काठमाडौं । वर्ष २०८१ मा नेपाल धितोपत्र बोर्डबाट ८ कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति पाएका छन् । बोर्डबाट रिलायन्स स्पिनिङ मिल्स, गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, ओम मेगाश्री फर्मास्टिक्युस, पियोर इनर्जी, सान्भी इनर्जी र ट्रेड टावर कम्पनीले आईपीओ बिक्रीका लागि अनुमति पाएका थिए ।
यी कम्पनीहरुले कुल २ अर्ब ७३ करोड ९९ लाख ८१ हजार २६८ रुपैयाँ बराबरको १ करोड ९० लाख ६७ हजार ६५३ कित्ता आइपीओ बिक्री अनुमति पाएका थिए ।
रिलायन्स स्पिनिङ मिल्सले बोर्डबाट ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले संस्थागत लगानीकर्ताहरुको लागि शेयर बिक्री गरिसेकेको छ । सर्वसाधारणका लागि भने कम्पनीको आईपीओ बिक्री प्रक्रिया बोर्डले रोक लगाएको छ । कम्पनीको वित्तीय स्वास्थ्यमा लफडै–लफडा देखिएपछि बोर्डबाट सर्वसाधारणका लागि आइपीओ बिक्री प्रक्रियामा रोक लगाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
त्यस्तै गार्डियन माइक्रो लाइफले पनि वर्ष २०८१ मा आईपीओ निष्काशन अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ विक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्काशन गरी अहिले दोस्रो बजारमा शेयर कारोबार भइसकेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले पनि हाल कायम चुक्ता पुँजीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्काशन गरी बाँडफाँड भएपछि हाल दोस्रो बजारमा शेयर कारोबार भइरहेको छ ।
क्रेस्ट माइक्रो लाइफले पनि हाल कायम चुक्ता पुँजीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीले पनि आइपीओ निष्काशन गरी बाँडफाँड भएपश्चात हाल सो शेयर दोस्रो बजारमा कारोबार भइरहेको छ ।
ओम मेगाश्रीले पनि बोर्डबाट १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्काशन गरी बाँडफाँड समेत भइसकेको छ । तर, दोस्रो बजारमा सूचिकृत भई कारोबार हुन बाँकी छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
पियोर इनर्जीले हाल कायम चुक्ता पुँजीको १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । हाल कम्पनीको आइपीओ निष्काशन भइरहेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
सान्भी इनर्जीले जारीपुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ । सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
ट्रेड टावरले नेपाल धितोपत्र बोर्डबाट ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीले चुक्तापुँजीको ४८.६९६ प्रतिशतबराबरको आइपीओ ल्याउन लागेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ पुग्नेछ। ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।