काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको आइतबार निधन भएको छ। काफ्ले प्राधिकरणमा २०५८ साल बैशाख १० गतेदेखि २०५९ साल साउन २७ गतेसम्म अध्यक्ष रहेका थिए ।
उनी नेपाल राष्ट्र बैंकको डेप्युटी गभर्नर पदबाट अवकाश पछि साबिकको सेन्चुरी कमर्सियल बैंकको अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । यसबाहेक काफ्लेले विभिन्न वाणिज्य बैंकको सञ्चालक समितिमा समेत रहेका थिए ।
काफ्लेले नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमा ३५ वर्ष सेवा गरेका थिए। उनले नेपाल राष्ट्र बैंकमा सन् १९९५ देखि २००० सम्म ५ वर्ष डेप्युटी गभर्नर, नेपाल बैंक लिमिटेडमा ४ वर्ष निर्देशक, डेढ वर्ष क्रेडिट ग्यारेन्टी कर्पोरेशनको अध्यक्ष र पूर्वी ग्रामीण विकास बैंकको अध्यक्षको रूपमा पनि योगदान गरेका थिए। यसबाहेक, अर्थशास्त्रमा विधावारिधी उपाधी हासिल गरेका उनले साढे २ वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), वासिङ्टन डी.सी. का कार्यकारी निर्देशकको विशेष सल्लाहकार र ३ वर्ष अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा भ्रमणकारी प्राध्यापकको पद समेत सम्हालेका थिए।