काठमाडौं । पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय क्षेत्रको प्राथमिकता क्रमशः साना तथा विपन्न वर्गतर्फभन्दा ठूला व्यवसाय र सुरक्षित लगानीतर्फ सर्ने प्रवृत्ति देखिएको छ। आर्थिक वर्ष २०८१।८२ मा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वित्तीय संस्थाहरुले विपन्न वर्गतर्फ प्रवाह गरेको कर्जा रकममा गिरावट आएको तथ्यांकले देखाउँछ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विपन्न वर्गतर्फ कुल २ खर्ब ९६ अर्ब २६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ। यो रकम बैंकिङ क्षेत्रले सोही अवधिमा गरेको कुल ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाहमध्ये ५.५२ प्रतिशत मात्र हो। अघिल्लो वर्षको तुलनामा हेर्दा विपन्न वर्गतर्फको कर्जा प्रवाह ०.९ प्रतिशत अर्थात् करिब १५ अर्ब ९२ करोड रुपैयाँले घटेको छ।
वाणिज्य बैंकः ठूला कर्जामा बढी प्राथमिकता
वाणिज्य बैंकहरुले मात्र ४९ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, सोमध्ये विपन्न वर्गले पाएको हिस्सा ५.४० प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम १० अर्ब ५७ करोड रुपैयाँले घटेको हो।
यसअघि वाणिज्य बैंकहरुले ४५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ६ प्रतिशतभन्दा बढी रकम विपन्न वर्गलाई दिएका थिए। तर, पछिल्लो वर्ष यो दर घट्दै गएको छ। यसले वाणिज्य बैंकहरु ठूला व्यवसाय, उद्योग वा सुरक्षित परियोजनातर्फ बढी आकर्षित भएको संकेत गर्छ।
विकास बैंकको अवस्था कस्तो ?
विकास बैंकहरुले पाँच खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका भए पनि विपन्न वर्गतर्फ गएको हिस्सा मात्र ३३ अर्ब ९२ करोड रुपैयाँ (६.६१ प्रतिशत) मा सीमित भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम ४ अर्ब १४ करोडले कम भएको हो। अघिल्लो वर्ष विकास बैंकहरुले ७.७४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए। जुन यसपालि घटेर ६.६१ प्रतिशतमा झरेको छ। यसले विकास बैंकहरुको सानो व्यवसाय र ग्रामीण कर्जातर्फको योगदान घट्दै गएको स्पष्ट हुन्छ।
फाइनान्स कम्पनीले गरे ५ प्रतिशतमात्रै कर्जा विस्तार
फाइनान्स कम्पनीहरुले १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, सोमध्ये विपन्न वर्गले पाएको हिस्सा ५.४८ प्रतिशत अर्थात् ५ अर्ब ५५ करोड रुपैयाँ मात्र रह्यो। अघिल्लो वर्ष उनीहरुले ७.२७ प्रतिशत अर्थात् ६ अर्ब ७५ करोडभन्दा बढी रकम विपन्न वर्गलाई प्रवाह गरेका थिए। तर, हालको तथ्यांकमा करिब १.८ प्रतिशत अंकको गिरावट देखिएको छ।
विपन्न वर्गलाई लक्षित कर्जा सामान्यतया कृषि, साना उद्योग, स्वरोजगार, पशुपालन, उद्यमशीलता र ग्रामीण क्षेत्रमा केन्द्रित हुन्छ। तर, यी क्षेत्रमा उच्च जोखिम, ऋण असुलीमा कठिनाइ, गारेन्टीको समस्या र ब्याज भुक्तानीमा अनिश्चितता हुने भएकाले बैंक तथा फाइनान्स कम्पनीहरु यसतर्फ आकर्षित हुन हिच्किचाउने गर्छन्। त्यसमा पनि सुस्त अर्थतन्त्रको असर साना उद्योग व्यवसायमा परिरहेकाले पनि उनीहरुले कर्जा माग गर्न नसकेको बैंकरहरु बताउँछन्।
अर्कोतर्फ ठूला व्यापार, रियल स्टेट, आयात–निर्यात, हाइड्रोपावर र अन्य सुरक्षित क्षेत्रतर्फ लगानी गर्दा तत्काल नाफा र सुरक्षित ग्यारेन्टी हुने भएकाले वित्तीय संस्थाहरुको ध्यान त्यतातिर मात्रै केन्द्रित भएको जानकारहरु बताउँछन्।
निक्षेप तथा कर्जा सुरक्षण कोषले विपन्न वर्गका लागि दिइने कर्जाको सुरक्षण गर्दै आइरहेको छ। यसरी सुरक्षण हुँदा त्यसको प्रभावस्वरुप यस्तो कर्जामा बैंकहरुले लगानी बढाउनुपर्ने भएपनि उनीहरुले झन् झन् कर्जा विस्तार संकुचन गर्दै गइरहेका छन्।
अर्थतन्त्र शिथिल रहेको र लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा संकुचन आएपछि गत आर्थिक वर्षमा विपन्न वर्ग कर्जामा कमी आएको हो। साथै सहकारीका माध्यमबाट हुने कारोबारले बैंकहरुमा कर्जाको माग बढाउने गरेकोमा अहिले सहकारी संकटमा परेकाले समस्या भएको जानकारहरुको भनाइ छ।

















