काठमाडौं । नेपालमा बीमासम्बन्धी चेत अझै पनि विस्तार हुन सकेको छैन। अझै पनि बीमा गरिने लगानी फजुल खर्चका रुपमा हेर्ने नकारात्मक धारणा हट्न सकेको छैन।
नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुले बीमा सचेतनाका लागि अनेकन कार्यक्रमहरु गर्दै आएका छन्। प्राधिकरण बीमालाई आफ्नो वार्षिक आम्दानी केही हिस्सा बीमा सचेतनाका लागि खर्च गर्नुपर्ने प्रावधान पनि रहेको छ। अभिकर्ता (मध्यस्थकर्ता)ले बीमा सचेतनाका लागि भरपूर प्रयास गरिरहेका छन्।
बीमा प्राधिकरणले हालै बीमा साक्षरता रुपरेखा–२०८३ को मस्यौदा जारी गरेको हो। यसमा बीमा साक्षरताका लागि प्राधिकरण, बीमा कम्पनी र मध्यस्थकर्ताको भूमिका र जिम्मेवारी पनि औँल्याइएको हो।
बीमा साक्षरता मुख्यगरी बीमा ज्ञान, बीमा सीप, बीमा मनोवृत्ति र बीमा व्यवहार एउटा संगम हो। यसमा बीमा मनोवृत्ति र व्यहारको ठूलो भूमिका रहेको हुन्छ।
बीमा मनोवृत्ति
बीमा, जोखिम र वित्तीय सुरक्षाप्रति व्यक्तिको दृष्टिकोण, विश्वास र सोचको अवस्थालाई बीमा मनोवृत्ति बुझिन्छ। यो ज्ञान र सीपभन्दा माथि उठेर बीमालाई हेर्ने व्यक्तिको मानसिक दृष्टिकोण हो। यसअन्तर्गत बीमालाई फजुल खर्च वा बाध्यताका रुपमा नलिएर भविष्यको अनिश्चितता र जोखिम न्यूनीकरण गर्ने सुरक्षा कवच एवं लगानीका रुपमा स्वीकार गर्ने सकारात्मक सोच पर्दछ।
बीमा कम्पनी र समग्र बीमा प्रणालीप्रति सकारात्मक धारणा राखु, सम्भावित जोखिमहरुप्रति सचेत रहनु र वित्तीय रुपमा सुरक्षित हुनका लागि स्वःस्फूर्त रुपमा तत्पर हुनु नै सकारात्मक बीमा मनोवृत्ति हो। व्यक्तिको यही आन्तरिक सोच र विश्वासले नै उसलाई बीमासम्बन्धी जानकारी लिन र अन्ततः बीमा खरिद गर्ने निर्णयमा पुग्न उत्प्रेरित गर्दछ।
बीमा व्यवहार
बीमा ज्ञान, सीप र सकारात्मक मनोवृत्तिलाई वास्तविक जीवनमा उतार्दै गरिने व्यावहारिक कार्य वा निर्णय नै बीमा व्यवहार हो। व्यक्ति वित्तीय रुपमा कति सुरक्षित छ भन्ने बीमा व्यवहारबाट मापन गर्न सकिन्छ। त्यसैले यो बीमा साक्षरताको सबैभन्दा दृश्य र मापनयोग्य स्तम्भ हो।
यसअन्तर्गत आफ्नो र परिवारको जोखिम मूल्यांकन गरी उपयुक्त बीमालेख वास्तविक रुपमै खरिद गर्नु, समयमै बीमाशुल्क (किस्ता) भुक्तानी गरी बीमालेखलाई निरन्तरता दिनुर दाबी गर्नुपर्ने अवस्था आउँदा सही प्रक्रिया अवलम्बन गर्नुजस्ता व्यवहारहरु पर्दछन्। साथै, बीमासम्बन्धी सर्तहरु र आफ्नो अधिकार तथा दायित्वप्रति सधैँ सचेत रहनु र वित्तीय संकटबाट बच्नका लागि बीमालाई आफ्नो दैनिक आर्थिक योजनाको हिस्सा बनाउनु नै सकारात्मक बीमा व्यवहार हो। यसरी बीमासम्बन्धी चेतना र सोचलाई वास्तविक कार्यमा परिणत गर्नु नै बीमा व्यवहार हो।












