काठमाडौं । जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको हालसम्म २२ प्रतिशत मात्रै बीमा दाबी भुक्तानी देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुले हालसम्म कुल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये हालसम्म बीमा कम्पनीहरुले अग्रिम भुक्तानीसमेत गरी करिब ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरेका छन्। यो हिसाबले कुल दाबी रकममध्ये कम्पनीहरुले हालसम्म २२.०९ प्रतिशतमात्रै भुक्तानी गरेको देखिन्छ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तंथ्यांकअनुसार कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको करिब १९ अर्ब २ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको करिब ३ अर्ब ४७ करोड रुपैयाँमध्ये करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीको करिब ५५ करोड ४७ लाख रुपैयाँमध्ये करिब ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई करिब ३ अर्ब २ करोड रुपैयाा अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कुल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक रहेको प्राधिकरणले जनाएको छ।

















