काठमाडौं । सांस्कृतिक शहर ललितपुरको कुपण्डोल हाइटमा अवस्थित ३८ वर्ष पुरानो आइकनिक होटल, हिमालय पाँच तारे होटलमा स्तरोन्नती भएको छ।
होटल परिसरमा पूर्वाधार थपिएसँगै पर्यटन विभागले पाँच तारे होटलको मान्यता दिएको होटल व्यवस्थापनले जानकारी दिएको छ। यो होटल ललितपुर उपमहानगरपालिका भित्रको दोश्रो पाँच तारे होटल हो। यसअघि नै चाैधरी समूह र रविभक्त श्रेष्ठको संयुक्त लगानी रहेको पाँच तारे स्तरको होटल भिभान्ता सञ्चालनमा रहेको छ।
ललितपुर उपमहानगरभित्र चाैधरी समूहको दुइवटा(झम्सीखेल) र कुपण्डोल हाइट (साबिकको समिट होटल) मा र गुण समूहले ग्वार्कोमा तीन सय कोठा क्षमताको पाँच तारे स्तरको होटल निर्माण गरिरहेको छ।
होटलले सन् २०१७ मा चार तारे स्तरको होटलको मान्यता प्राप्त गरेको थियो। काठमाडाैं उपत्यकाभित्र शुरूवाती चरणमा, होटल हिमालय र होटल शंकर मात्र चार तारे स्तरको होटलका रूपमा सञ्चालन हुँदै आएकोमा होटल पूर्वाधारमा लगानी थपिएसँगै चारतारे स्तरका अन्य होटल समेत थपिएका छन् ।
ललितपुर वडा नम्बर १० मा अवस्थित यो होटल ६.५८ एकड क्षेत्रफलमा फैलिएको छ। होटलले ५ तल्ले नयाँ भवन निर्माणसँगै अतिथीका लागि कुल १२६ वटा कोठा तयार पारेको छ। पर्यटन विभागका अनुसार होटलमा कुल २०० शैय्या क्षमता रहेको छ।
यो होटल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो मिटर दुरीमा र काठमाडाैं सुन्धारबाट २ किलोमिटरको दुरीमा अवस्थित छ। विश्व सम्पदा सूचीमा सूचीकृत, पाटन दरबार स्क्वायर होटलबाट १.५ किलोमिटर दूरीमा अवस्थित छ।
होटल परिसरभित्र परम्परागत शैलीमा निर्मित कुमारी मन्दिर र निक्कै मनोरम रूपमा सजाइएको भव्य बगैंचाले शहरको भीडभाडका बीच पनि आगन्तुकलाइ शान्त वातावरणको अनुभूती दिलाउँछ।
होटलले लाैण्ड्री, हेल्थ क्लब, विस्तारित पार्किङ, सुविधा सम्पन्न २ वटा स्वीमिङ पुल लगायतका संरचना थपेको छ। यसबाहेक भवनको सबै खण्डमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच हुने गरी संरचनाहरू निर्माण गरेको छ।
आगन्तुकहरूले होटलको बगैंचाबाट भव्य हिमालय श्रृंखलाको १८०-डिग्रीमा मनोरम दृश्यको आनन्द लिन सक्छन् । अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट ‘क्याफे होराइजन’ मा उत्कृष्ट खानाका साथै थप व्यक्तिगत रूचीको खानाको लागि शयन कक्षभित्रै खाना खाने सुविधा प्रदान गरेको छ । पाहुनाको शारीरिक र मानसिक स्वास्थ्यका लागि होटल परिसरभित्रै टेनिस कोर्ट, स्विमिंग पूल र हेल्थ क्लब छ।
होटल हिमालय प्रा. लि. को सञ्चालन २०३२ सालमा ९६ कोठाबाट शुरू गरिएको थियो र पछि २०६६/६७ सालमा पुरानो भवनमाथि चौथो तला थपेर यसलाई २०० शय्या भएको १२५ कोठामा स्तरोन्नति गरिएको थियो।