काठमाडौं । नेपालको बीमा व्यवसायको इतिहास ७० वर्ष लामो भइसक्दा बीमा क्षेत्र अझै पनि बिस्तारको अवस्थामै छ। बीमा कारोबार पछिल्लो दश वर्षमा उल्लेख्य फड्को मारेको छ। कारोबार रकम, शाखा सञ्जाल, कर्मचारी, बीमा कोष, लगानी, नगद लेनदेनको आकार व्यापक बनेको छ।
व्यापारको आकार बढ्दै जाँदा खराब मानसिकताका कर्मचारी, अभिकर्ताका साथै प्रविधिको बढ्दो प्रयोगसँगै अहिले सञ्चालन जोखिम पनि बढी रहेको छ। त्यसैले बीमा कम्पनीभित्र हुन सक्ने वित्तीय अनियमितता, अभिकर्ता र कर्मचारीको अनैतिक व्यवहार र सञ्चालन जोखिमलाई न्यूनीकरण गरी ग्राहकको विश्वास जोगाउनु जरूरी छ।
बीमकको सञ्चालक समिति र उच्च व्यवस्थापनले यी विषयहरूमा ध्यान दिनु जरूरी छः
१ वित्तीय कारोबार सम्बन्धी कडा व्यवस्थाः
नगद कारोबार निषेधः कुनै पनि अभिकर्ता वा कर्मचारीले ग्राहकबाट नगद भुक्तानी लिन वर्जित गर्ने। सबै बीमाशुल्क भुक्तानी डिजिटल माध्यम (मोबाइल बैंकिङ, डिजिटल वालेट, चेक, कनेक्ट आइपीएसमार्फत् वा सिधै कम्पनीको बैंक खातामा भुक्तानी गर्ने प्रणाली अनिवार्यरूपमा लागू गर्नुपर्ने।
रसिदको अनिवार्यताः डिजिटल भुक्तानी हुने बित्तिकै ग्राहकको मोबाइलमा केन्द्रीय प्रणालीबाट आधिकारिक पुष्टिकरण सन्देश(एसएमएस र इमेल) जाने सुनिश्चित गरिनुपर्छ।
निजी लेनदेनमा रोकः कुनै पनि कर्मचारी वा अभिकर्ताले कम्पनीको नाम प्रयोग गरी ग्राहकसँग व्यक्तिगत ऋण लिन वा निजी लगानीका योजना सुनाउन पाइने छैन। यसो गरेको पाइएमा तत्काल अनुशासनको कारवाहीको प्रावधान लागू गर्नुपर्छ।
२) अभिकर्ता तथा उच्च प्रदर्शन गर्नेको निगरानीः
नैतिकता परीक्षण धेरै व्यापार गर्ने अभिकर्ताहरूलाई सेलिब्रिटीको रूपमा मात्र नहेरी उनीहरूको व्यापारको स्रोत र नवीकरण दरको त्रैमासिक अडिट गरिनुपर्छ।
अनुपालन अनिवार्यः जतिसुकै ठूलो व्यापार गर्ने अभिकर्ता वा राम्रो काम गर्ने कर्मचारी भए पनि कम्पनीको नीति उल्लंघन गरेमा शुन्य सहनशीलता नीति अपनाइनुपर्छ।
३) कर्मचारी र अभिकर्ताको बहिर्गमन पछिको सुरक्षाः
तत्काल सूचनाः कुनै अभिकर्ता वा कर्मचारीले राजीनामा दिएमा वा कम्पनीबाट हटाइएमा, निजले हेरिरहेका सबै ग्राहकलाई २४ घण्टाभित्र यो व्यक्ति अब कम्पनीको प्रतिनिधि रहेन भनी आधिकारिक जानकारी कम्पनीको अाधिकारिक सामाजिक सञ्जाल, वेबसाइट र पत्रपत्रिकामा प्रकाशन गर्ने व्यवस्था हुनुपर्छ।
डिजिटल प्रोफाइलः कम्पनीको वेबसाइटमा सकृय अभिकर्ताहरूको नामावली सूची अध्यावधिक गरेर राख्नुपर्ने, यसो गर्दा ग्राहकले अभिकर्ताको वैधानिकता आफैं जाँच गर्न सक्ने सुविधा दिनुपर्छ।
४) खबरदारी संयन्त्र
गोप्य उजुरी पोर्टलः कुनै कर्मचारी वा ग्राहकलाई कसैले क्कली स्किम बेचिरहेको वा ठगी गरिरहेको शंका लागेमा सिधै बोर्डको अडिट कमिटीलाई उजुरी गर्ने गोप्य संयन्त्र बनाउनुपर्छ।
सुरक्षाको ग्यारेन्टीः उजुरी गर्ने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने सुनिश्चित गर्नुपर्छ।
५) सञ्चालक समितिको जिम्मेवारी
जोखिम एजेण्डाः सञ्चालक समितिको प्रत्येक बैठक कम्तिमा २० प्रतिशत समय सञ्चालन जोखिम र अनुपालनमा केन्द्रित हुनुपर्नेछ।
व्यापार मात्र होइन, साखः सञ्चालक समितिले बीमाशुल्क संकलनलाई मात्र सफलताको मापदण्ड नबनाई नैतिक व्यवसायलाई प्राथमिकता दिनुपर्छ।
हालै सार्वजनिक भएको जापानको प्रुडेन्सियल लाइफ इन्स्योरेन्समा ३४ वर्षसम्म ठगी काण्ड लुक्नुको मुख्य कारण सबै ठिक छ भन्ने भ्रम पाल्नु थियो। नेपालका कम्पनीहरूले पनि अहिलेको व्यवसायीक दौडमा आफ्ना अभिकर्ता र शाखा प्रबन्धकहरूले फिल्डमा के गरिरहेका छन् भन्ने कुरालाई कार्पेटमुनि लुकाउनु हुँदैन।












