काठमाडौं । ‘जेन जी’ आन्दोलनको आवरणमा तोडफोड र आगजनीपछि अस्थायीरूपमा बन्द रहेको वर्णवास म्युजियम होटलको क्रेडिट रेटिङ निगरानी सूचीमा परेको छ।रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले यो होटलका लागि जारी गरिएको जारीकर्ता मूल्याङ्कन र बैंक सुविधाको मूल्याङ्कनमा नकारात्मक प्रभावहरू सहितको क्रेडिट वाच सूचीमा समावेश गरिदिएको हो।
केयर रेटिङ्गसले जारी गरेको प्रेस विज्ञप्तिमा घोषणा गरिएको यो निर्णय हालैको राजनीतिक अशान्तिको समयमा होटलले भोगेको ठूलो क्षतिको पृष्ठभूमीमा आएको हो। १ अर्ब रूपैयाँभन्दा बढीको लगानीमा निर्माण सम्पन्न भएर गत वर्षदेखि मात्र सञ्चालनमा आएको यो होटल घाटाबाट उम्किन नपाउँदै आगजनीका कारण थलिएको छ।
होटल बन्द भएपछि कम्पनीले प्रस्ताव गरेको प्राथमिक शेयर निष्काशन(आइपीओ) पनि अनिश्चित बनेको छ।
होटल सञ्चालक कम्पनी वर्णवास म्युजियम होटल लिमिटेडलाई शेयर जारीकर्ता मूल्याङ्कन ‘केयर एनपी बी माइनस’ र बैंक सुविधाहरूको लागि जारी दीर्घकालीन कर्जाको ‘केयर-एनपी बी माइनस-‘ र छोटो अवधिको ‘केयर एनपि एफो’ अहिले निगरानीमा परेको छ।
‘केयर एनपि बी माइनस’ मूल्याङ्कन प्राप्त शेयर जारीकर्ता कम्पनीले नेपालमा वित्तीय दायीत्वहरू पूर्व निर्धारित समयमै चुक्ता गर्ने सन्दर्भमा “म्याद नाघ्ने उच्च जोखिम” को अवस्थालाई संकेत गर्छ।
गत भदाै २४ गते भएको दंगाको क्रममा नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाइँको स्वामित्व रहेको वर्णवास म्युजियम होटल बालुवाटारमा तोडफोड र आगजनी भएको थियो। राजनीतिक शासन परिवर्तनको नेतृत्व गर्ने यी विरोध प्रदर्शनहरूले सार्वजनिक र निजी दुबै सम्पत्तिमा व्यापक क्षति पुर्यायो ।
प्रेस विज्ञप्तिमा केयर रेटिङ्गसले होटलको बहुतल्ले भवनभरि फैलिएको आगलागीबाट गम्भीर संरचनात्मक क्षतिलाई समेत उल्लेख गरिएको छ। आन्दोलनको आवरणमा निजी सम्पत्तिमा भएको अकल्पनीय क्षतिले होटल सञ्चालकलाइ आर्थिक नोक्सानीसँगै होटल समेत अनिश्चितकालका लागि बन्द हुन पुगेको छ।
क्षतिको पूर्ण आंकलन र होटल पुनः सञ्चालनमा ल्याउने समय सीमा अझैसम्म पनि अनिश्चित छ। दङ्गा अघि नै पनि यो होटल कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको थियो।
फेब्रुअरी २०२४ मा हलुका उद्घाटन गरिएको यो होटलले आर्थिक वर्ष २०८०।८१ को पाँच महिनाको अवधि र आर्थिक वर्ष २०८१।८२ को पूर्ण अवधिमा मात्र ३ प्रतिशतको कमजोर अकुपेन्सी(कुल कोठामा यात्रुको बासको अनुपात) सामना गर्नुपर्यो। सो वर्ष यसको आम्दानी २ करोड ७० लाख रूपैयाँ मात्र थियो।
कम्पनीले होटल सञ्चालनको दुबै वर्षमा लगातार घाटा व्यहोर्दै आएको थियो। जसले गर्दा नगद तरलता स्थिति अत्यधिक तनावमा रह्यो। होटलको आम्दानीबाट प्राप्त रकमले पूर्व निर्धारित बैंक ऋणको किस्ता र ब्याज भुक्तानी गर्न अपर्याप्त रहेको थियो। यो वित्तीय संकटलाइ चिर्न गत आवमा सञ्चालकहरूले अतिरिक्त स्वपूँजी लगानी गर्नुपरेको थियो।
कम्पनीका सामू अहिलेको अवस्थामा देखा परेको चुनौतीहरूको बावजुद केही सबल पक्षहरू पनि छन् । यो कम्पनीको होटलले बालुवाटारमा अवस्थित भएकाले रणनीतिक अवस्थितिबाट लाभ लिन सक्छ। साथै अन्तर्राष्ट्रिय विमानस्थल र प्रमुख पर्यटकीय आकर्षणहरूबाट पनि छोटो दुरीमा अवस्थित छ।
क्रेडिट रेटिङ (मूल्याङ्कन) ले नेपालको आतिथ्य क्षेत्रमा पर्यटक आगमनमा वृद्धिले पुनः लय लिने विश्वास व्यक्त गरेको छ। पर्यटन क्षेत्रको लागि सरकारी समर्थन, जसमा आर्थिक वर्ष २०८२।८३ देखि २०९२।९३ लाई पर्यटन दशकको रूपमा घोषणा गरिएको छ।
गत आवमा थप स्वपूँजी लगानीमार्फत प्रवर्द्धकहरूबाट वित्तीय समर्थनले सञ्चालन र वित्तीय आवश्यकता पूर्ती गर्न केही राहत दिएको छ।

















