काठमाडौं । जीवन बीमा कम्पनीले बीमितलाई भुक्तानी दिनुपर्ने बाँकी रकम थुप्रिंदै जान थालेपछि भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)का लागि टाउको दुःखाइ बनेको छ। नियामकले सर्वसाधारण नागरिकले भविष्यमा अप्ठेरो पर्दा उपभोग गर्न पाउने आशामा जीवन बीमा कम्पनीमार्फत बचत गरेको रकमको ठूलो हिस्सा भुक्तानी लिनबाट वञ्चित हुनु उचित नभएको भन्दै यो विषयलाई चासोका साथ हेरिरहेको छ।
आईआरडीएआईको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२३–२४ को प्रारम्भमा जीवन बीमा कम्पनीको दाबी नगरिएको रकम भारु २ खर्ब २२ अर्ब ३७ करोड (३ खर्ब ५५ अर्ब ७९ करोड २० लाख रुपैयाँ) थियो।
दाबी नगरिएको रकम घटाउन, बीमितलाई फिर्ता छिटो गर्न र बीमकहरुसँग दाबी नगरिएको रकमको थप संचयलाई नियन्त्रण गर्न, भारतीय बीमा प्राधिकरणद्वारा जुन, २०२३ देखि नोभेम्बर, २०२३ सम्म ६ महिनाको अवधिमा एक विशेष अभियान सञ्चालन गरिएको थियो । यस अवधिमा जीवन बीमकसँग रहेको दाबी नगरिएको रकमको भुक्तानीमा भएको प्रगति मासिक रुपमा अनुगमन गरिएको थियो। यस विशेष अभियानको अवधिमा जीवन बीमकहरुको हकमा खुद भारु १० अर्ब १८ करोड २३ लाख (१६ अर्ब ३९ करोड १६ लाख ८० हजार रुपैयाँ) को कमी देखिएको थियो।
‘दाबी नगरिएको रकमसम्बन्धी मुख्य परिपत्र’ मा संशोधनहरु फेब्रुअरी १६, २०२४ मा बीमितको हितका लागि ‘दाबी नगरिएको रकम’ को परिभाषासहित केही परिभाषाहरुलाई परिमार्जन सहित जारी गरिएको थियो । यो परिपत्रमा बीमकहरुले विद्यमान दाबी नगरिएको रकम घटाउन र दाबी नगरिएको रकमको थप संचय नियन्त्रण गर्न, उचित पहिचान र प्रभावकारी वितरणका लागि अपनाउनुपर्ने उपायका विषयमा सुझाव दिइएको छ।
बीमकहरुलाई सुझाइएका उपायहरु
- हालको दाबी नगरिएको रकम घटाउन, विद्यमान बीमितहरुलाई नवीकरण बीमाशुल्क (अनलाइन वा अफलाइन) भुक्तानीको समयमा हालको विवरणहरु उल्लेख मोबाइल नम्बर, ई–मेल ठेगाना, हालको ठेगाना, बैंक खाता विवरण, इच्छ्याइएको व्यक्तिको विवरणहरु आदि अद्यावधिक गर्न प्रोत्साहित गर्नुपर्ने । विभिन्न माध्यमबाट बीमितलाई सूचनाहरु पठाउनुपर्ने।
- बीमालेख परिपक्व हुनेवित्तिकै विद्यमान बीमालेखहरुका लागि अध्यावधिक ग्राहक पहिचान विवरण प्राप्त गर्नुहोस् र नाबालिगहरुको हकमा पुनः अध्यावधिक व्यक्तिगत विवरणा प्राप्त गर्नुपर्ने।
- उपभोक्तालाई सम्पर्क गर्न कर्जा सूचना केन्द्र, खाता रजिस्ट्रार, भुक्तानी बिन्दु, ई–वाणिज्य पोर्टलहरुसँग सम्पर्क गर्नुपर्ने।
- पहुँच नभएका उपभोक्तासम्म पुग्न छापा र डिजिटल मिडियामा विज्ञापन गर्नुपर्ने।
- बीमितलाई पठाइएका सबै सञ्चारहरुमा बीमितको सम्पर्क ठेगाना वा अन्य कुनै विवरणमा कुनै परिवर्तन भएमा सम्पर्क विवरण, इच्छ्याइएको व्यक्तिको विवरण र बैंक खाता विवरण अद्यावधिक गर्न उपभोक्तालाई सल्लाह दिने पाद टिप्पणी (फुटनोट) समावेश गर्नुपर्ने।
भविष्यमा जम्मा हुनबाट रोक्नका लागि
- सम्बन्धित अभिकर्ता, मध्यस्थकर्ता, सामूहिक बीमालेख धारक र बीमालेख प्रस्तावमा संलग्न अन्य वितरण सञ्जालहरुलाई उपभोक्ताहरु खोज्न र सम्पर्क विवरणहरु, बैंक खाता विवरणहरु आदि अद्यावधिक गर्न जिम्मेवार बनाउन पहल गर्ने।
- विद्यमान र नयाँ ग्राहकहरुको मोबाइल नम्बर र ई–मेल ठेगानाहरु स्वचालित रुपमा प्रमाणित गर्न स्पष्ट प्रणालीहरु लागू गर्नुपर्ने । ता कि यी विवरण उनीहरुको वितरण सञ्जालभित्रै सीमित नरहोस् ।
- बीमितहरुले सुरक्षित लगइनको साथ कुनै पनि समयमा ई–मेल आईडी, बैंक विवरण र इच्छ्याइएको व्यक्तिको विवरणहरुसहित आफ्नो सम्पर्क विवरणहरु अद्यावधिक गर्न सक्षम बनाउन बीमाकर्ताको वेबसाइट, पोर्टल र एपमा व्यवस्था गर्नुपर्ने।
- परिपक्वता दाबी र जीवित लाभहरुको बारेमा कम्तीमा ६ महिना अगाडि सबै सम्भावित तरिकाहरुमार्फत अग्रिम सूचना पठाउनुपर्ने र ग्राहक पहिचान, बैंक विवरणहरु पेस गर्न अनुरोध गर्नुपर्ने। त्यसपछि पनि प्रतिक्रिया नदिने ग्राहकलाई प्रत्येक २ महिनामा ताकेता सूचना पठाउनुपर्ने।
- बीमकहरुको वेबसाइटमा उपभोक्ताहरुले आफूले पाउनुपर्ने रकम पहिचान गर्नेबित्तिकै भुक्तानीका लागि निवेदन दिन सक्ने गरी अनलाइन उपकरणहरु विकास गर्नुपर्ने।
- फर्जी दाबी र अभ्यासहरुलाई सम्बोधन गर्न उपयुक्त प्रणाली र नियन्त्रणहरु लागू गर्नुपर्ने।