काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)ले पछिल्लो समय सञ्चार माध्यममा प्रकाशित समाचार हटाउन र रोक लगाउन तथा पत्रकारलाई पक्राउ पुर्जी जारी भएका घटनामा ध्यानाकर्षण भएको जनाएको छ।
इम्सानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘पछिल्लो केहि दिनदेखि सञ्चार माध्यमहरुमा प्रकाशित सामग्री हटाउने र थप सामग्री प्रकाशन नगर्न अदालतबाटै आदेश आउन थालेको छ, यस घटनाले हाम्रो ध्यनाकर्षण गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको तथ्य सर्वविदितै छ । त्यतिमात्रै नभएर सञ्चार सामग्री प्रकाशन तथा प्रशारण गरेकै कारण सञ्चारकर्मीलाई पक्राउ पुर्जी जारी भएको, समाचार हटाउन र प्रकाशन गर्न रोक लगाएको विषयले नेपालमा प्रेस स्वतन्त्रताको विषयमा प्रश्न खडा भएको छ ।’
बिजमाण्डु र नेपाल खबरलाई समाचार हटाउन र थप समाचार प्रकाशनमा रोक लगाएको तथा पत्रकार दिल भुषण पाठकलाई पक्राउ पुर्जी जारी हुनु नै प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गरेको त होइन भन्ने प्रश्न पनि खडा भएको इम्सानको ठम्याइ छ । ‘कुनै पनि सञ्चार माध्यममा प्रकाशित वा प्रसारित समाचार सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक निरुपण र मूल्याकन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको हो भन्नेमा हामी प्रष्ट छौँ। तर, नेपालको संविधानले प्रस्तावनामै उल्लेख गरिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वत्रन्ताको प्रत्याभूत गरिएको अवस्था तथा मिडियामा प्रकाशित समाचारको विषयमा असन्तुष्टि भएमा त्यसको प्रारम्भिक रुपमा निरुपण गर्ने अधिकार प्रेस काउन्सिलको रहेको हुँदा यसअघि पनि सम्मानित अदालतले प्रेस स्वतन्त्रताको रक्षा गर्दै आएकोमा आगामी दिनमा पनि संविधान र विधिको मर्मअनुरूप अघि वढ्ने छ भन्नेमा हामी विश्वस्त छौँ ।’
प्रेस स्वतन्त्रताको रक्षा, मिडिया सञ्चालक, पत्रकारको पेशागत स्वतन्त्रता तथा प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन इम्सन पूर्ण रुपमा प्रतिबद्ध रहँदै आएको र आगामी दिनमा पनि यही मूल्य र मान्यताअनुरुप अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ। ‘यसका साथै स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मर्मअनुरुप पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न हामी सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई समेत अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

















