काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले बिहीबार पनि आन्दोलन जारी राखेका छन्।
अध्यक्ष हेमन्त बस्या र प्रमुख कार्यकरी अधिकृत (सीईओ) चूडामणि चापागाईंको राजीनामा माग गर्दै नेप्सेका कर्मचारीले आज पनि आन्दोलन जारी राखेका हुन्। उनीहरुले अध्यक्ष बस्याल र सीईओ चापागाईंलाई मंगलबार राति अबेरसम्म कार्यकक्षमै थुनेर आन्दोलन सुरु गरेका थिए।
आज पनि नेप्सेमा अध्यक्ष र सीईओको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन्। यद्यपि, सीईओ चापागाईं र अध्यक्ष बस्याल आज नेप्सेमा हाजिर भएका थिएनन्।
नेप्सेको पुनर्संरचना र शेयर बजार सुधारको माग गर्दै नेप्सेका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आफूले पाउने बोनसमा पनि असन्तुष्टि जनाउँदै आएका छन्।
कर्मचारीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरेका थिए। ‘अध्यक्ष र सीईओको राजीनामा नआएम्म हाम्रो आन्दोलन जारी रहन्छ’, नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने, ‘हामी कसैको बहकाउमा आएर आन्दोलनमा उत्रिएका होइनौँ। हामी स्वस्फुर्त आन्दोलनमा होमिएका हौँ। शेयर बजार सुधार र नेप्सेको पुनर्संरचना हाम्रो मुख्य माग हो। यी काम अहिलेका अध्यक्ष र सीईओले गर्न सक्दैनन्। त्यसैले राजीनामा माग गरेका हौँ।’

















