काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)सम्म १ खर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले जेठसम्म १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा शेयर लोनको माग ५४.७४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा १८ वटा बैंकको शेयर लोन प्रवाह बढेको छ भने एउटाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर लोन दिएको छैन।
चालु आर्थिक वर्षको जेठसम्म नबिल बैंकबाट सबैभन्दा धेरै शेयर लोन गएको छ। यो वर्षको जेठसम्म नबिलले १५ अर्ब ७ करोड ७६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन ३१.९५ प्रतिशतले बढेको छ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। चालु आर्थिक वर्षको जेठसम्म बैंकबाट ११ अर्ब ६० करोड २७ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६३.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ शेयर लोन दिएको थियो।
तेस्रोमा कुमार बैंक रहेको छ। चालु आर्थिक वर्षको जेठसम्म कुमारी बैंकबाट ९ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको शेयर लोन १२८.१४ प्रतिशतले बढेको छ।
यसैगरी यो वर्ष जेठसम्म सिद्धार्थ बैंकबाट ८ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ८ अर्ब १६ करोड ८४ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ६ अर्ब ८५ करोड १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ६ अर्ब १६ करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ६ अर्ब ६६ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको यी सबै बैंकको कर्जा प्रवाह बढेको छ।
चालु आर्थिक वर्षको जेठसम्म प्रभु बैंकबाट ४ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ३ अर्ब ५७ करोड ९ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब २८ करोड ५ लाख रुपैयाँ, सानिमा बैंकबाट ३ अर्ब १ करोड ६९ लाख रुपैयाँ र एभरेस्ट बैंकबाट २ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ र शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा यी बैंकहरुको शेयर लोन प्रवाह बढेको छ।
त्यस्तै जेठसम्म हिमालयन बैंकबाट २ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट २ अर्ब २९ करोड ७१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट २ अर्ब ९ करोड ६९ लाख रुपैयाँ, एनएमबि बैंकबाट २ अर्ब २० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ६१ करोड ६७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एनआईसी एसिया बैंकको कर्जा प्रवाह घटेको छ भने बाँकी बैंकहरुको बढेको छ।


















