै प्राधिकरणमा २०७९ साउन ३ गते उजुरी दर्ता गराए ।
बीमित हिरादेवीको नाममा १० वर्षे अवधिका लागि बीमालेख जारी गरिएको थियो। दोश्रो किस्तावापतको रकम तिर्ने समय आउनु निक्कै अघि नै उनको निधन भयो।
नेपाल लाईफ इन्स्योरेन्सले विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलबाट २०७९ बैशाख २६ गते प्राप्त गरेको पत्रमा बीमित महिला मोटर न्युरोन डिजिजबाट बीमा अगावै पीडित भई २०७८ असोज ३१ गते देखि अस्पतालमा उपचार गराइ रहेकी थिइन् । उपचारका लागि ती महिलाले ट्याब रिलुजोल ५० एमजी पोक्स बिअाइडी औषधीको समेत सेवन गरेको अस्पतालले पत्रमार्फत नेपाल लाइफलाइ जानकारी गराएको थियो।
प्राधिकरणले दाबी भुक्तानी नभएको कारणबारे जानकारी माग गर्दा नेपाल लाइफले बीमितको तर्फबाट परम् सद्विश्वासको सिद्धान्त विपरित कार्य गरिएकाले बीमा दाबी भुक्तानी योग्य नरहेको जवाफ दिएको थियो।
बीमित महिलाको उपचार सम्बन्धी विराट मेडिकल कलेज, विराटनगरले पत्रमा “This is to certify that Ms. Hira Devi Shah %%Y/F, Resident of Biratnagar-04, Morang was presented on Neurosurgery OPD on 2078/06/31 at Birat Medical College & Teaching Hospital Budhiganga-02, Morang with diagnosis of Motor Neuron Diseases. She has been treated in the same line with Tab Riluzole 50 mg POX BID भनी उल्लेख गरेको थियो। र यो रोग पुष्टी हुने परिक्षण प्रतिवेदन पनि समावेश गरेको थियो।
प्राधिकरणले पनि मेडिकल कलेजसँग बीमितको उपचारबारे पुनः जानकारी माग गर्दा समेत अस्पतालले उस्तै विवरण उपलब्ध गराएको थियो। मेडिकल कलेजले २०८० चैत १४ गते प्राधिकरणलाइ जवाफ पठाउँदै विराटनगर महानगर ५ स्थायी ठेगाना भएकी हिरा देवी साहको मोटर न्युरोन डिजिज सम्बन्धी प्रयोगशाला परिक्षण गरिएको भन्ने व्यहोराको निवेदन सहितको कागजात पठाएको २०८० चैत १४ गते उपलब्ध गराएको थियो।
अस्पतालमा २०७८ असोज ३१ गते ती महिला उपचारका लागि जाँदा उनलाइ मोटर न्युरोन डिजिजबाट ग्रसित भएको आंशका गरिएको थियो। चिकित्सकको प्रतिवेदनमा यस्तो उल्लेख भएको पाए लगत्तै साह परिवार उनको जीवन बीमाका लागि तयारी गर्न जुट्यो र नेपाल लाइफबाट १ करोड रूपैयाँ बीमाङ्क कायम गरेर बीमालेख समेत खरिद गरेको थियो। १ करोड रूपैयाँको बीमालेख खरिद गर्दा साहको परिवारले झण्डै १० लाख रूपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपरेको थियो।
बीमितले बीमालेख जारी हुनु अगावै आफूलाई जानकारी भएको रोग सम्बन्धी सत्य तथ्य लुकाई छिपाई बीमाको सर्वमान्य परम् सद्विश्वासको सिद्धान्त विपरीत बीमा गरेकाले प्राधिकरणले २०८० चैत १८ गते निवेदन बदर गरिदियो। र नेपाल लाइफको पक्षमा फैसला सुनायो।

















