काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तालिम विभागका प्रमुख हुन्, रोजेश बस्नेत। बीमा क्षेत्रमा बस्नेत लामो समयदेखि सक्रिय रहेका छन्। नेपाल लाइफमा आबद्ध हुनुअघि उनी विभिन्न जीवन बीमा कम्पनीमा कार्य गरेका थिए। बस्नेतसँग सेल्स, तालिम र प्राध्यापनको अनुभव रहेको छ। एपेक्स कलेजबाट एबीए गरेका बस्नेतले काठमाडौं युनिभर्सिटीबाट व्यवस्थापनमा एमफिलको उपाधि हासिल गरेका छन्। उनै बस्नेतसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
तपाइँ नेपालको सर्वाधिक विश्वासिलो भनेर दाबी गर्ने बीमा कम्पनीको तालिम गर्ने विभागको नेतृत्वमा हुनुहुन्छ। तर, आजका दिनसम्म आइपुग्दा पनि बीमा डरको व्यापारका रुपमा स्थापित छ। अभिकर्ताहरु घर–घरमा गएर भोलि फ्याट्ट केही भइहाल्यो भने कसले हेर्छ तिमीहरुलाई, त्यही भएर पोलिसी किन भन्ने ठाउँमा पुगिरहेका छन्। यस्तो किन भइरहेको छ ?
नेपालमा बीमा सुरु भएको करिब ५ दशक पुगिसके पनि बीमाबारे वास्तविक बुझाइ राम्रो भइरहेको छैन। बीमा कम्पनीहरुले दुई दशकभन्दा बढी समयदेखि विभिन्न चेतना साक्षरतालगायतका कार्यक्रमहरु लिएर गाउँ–गाउँ गएर बीमाबारे बुझाइरहेका छन्। २१ औँ शताब्दीको आजको दिनमा पनि हाम्रो समाजमा बीमाबारे बुझाइ अझै अपुरो र अधुरो छ। त्यसैकारण पनि तपाइँले माथि भन्नुभएजस्तो बीमा डरको व्यापारका रुपमा स्थापित भएको हो। यसलाई चिर्दै अगाडि बढ्नु अहिलेको चुनौती पनि हो।
वास्तवमा बीमा डरको होइन आजको खुसीको व्यवसाय हो। यसतर्फ हामीले बीमालाई रुपान्तरित गर्नुपर्छ।
बीमा कम्पनीहरुले आफ्ना अभिकर्ता वा पोलिसी बिक्री गर्ने कर्मचारीहरुलाई दिने तालिम कन्टेन्टमा भन्दा पनि बढी मोटिभसनलतर्फ हुने गरेको देखिन्छ। त्यतातर्फ केन्द्रित हुँदा तालिममा जे भनिनुपर्ने र बुझाइनुपर्ने थियो, त्यो बुझाइएन भन्ने हो ?
विगतका दिनहरुमा त्यो थियो। नेपाल लाइफ इन्स्योरेन्समा पनि हामीले यो कुरालाई स्वीकार गरेर तीन वर्ष अघिदेखि छुट्टै तालिम विभाग नै स्थापना गरिरहेका छौँ। अभिकर्ता र शाखा प्रमुखलगायतको कर्मचारीहरुको वृत्ति विकासका लागि कन्टेन्टमा फोकस हुनका लागि र वास्तविक बीमाबारे समाजमा र गाउँ–गाउँमा बुझाउनुपर्छ भनेर काम गर्दै आएका छौँ। अहिले भइरहेका तालिमहरुमा हामीले नितान्त बीमाका कन्टेन्टहरुमा फोकस गर्ने गरेका छौँ। वास्तविक रुपमा बीमाको विज्ञानको विकास किन भएको थियो, त्यो जराबाट नै हामीले बुझाउने प्रयासहरु गर्दै आएका छौँ। अहिले हाम्रा अभिकर्ता साथीहरु र शाखा प्रमुखहरुलाई त्यो तालिम हामीले प्रदान गर्दै आइरहेका छौँ। बीमा भनेको के हो ? बीमा केका लागि विकास गरिएको थियो ? बीमा गरेर के फाइदा हुन्छ ? के घाटा हुन्छ ? कुन बीमाले किन्दा ग्राहकलाई राम्रो हुन्छ लगायत बारे हामीले अहिले तालिमहरुमा भन्दै आएका छौँ।
बीमालाई विश्वकै सबैभन्दा गाह्रो पेशाका रुपमा पनि हामीले भेट्टाउने गरेका छौँ। तपाइँहरु ४४–४५ प्रतिशत दायरामा पुगिसक्यौँ भन्नुहुन्थ्यो। तपाइँले भनिसक्नुभएको छ कि पाँच दशकको इतिहास भए पनि हामीले बुझ्न चाहिँ धेरै बाँकी नै छ। यो सबैभन्दा गाह्रो भनेर चिनिनुमा चाहिँ बीमा आवश्यकताका आधारमा भन्दा पनि बाध्यात्मक परिस्थिति सिर्जना गरेर बढी गरिने भएकाले भनिएको हो ?
पहिलो कुरा बीमा गराउनका लागि गाह्रो नै छ, सहज छैन। बीमा बुझाउनका निम्ति पनि सहज छैन। हाम्रो जस्तो समाज जहाँ अहिले पनि संस्थाले वा विश्वको अर्थतन्त्रले विकासोन्मुख मुलुक भनेर नै चिन्दै आइरहेको छ। यस अवस्थामा बीमा हाम्रोमा पूर्ण रुपमा स्थापित नभइसकेको अवस्था पनि छ। यस्तो अवस्थामा चेतना फैलाउँदै बीमा बुझाउनुपर्ने अवस्थाबाट अगाडि बढ्नुपर्ने भएका कारण यो गाह्रो पेसाका रुपमा रहेको हो। तर, अर्को पाटोबाट हेर्दा कुनै पनि पेसा सहज छ भन्ने चाहिँ मलाई लाग्दैन। तपाइँले विभिन्न किसिमका प्रडक्ट, व्यापारी वा अरु हेर्नुभयो भने पनि आ–आफ्ना किसिमका कहानी हुन्छन्।
बिक्री गर्नुपर्ने सबै कुराहरु बिक्री गर्न गाह्रो नै हुन्छ। यो हाम्रो हितका लागि र राम्रोका लागि बिक्री गर्नुपर्ने भएका कारण पनि बेच्न बढी गाह्रो हुन्छ। उदाहरणका लागि औषधि बेच्न अलि गाह्रो हुन्छ, डाक्टरले प्रेस्क्रिप्सन लेख्ने, डाक्टरले अलि–अलि डर तपाइँलाई देखाउनुपर्छ, औषधि खानुभएन भने तपाइँको स्वास्थ्य बिग्रिन्छ भोलि नहुन पनि सक्छ भन्ने चेतावनी दिनुपर्छ। त्यसपछि मात्रै बिरामीले औषधि किन्छ। बीमा पनि ठ्याक्कै यस्तै हो। यसो हेर्दा औषधि पनि फोर्स सेलिङजस्तै देखिन्छ। त्यस्तै बीमा पनि फोर्स सेलिङजस्तो देखिन्छ। किनकि राम्रो कुरा बेच्न समय लाग्छ, बुझाउन समय लाग्छ।
बीमा भनेको एउटा बचत हो। अर्को पाटोबाट हेर्नुपर्दा हामी खर्चको संस्कारमा हुर्किएका छौँ। हामीलाई खर्च गर्न सहज लाग्छ तर बचत गर्न गाह्रो हुन्छ। खर्च गर्न तपाइँ हामीले कसैसँग सल्लाह लिन्छौँजस्तो लाग्दैन, लिनुपर्छ जस्तो लाग्दैन। तर, बचत गरौँ न भन्यो भने चाहिँ घर सल्लाह खोज्नतिर गइन्छ। त्यसकारण पनि बचतका लागि बानी विकास नभइसकेको समाज भएका कारण बीमा गर्न र गराउन केही गाह्रो भइरहेको हो। हामीले राम्रोसँग बीमाबारे बुझाउन सक्ने हो भने बीमा गर्न गाह्रो हुन्छ जस्तो लाग्दैन।
तपाइँले बीमालाई बचत भन्नुभयो। यही प्रसंगमा सोधिहालेँ। बीमा पोलिसी बिक्री गर्ने बेलामा सामान्यतया यो पोलिसी बचत हो, सुरक्षा हो भनेर प्राथमिकतामा राखिरहेका हुन्छौँ। यसलाई १, २, ३ नम्बरमा कसरी राख्ने ? तपाइँहरुको प्राथमिकता चाहिँ कहाँ हो ? के भनेर बेच्दा र के भनेर खरिद गर्दा ठीक हुने हो ?
१, २, ३ भनेर भन्नुपर्दा बीमाको प्रमुख काम भनेको आर्थिक सुरक्षा नै हो। यसलाई अझ सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा बीमा भनेको आम्दानीको सुरक्षण हो। म आफू चाहिँ बीमालाई सबैले बुझ्ने भाषामा ‘आम्दानीको ताला’ भन्न रुचाउँछु। तपाइँ हाम्रो घरमा सरसामान हुन्छ। हामी घरबाट बाहिर निस्कन्छौँ। चोर सूचना नदिई, बाजा नबजाईकन आउन सक्छ। त्यसकारण हामीले घरको सामानको सुरक्षा गर्नुपर्छ भनेर ताला लगाउँछौँ। त्यसैगरी कुनै पनि बेला मृत्यु पनि सूचना नदिकन जुनसुकै अवस्थामा हुन सक्छ। त्यस्तो अवस्थामा तपाइँ हाम्रो आम्दानीको सुरक्षाका लागि जीवन बीमा बनाइएको हो। त्यसकारण जीवन बीमाको पहिलो काम भनेको तपाइँ हाम्रो आम्दानी हाम्रो परिवारका लागि नमरिदियोस्, बन्द नभइदियोस् भन्नका लागि हो। आम्दानीमा आश्रित परिवारका सदस्यहरुले कुनै पनि दिन आम्दानीको स्रोत नगुमाऊन् भन्नका लागि जीवन बीमा गर्ने हो। हामी नहुँदा हाम्रो आम्दानी नरोकियोस् भन्नका लागि जीवन बीमा गर्ने हो।
यसबाहेक बीमामा बचतको पाटो पनि छ। यसले भोलिका दिनमा हाम्रो आधारभूत आवश्यकताहरु पूरा गर्नका लागि कठिनाइ भयो भने आज गरेको बचतले भोलि सहज गराउँछ भनेर जीवन बीमा गर्नु उपयुक्त हुन्छ।
नेपालमा १६–१७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि छन्। ८–१० प्रतिशत मानिसलाई बीमा गर्नै पर्दैन, उनीहरु आर्थिक रुपमा बलियो छन्। यस्तो अवस्थामा जीवन बीमा गर्ने चाहिँ कसले हो ?
बीमा हरेक मानिसका लागि आवश्यक हुन्छ। भारी बोकेर गुजारा चलाउने व्यक्तिदेखि ठूल्ठूला व्यापारीहरु हरेकले दैनिक रुपमा आफ्नो जीवन चलाउनका निम्ति आम्दानी गरिरहेका हुन्छन्। त्यसकारण यसको सरल उत्तर भनेको त्यो व्यक्तिलाई बीमाको आवश्यकता छ। जुन व्यक्तिको आम्दानी छ।
तपाइँको आम्दानी छ भने तपाइँलाई बीमाको आवश्यकता छ। तपाइँले कसको ढोकामा तालाको आवश्यकता छ भनेर प्रश्न गर्नुभयो भने यसको जबाफ हरेकको ढोकामा भनेर भन्ने हुन्छ। त्यस्तै हो, बीमा पनि।
घरमा केही नभएका मानिसका लागि पनि तालाको आवश्यकता पर्छ। घरभरि सामान्य सामान भएको मानिसका लागि पनि तालाको आवश्यकता पर्छ। बीमा पनि सबै पक्षलाई बीमाको आवश्यकता पर्छ, ज–जसले आम्दानी गर्दछन्। तर, प्रश्न कहाँनेर हो भने ताला कत्रो लगाउने ? तपाइँको घरमा एउटा दुईटा मात्रै सामान छ भने ताला सानो भए पनि हुन्छ तर टीभी छ, गरगहना छ, महत्वपूर्ण खरखजना छ भने ताल ठूलो चाहिन्छ। तपाइँको आम्दानी थोरै छ भने त्यही किसिमको जीवन बीमा गर्नुपर्छ। आम्दानी धेरै छ भने ठूलो किसिमको जीवन बीमा गर्नुपर्छ।