IME Life New

सरकारले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य हुन्छः परराष्ट्रमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रस्ट पारेकी छन्।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाइ दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन्। ‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौं’, उनले भनिन्।

Esewa
Crest

यसैगरी अदालतमा रहेका मुद्दाहरुमा पनि मन्त्रालयले प्रक्रियागतरुपमा किनारा लगाउँदै जाने मन्त्री राणाले प्रतिबद्धता जनाइन्। उनले संसारभर रहेका एनआरएनहरु नेपालको मानार्थ एम्बेसेडर भएको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन्। मध्यपूर्व, खाडी मात्र नभई संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको जनाउँदै उनले त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने प्रस्ट पारिन्।

सोही अवसरमा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए। उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख पनि गरे।

सचिव राईले विभिन्न ठाउँका समस्याका बारेमा आपसी छलफलमार्फत समाधान गर्ने बताए। यसैगरी एनआरएन ऐनका विषयमा सुझाव दिन पनि उनले अनुरोध गरे।

संघका नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्रमन्त्री राणा, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि मन्त्रालयको साथ र सहयोग लिएर अघि बढ्ने बताए।

हतारमाभन्दा पनि सबै कुरा सोचविचार गरेरमात्रै आफ्नो कार्यसमिति अघि बढ्ने श्रेष्ठले बताए। एनआरएनभित्रका विवादहरु समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए।

अध्यक्ष श्रेष्ठले नेपालको विकासमा साझेदार बन्न एनआरएनए सधैँ तयार रहेको पनि जनाए।

नआरएनएका पूर्वअध्यक्ष भवन भट्टले तिता कुराहरु बिर्सिएर अघि बढ्दामात्रै सबैले सफलता पाउने बताए। संसारकै ठूलो संगठनका रुपमा रहेको एनआरएनबाट सरकारले पनि लाभ लिन सक्ने उनले उल्लेख गरे।

एनआरएनए अभियन्ता आरके शर्माले एकताको पहलका लागि मन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा कुनै पनि विषयवस्तुमा छलफल गर्न आफूहरु तयार रहेको बताए। उनले मध्यपूर्वका समस्याहरुलाई सम्बोधन गर्नका लागि विशेष आग्रह पनि गरे।

उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैको साथ र सहयोगले एकताको अधिवेशन गराउन सकिएको बताए। उनले बृहत् एकताका लागि नव निर्वाचित कार्यसमितिले काम गर्ने र आफू सघाउन तयार रहेको बताए।

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले एकता महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई गराइसकेको बताइन्। उनले अहिलेको झन्झटबाट चाँडो मुक्त हुने वातावरण बनाउन सबैलाई आग्रह गरिन्।

सोही अवसरमा उच्चस्तरीय समितिका सदस्य कुँवर तथा सदस्यसचिव गुरुङले उक्त रिपोर्ट परराष्ट्र मन्त्री राणालाई पनि हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS