काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। पुँजी वृद्धिबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।












