काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को सहकार्यमा एआई, युवा उद्यमशीलता र रोजगारीको मुख्य विषयमा केन्द्रित भएर नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ ।
यहि असोज २३ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा सहकार्यबारे सिबिफिन र एनबिआईबीच गत ५ गते, सोमबारका दिन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी मुख्य नारा रहेको सम्मेलनमा तिन तहकै सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था र विभिन्न कुटनीतिक नियोगका उच्चपदस्त अधिकारीहरु सहभागी हुने कार्यक्रम रहेको छ।
समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोगलगायतका विषयमा केन्द्रित हुँदै नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीहरूबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
उनले सिबिफिन र एनबिआईको यो सहकार्यले युवा उद्यमीहरूमाझ वित्तीय साक्षरताको अभिवृद्धि गर्न, डिजिटल बैंकिङको उपयोग बढाउन र जिम्मेवारपूर्ण कर्जा उपभोग गर्ने संस्कृतिको विकास गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने र बैंक तथा वित्तीय संस्थाका नवीन वित्तीय उत्पादनहरू लक्षित वर्गसम्म पुर्याउन र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउन समेत ठूलो मद्दत पुग्न उल्लेख गरे।
देशभरबाट ४०० उद्यमी-व्यवसायी र सरोकारवालाको सहभागिता रहने यस सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्र अनुकूल नीति निर्माण गर्न र लगानीको वातावरण सुधार गर्न स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।
मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो स्थितिमा रहेको र पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम रहेको विद्यमान अवस्थामा सिबिफिन र एनबिआईको पहलमा हुन गइरहेको यस सम्मेलनले उद्यमशीलता स्टार्टअप, नविन प्रविधि एवं नवप्रवर्तनीय क्षेत्रमा कार्यरत तथा सो क्षेत्रमा अग्रसर हुन खोजिरहेका उदयीमान युवा उद्यमीहरूलाई मार्गनिर्देश गर्ने र नेपालको वित्तीय क्षेत्रको दिगो विकास तथा युवा उद्यमशीलताको प्रवर्द्धनमा सम्मेलनले नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।












