काठमाडौं । आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी, वालेटजस्ता सेवा हामीले दैनिकजसो प्रयोग गर्दै आएका छौँ। कारोबार खाता, साधन, इन्टरनेटको पहुँचसँगै मोबाइल एप्लिकेसन वा इन्टरनेट ब्राउजरका माध्यमबाट, जहाँबाट पनि जुनसुकै समयमा वा खाता भएका जोकोहीसँग तुरुन्तै कारोबार गर्न सकिन्छ।
सहजता, गति, न्यून लागत, सुरक्षित तथ्यांक, ई–कमर्स र सरकारी कारोबारमा बढ्दो प्रयोगसँगै यसका प्रयोगकर्ता बढेका छन्। यस्ता प्रविधिमा युजरनेम, पासवर्ड, पिन र ओटीपीधारकले नै डिजिटल वित्तीय अनुशासन पालना गरेर यसको सुरक्षा गर्नुपर्ने नेपाल राष्ट्र बैंकले आज एउटा वित्तीय चेतनाका लागि जारी सचेतनामूलक सूचनामा उल्लेख छ।
- बलियो पासवर्डः के गर्ने ? अक्षर, अंक र चिह्न प्रयोग गर्ने, के नगर्ने ? सजिला, आफ्नो वा परिवारको सदस्यको नाम।
- बलियो पिनः के नगर्ने ? मोबाइल नम्बर, जन्म मितिजस्ता अरुले सजिलै अनुमान गर्न सकिने।
- फरक पासवर्डः ई–मेल, म्यासेन्जरजस्ता गैरबैंकिङ खाताभन्दा बैंकिङ खाताको पासवर्ड फरक राख्ने।
- मल्टी फ्याक्टर अथेन्टिकेसन (पासवर्ड, पिन, ओटीपी)को प्रयोग सबै खातामा गर्नेः बैंक खाता, मोबाइल बैंकिङ, वालेट खाता, कम्प्युटर, मोबाइल, ई–मेल, सामाजिक सञ्जाल, म्यासेन्जर।
- आधिकारिक वेबसाइट र एप्लिकेसनमात्र प्रयोग गर्ने, चिन्ने, ब्राउजरमा वित्तीय सूचना सेभ नगर्ने।
- समय–समयमा पासवर्ड परिवर्तन गर्ने।
- अनधिकृत एप्लिकेसन डाउनलोड, इन्स्टल नगर्ने र एक्सिस प्रमिसन नदिने।
- अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने, स्क्रिन सेयर गरेर वित्तीय कारोबार गर्दै नगर्ने।
- सुरक्षित वाईफाईमा मात्र वित्तीय कारोबार गर्ने र कीस्ट्रक क्याप्चर, स्क्रिन क्याप्चरबाट जोगिने।
- बायोमेट्रिक अथेन्टिकेसन (थम्ब, फेस पिन) प्रयोग गर्ने।
पासवर्ड कसरी चोरिन्छ ?
- सजिलै अनुमान गर्न सकिने, आफ्नो, परिवारको नाम।
- नक्कली वेबसाइट र एपमा पासवर्ड हाल्न लगाउने, झुक्याएर लाने।
- इन्क्रिप्ट गरिएका सुरक्षित पासवर्ड क्र्याक गरी वास्तविक पासवर्ड प्राप्त गर्ने प्रयास।
- अन्य खाताको पासवर्ड बैंकिङ वा वित्तीय खातामा प्रयोग गर्ने।
- अन्य उपकरणमा प्रयोग गरिएको पासवर्ड अर्को उपकरण वा खातामा पनि प्रयोग गर्ने।












