IME Life New

आइपीओबाट रु. ३० करोड जुटाउने तयारीमा रहेको होटल इच्छाले कस्तो पायो रेटिङ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणमा शेयर निष्कासन(आईपीओ) गरेर थप चुक्तापुँजी जुटाउने तयारीमा रहेको बाराको पाँचतारे होटल इच्छाले ‘डब्बल बी’ रेटिङ पाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले प्रस्तावित आइपीओ प्रयोजनका लागि यस्तो रेटिङ प्रदान गरेको हो। एजेन्सीका अनुसार नेपालमा यस्तो रेटिङ प्राप्त संगठित संस्थाले पूर्वनिर्धारित समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यमस्तरीय जोखिम निहीत हुन्छ।

Crest

इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा होटलले कुल १७ करोड १० लाख रुपैयाँबराबरको कारोबार गरेको थियो। आर्थिक वर्ष २०८१।८२ को पहिलो ९ महिना(चैत मसान्त)सम्ममा यसको कारोबार १० करोड ८ लाख रुपैयाँ रहेको थियो।

होटल इच्छा मधेश प्रदेशको पहिलो र एकमात्र पाँचतारे होटल हो। सञ्चालनमा आएदेखि नै नाफा कमाउन संघर्षरत यो होटल अझैसम्म अपेक्षित कारोबार गर्न सकेको छैन।

यसको मुख्य आम्दानीको स्रोत क्यासिनो सञ्चालकबाट प्राप्त हुने भाडा र कोठाको बिक्रीबाट प्राप्त हुने आय रहेको छ। सरकारको नीतिगत परिवर्तन क्यासिनो बन्द भएर भाडाबापतको आम्दानी गुम्यो भने कुनै पनि बेला होटल पुनः आर्थिक संकटमा पर्न सक्छ। सिमराका स्थानीयसँगको विवादका कारण क्यासिनो बन्द हुँदा होटलको समग्र आम्दानीमै नकारात्मक प्रभाव पारेको थियो।

यो होटलको पूर्वाधार ठूलो क्षेत्रमा फैलिए पनि सुविधा सम्पन्न र फराकिलो ब्यांक्वेट हलको अभाव छ। यसैकारणले संस्थागत सभा–समारोहका लागि प्राथमिकतामा पर्न सकेको छैन।

यो होटलले पूर्वाधार थप्नका लागि हालैमात्र होटलसँगै रहेका यसको सञ्चालकको स्वामित्वको जग्गा २० करोड ३० लाख रुपैयाँमा खरिद गरेको छ। इक्रा नेपालका अनुसार सुरुआतमा २० करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको यो होटलमा गत जेठ मसान्त देखि १ अर्ब २० करोड रुपैयाँ शेयरपुँजी लगानी भइसकेको छ। गत चैत मसान्तसम्ममा ८८ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी रहेकोमा शेयरधनीहरुले थप ३१ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्। थपिएको पुँजी जग्गा अधिग्रहण र कोठाको सजावटका लागि खर्च गरिन लागेको इक्रा नेपालले उल्लेख गरेको छ।

कमजोर व्यवस्थापन

सीमित आम्दानीका कारण नगद प्रवाह कमजोर हुँदा होटलको सरसफाइ, मर्मतसम्भार, आन्तरिक व्यवस्थापन भद्रगोल रहेको तीतो अनुभव यसका ग्राहकको रहँदै आएको छ।

विशेषगरी भारत बिहारका भारतीयबीच वैवाहिक कार्यक्रम तथा अन्य सामाजिक संस्कार सम्बन्धित कार्यक्रमका लागि यो होटल गन्तव्य हुन सक्ने भए पनि खराब व्यवस्थापनका कारण उनीहरुको रोजाइमा पर्न सकेको छैन। यो होटलभन्दा थोरै कोठा र सीमित पूर्वाधार भए पनि सिमरा विमानस्थल छेऊको होटल क्लासिक प्लाजा अधिकांश ग्राहकको प्राथमिकतामा पर्छ। क्लासिक प्लाजा होटलको कोठा र रेस्टुरेन्ट दुवैको दर(रेट) इच्छा होटलको भन्दा महँगो छ।

पूर्वाधारमै समस्या

कुल ६० कोठा रहेको यो होटलको ब्यांक्वेट हल तेस्रो तल्लामा छ। मुश्किलले १०० मान्छे अटाउने क्षमताको साँघुरो हल छ। हल बाहिरको खुला क्षेत्र (प्रि–इभेन्ट एरिया) पनि सीमित छ। हलसम्म जानका लागि लिफ्ट जडान गरिए पनि लिफ्टसँगै जोडिएको भर्याङको व्यवस्था छैन। लिफ्टको एक्जिटमै पाहुना बस्ने कोठाको ढोका भएकाले बास बस्ने पाहुनालाई हलबाट ओहोरदोहोर गर्ने भीडभाड कोलाहलले केही असहज अनुभव हुने गरेको छ।

आवासीय कार्यक्रमका लागि १०० भन्दा बढी पाहुना होटलमा बास बस्ने र ब्यांक्वेट हलमा हुने कार्यक्रममा सहभागी हुने हो भने हलमा ओहोरदोहोर गर्ने क्रममा होटलको बरन्डा पूरै भरिन्छ। बरन्डा पनि पर्याप्त फराकिलो छैन।

यसरी खडा भएको थियो होटल

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा सुरु भएलगत्तै घरजग्गा व्यवसायीसमेत रहेका होटलका सञ्चालक इच्छाबहादुर वाग्लेले सिमरामा जग्गा प्लटिङ र बिक्रीको काम सुरु गरे। प्लटिङ गरिएको जग्गामध्ये केही हिस्सामा उनले चारतारे होटल खडा गरे। जोखिम मोलेर उनले सिमरामा पहिलो चारतारे स्तरीय होटल खोले पनि विमानस्थल निर्माणको कामसमेत सुरु भएको छैन।

छैन पाँचतारे स्तरको सुविधा

अहिले भारतीय पर्यटक र क्यासिनोको भरमा जेनतेन चले पनि पर्याप्त आम्दानी र नगद प्रवाहको अभावमा होटलको व्यवस्थापन राम्रो छैन। पाँचतारे होटलको स्तरको होटलबाट अपेक्षित सेवा सुविधा उपलब्ध छैन।

होटल सञ्चालकले पर्याप्त नगद प्रवाह सुनिश्चित गरेर अनुभवी दक्ष जनशक्ति, आतिथ्यता उद्योगले प्रदान गर्ने स्तरको सेवा सुविधा, होटलका थोत्रा पुराना पूर्वाधारको पुनर्निर्माणमा जोड दिनु जरुरी छ।

भारतबाट पहिलोपटक नेपाल प्रवेश गर्ने भारतीय पर्यटक पाँचतारे होटल भन्दै यो होटलमा बास बस्ने हो भने नेपालका अन्य पाँचतारे होटलको सम्बन्धमा पनि गलत छाप पर्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS