काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी कसूरमा अभियुक्त बनाइएकी हिमालयन रिइन्स्योरेन्सकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) उपासना पौडेलसँग विशेष अदालतले ५० लाख रूपैयाँ धरौटी मागेको छ।
उनी १८ दिनको प्रहरी हिरासतपछि सोमबार विशेष अदालतको आदेशपछि धराैटी बुझाएर रिहा भएपनि उनी विरूद्धको मुद्दा अन्य अदालतमा विचाराधीन रहेकाले उनी प्रहरी हिरासतमै राखिएकी छिन् । पाैडेललाई गत भदाै ११ गते बबरमहलबाट नेपाल प्रहरीले पक्राउन गरेको थियो ।
पाैडेलविरूद्धको सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेलसँग ५० लाख धरौटी माग गरेपछि उनले सो रकम बराबरको बैंक ग्यारेण्टी उपलब्ध गराएकी थिइन् । न्यायाधीस बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेलसँग धरौटी माग गरेको हो ।
पाैडेलविरूद्ध सम्पत्ती शुद्धिकरणबाहेक बीमा सम्बन्धी कसूर, बैंकिङ कसूर र धितोपत्र सम्बन्धी कसूरको अभियोगमा मुद्दा विचाराधीन छ। व्यवसायीक दीपक भट्टविरूद्धको सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा विशेष र जिल्ला न्यायाधिवक्ताको कार्यालयले उनीसहित ३ दर्जन् भन्दा बढीविरूद्ध अभियोग पत्र दायर गरेको थियो ।
फाैजदारी अभियोगमा अभियुक्त बनाएर गत जेठ २८ गते अदालतमा अभियोग पत्र दायर हुनु अघि देखि नै उनी स्वास्थ्यको समस्या देखाउँदै उपचारका लागि भारत पुगेकी थिइन् । पटक पटक सूचना जारी गर्दा पनि बयानका लागि उपस्थित नभएपछि सरकारी वकीलको कार्यालयले उनलाई फरार अभियुक्त ठहर गरेको थियो । उनीसहित ३ दर्जन जनाभन्दा बढी विरूद्ध सरकारी वकीलको कार्यालयले गत जेठ २८ गते जिल्ला अदालत र विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।












