काठमाडौं । बीमा क्षेत्रमा लागेको छोटो समयमै आफ्नो परिचय बनाएकी महिला हुन्, सुना बस्नेत। उनी हाल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयमा एजेन्सी म्यानेजरको भूमिकामा छिन्। आफ्नो व्यवसायसँगै बीमा अभिकर्ता बनेर उनी फुर्सदको समयमा बीमा सचेतना फैलाउँदै हिँड्ने गर्छिन्।
सुनाले सिटिजन लाइफको प्रतिनिधित्व गर्दै बीमा बजारमा इन्स्योरेन्स शिक्षा र बीमाबारे चेतना फैलाउने काम गर्छिन्। उनले बीमामा सबैको पहुँच विस्तारका लागि आफ्नो व्यवसायको जिम्मेवारी सम्हाल्दै बीमाका लागि थोरै भए पनि समय निकालेर आफ्नो परिवार र समाजका साथै विभिन्न ठाउँमा गएर बीमाको सचेतना दिने गरेकी छन्।
अछाममा जन्मिएकी सुनाको बाल्यकाल रमाइलो तरिकाले बित्यो। बुवा आर्मी भएका कारण सुनाको बाल्यकाल अछाममा नै बित्यो। उनले ६–७ कक्षा अछाममै पढिन्। त्यसपछि सुनाले बुटवल उपमहानगरपालिकाको गोलपार्कबाट एसएलसीसम्मको अध्ययन पूरा गरिन्। आमा–बुवाको ३ जना छोराछोरीमध्येकी कान्छी सन्तान सुनाले सानैबाट केही कुराको कमी महसुस नगरी रमाइलो बाल्यकाल बिताउने अवसर पाइन्।

सुनाको हाल बसोबास भने तिलोत्तमा–२ शंखनगर रहेको छ। सुनाले प्लसटुसम्मको अध्ययन पूरा गरेकी छन्। सानैबाट केही समस्या र अभाव नभोगेकी सुना बीमा क्षेत्रमा प्रवेश गर्नुअघि कस्मेटिक तथा गिफ्ट पसल सञ्चालन गर्दै आइरहेकी थिइन्। उनले अहिले पनि आफ्नो व्यवसायलाई निरन्तरता नै दिँदै आइरहेकी छन्। अहिले सुनाले बीमा अभिकर्ता र आफ्नो पसललाई समय दिएर दुवैतिर व्यवस्थापन गर्दै आइरहेकी छन्।
आफ्नो कस्मेटिक व्यवसायमा रमाइरहेकी सुना १ दिन नेपाल ब्युटिसियनको ट्रेनिङमा जाने क्रममा सुनाकी साथी केशरीले बीमा गर्नका लागि प्रस्ताव गरिन्। केशरीले अभिकर्ता बनेर काम गर्न पनि सुझाइन्। केशरीले ‘अभिकर्ता धेरै राम्रो र इज्जतको पेसा हो। अभिकर्ता भनेको अन्तर्राष्ट्रिय बजारमा ख्याति प्राप्त पेसा हो। आफ्नो समय हुँदा गर्न सकिने। आफूले पनि आम्दानी गर्न सकिने र अरुलाई पनि बीमामा आबद्ध गर्न सकिने पेसा भएकाले सामाजिक पेसा पनि हो’ भन्दै बुझाइन्।
चिनेको साथीले भनेको काम राम्रो नै होला भनेर सुनाले ‘ओके काम गर्छु’ भन्ने प्रतिक्रिया दिइन्। त्यसपछि सुनाले आफ्नो बीमा पनि साथीमार्फत गराइन् र २०७४ सालको अन्तिमतिर सिटिजन लाइफको बुटवलबाट बीमा अभिकर्ताको लाइसेन्स लिएर काम गर्न थालिन्।
लाइसेन्स लिएपछि सुनाले सुरुको बीमा आफ्नै छोरीको गराइन्। बीमा क्षेत्रमा प्रवेश गरेको समयमा सुनाले बीमा बुझेकी थिइनन्। तर, कम्पनीले दिने तालिममा सहभागी हुँदा, बजारमा डुल्दै गर्दा, साथीभाइ सबैले बीमा बुझाउँदै जाँदा आफू पनि बीमाबारे पोख्त भइन्। त्यसपछिका दिनहरुमा सुनाले राम्रो व्यापार गर्दै गइन्। कम्पनीले दिने लक्ष्य पूरा गर्दै अवार्डहरु पाउँदा सुनालाई झनै हौसला थपिँदै गयो र बीमा गर्न झन् जागरुक हुँदै गएर धेरै राम्रो बीमा गर्न सफल भइन्। अनि सुनालाई ‘अब मैले केही गर्न सक्छु’ भन्ने आँट र आत्मा विश्वास बढ्यो।
आफ्नो पसलमार्फत पनि सुनालाई बीमा गराउन ब्याक सपोर्ट मिल्यो। सुनाको कामलाई घरपरिवारले धेरै सपोर्ट गर्ने गरेको बताउँछिन्। ‘मेरा श्रीमान मेडिकल फिल्डमा भएका कारण ठूला व्यक्तिहरुसमक्ष सिटिजन लाइफको पोलिसी बिक्री गर्न पाएको छु’, उनले भनिन्, ‘श्रीमानका साथीहरुलाई पनि बीमा प्रस्ताव राखेर बीमा बुझाएर सिटिजन लाइफको पोलिसी बेच्न पाउँदा धेरै हर्षित छु।’
‘आफ्नो दुवै पेसालाई म सम्मान गर्छु। तर, अभिकर्ता पेसाबाट झनै धेरै खुसी र सन्तुष्ट छु। खाली समयको प्रयोग गरी समाजमा बीमा ज्ञान दिन पाएकी छु। आर्थिक रुपमा सपोर्ट पनि पाएकी छु’, सुनाले सुनाइन्, ‘थोरै समय खर्च गर्दा अरुको जीवनलाई सुरक्षा गर्नतर्फ प्रेरित गर्न पाएकोमा म धेरै खुसी छु। मलाई यो पेसामा लागेर कुनै दिन पनि पछुताउन परेको छैन।’
पहिलाको तुलनामा अहिले सबैले बीमा बुझेको सुनाको अनुभव छ। ‘मानिसहरुको धारणा र विचार फरक–फरक हुन्छ। सबैलाई यो पेसा मन नपर्न सक्छ तर मानिसहरु अभिकर्ता पेसाप्रति भ्रमित भएको मैले पाएको छु’, उनले भनिन्, ‘अभिकर्ता पेसालाई राम्रो मान्दैनन् तर बुझ्ने हो भने यो पेसाभन्दा उत्कृष्ट पेसा अरु हुनै सक्दैन।’
सिटिजन लाइफमा प्रवेश गरेपछि सबैसामु परिचित हुन पाएको सुनाले बताइन्। ‘धेरै साथीभाइ, समाज अनि छरछिमेकी चिन्नुका साथै उनीहरुको विचार एक–अर्कामा साट्ने मौका पनि पाएँ। धेरै ठाउँमा घुम्ने अवसर पाएँ। नयाँ–नयाँ ज्ञानमूलक कुराहरु सिक्न पाएँ’, उनले भनिन्, ‘कम्पनीले दिने सचेतनामूलक तालिममा सहभागी भएर अरुलाई ज्ञान बाँड्न पाएँ। यसका लागि म कम्पनीप्रति धेरै आभारी छु।’
सुना महिलाका लागि अभिकर्ता पेसा इज्जतिलो पेसा रहेको तर्क पेस गर्छिन्। ‘केही काम नगरी घरमा यसै समय बिताइरहेका महिला दिदी–बहिनीका लागि त अभिकर्ता पेसा उत्कृष्ट छ’, उनले भनिन्, ‘महिलाहरुले यो पेसालाई बुझेर फुर्सदको समयमा काम गर्नसमेत आग्रह गर्छु।’
बीमा सबैका लागि अपरिहार्य रहेको सुनाको भनाइ छ। ‘आजको जस्तो समय भोलि नहुन सक्छ। मानिसको जीवन सधैँ एकैनास हुँदैन’, उनले भनिन्, ‘त्यसैले भोलिका लागि बीमा गर्नुपर्छ। बूढेसकालको सहारा, आपत–विपदको साथी भनेकै बीमा हो। जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गर्दछ। त्यसकारण अहिले आफू कमाउने हुँदा नै बीमा गर्नुपर्छ।’
स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा सुना विश्वस्त छिन्।
अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने सुनाको भोगाइ छ। ‘हार नखाई एकपटक होइन पटक–पटक धाउने मान्छेमात्रै सफल अभिकर्ता बन्न सक्छ। एउटा बीमा गराउनका लागि महिनौँसम्म पनि धाउनुपर्छ’, उनले भनिन्, ‘निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्छ। यो पेसामा आफूले जति मेहनत गर्न सक्यो, त्यति आम्दानी हुन्छ।’
मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्ने सुनाको धारणा छ।
सिटिजन लाइफमा प्रवेश गरेर आफूले जीवनमा धेरै सफलता पाएको भन्दै सुनाले सिटिजन लाइफ परिवारप्रति धन्यवाद ज्ञापन गरेकी छन्। उनले कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताइन्। हालसम्म सुनाले डायमन्ड क्लब, गोल्ड क्लब र सिल्भर क्लबअन्तर्गतका स्किम पूरा गरेर अवार्ड हात पार्न सफल भएकी छन्।


















